१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’

फाइल तस्बिर

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाले गर्भवती महिलालाई ‘निमन्त्रणा कार्ड’ दिन शुरु गरेको छ। गर्भवती जाँच गर्न र सुरक्षित सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउनको लागि हरेक गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’ दिन थालेको हो। स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले गर्भवती महिलालाई नियमानुसार चार पटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर  सुत्केरी गराउन ‘निमन्त्रणा कार्ड ’ दिइएको बताउँँछन्।  यो कार्यले गर्भजाँच गराउको लागि समय बिर्षने  र घरमै सुत्केरी हुने दर घटाउन सकिने छ।  

हरेक गर्भवतीले  हातमा कार्ड लिएर गर्भजाँच गराउन आउनु पर्नेछ।  स्वास्थ्य चौकीमा अनिवार्य सुत्केरी गराउनु पर्नेछ । नगरपालिका भित्रका प्रत्येक गर्भवतीको घरमा पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।  यो कार्डले हरेक गर्भवती महिला र तिनका अभिभावकलाइ समयमै चेकजाँच गर्न र सुत्केरी स्वास्थ्य संस्थामै लैजान दबाव सिर्जना गर्ने स्वास्थ्य सरोकारवाला बताउँछन्।   पहिलो चरणमा नगरपालिका क्षेत्रका  चारवटा वडाका ९५ जना गर्भवती महिलालाई निमन्त्रणा कार्ड वितरण गरिएको हो।  चन्दननाथ नगरपालिका ८ र ९ का ५५ र ६ र ७ का ५० जना गर्भवती महिलालाइ निमन्त्रणा कार्ड वितरण गरिएको जनस्वास्थ्य निरिक्षक महत बताउँछन्।

गर्भवतीलाई दिइएको निमन्त्रणा कार्डको एकातिर गर्भवतीको नाम, ठेगना, सुत्केरी हुने समय उल्लेख छ। अर्कोतिर  गर्भवती अवस्थामा ध्यान दिनु पर्ने कुरा, अपनाउनु पर्ने सावधानी र पोषण आहारका बिषय समेटिएका छन्।   घरमै सुत्केरी नभई तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउन आह्वान निमन्त्रणा कार्डमा लेखिएको छ।  यो कार्ड वितरणले घरमा सुत्केरी हुने दर  शुन्यमा झार्ने लक्ष्य रहेको छ। गर्भ अवस्था विशेष र संवेदनशिल अवस्था हो, यो समयमा आफन्तले पनि निकै ध्यान पु¥याउनु पर्छ। स्वास्थ्यचौकीमा आउन नमान्नेलाइ समेत यो पत्रले सचेत गराएको छ।  
नगरपालिका भित्र रहेका सबै वडाका गर्भवती महिलालाइ चालु आर्थिक वर्ष भित्र निमन्त्रणा कार्ड वितरण गर्ने लक्ष्य रहेको छ।  गर्भवती भएको शंका लाग्ना साथ पहिलो पटक  जाँच गराउनु पर्छ।  गर्भवती भएको ५ देखि ७ महिनामा दोस्रो गर्भजाँच र गर्भवती भएको ८ महिनामा तस्रो र अन्तिम जाँच गर्भवती भएको ९ महिना भित्र गराउनु पर्ने पक्ष समेत निमन्त्रणा कार्डमा समेटिएको छ।  यसअघि गर्भवती महिलाको घरमा झण्डा गाड्ने गरिएको थियो।

जुम्लामा एक नगरपालिका सहित ७ वटा गाउँपालिका रहेकोमा चन्दननाथ नगरपालिकाले पहिलो पटक ‘निमन्त्रणा कार्ड ’बाँडिएको हो। स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक महत भन्छन्,‘ अहिले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन नजाने मान्यता गाउँबस्तीमा छ। सुरक्षित सुत्केरीको नारा साकार पार्दै मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन यो कार्यले प्रभावकारी भुमिका निर्बाह गर्ने छ।’

भुत प्रेतका कारण स्वास्थ्य संस्थामा नलैजाने र सुत्केरी भएको बेला गोठमै राख्ने परम्परा अहिले पनि कायमै छ। निमन्त्रणा कार्डले सबै गर्भवती नियमित गर्भजाँच गरौँ,स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गरौँ भन्ने मान्यता स्थापित हुन थालेको छ। चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेबी न्यौपाने गर्भवती र सुत्केरीको अवस्था प्रति नगरपालिका निकै संवेदनशिल रहेको बताउँछिन्। उनले मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन यो कार्यले निकै सहयोग पुग्ने बताइन्।

प्रकाशित: २० पुस २०७६ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App