५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनाङमा तापक्रम माइनस नौ

मुस्ताङमा शुक्रबार हिउँ परेपछि सेताम्मे जमिन। तस्बिर : सुशीलबाबु थकाली/नागरिक

सन्तोष पोखरेल/नरहरि सापकोटा

पोखरा/गोरखा – दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। त्यस्तै अर्काे जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कष्टकर बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुई फिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले जनाएको छ।

मनाङका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बिहीबार दिनभर हिउँ परेर बेलुकी रोकिएको थियो। शुक्रबार बिहानबाट पुन हिमपात सुरु भएको सापकोटाले बताए। तापक्रम माइनस ९ डिग्रीमा झरेको र त्यसले जनजीवन प्रभावित बनाएको उनले बताए। सापकोटाले भने, ‘चिसो अधिक भएकोले जनजीवन पूर्णतया प्रभावित भएको छ।’

उनका अनुसार स्थानीय जाडो छल्न जिल्लाबाट बाहिरिएपछि सुनसान छ। केही पसले, कर्मचारी र होटलका कामदार तथा एकाध घरका कुरुवाबाहेक गाउँमा समेत मान्छे नभएको उनले बताए। ‘हामी नै ब्यारेकबाहिर निस्कन सक्ने अवस्था छैन। सबैतिर सुनसान छ। बस्नैपर्ने अवस्थाका र केही पसलेबाहेक घरमा पनि कोही छैनन्,’ उनले भने, ‘पर्यटकीय क्षेत्र भए पनि विदेशीको आगमन शून्यजस्तै छ।’ उनका अनुसार बिहीबारसम्म गाडी चलेपनि शुक्रबार धारापानीभन्दा अगाडि गाडी उक्लिन सकेका छैनन्। धारापानीबाट गाडीमा सदरमुकाम चामे पुग्न एक घण्टा समय लाग्छ।

सापकोटाका अनुसार माथिल्लो क्षेत्र झनै हिउँले प्रभावित भएको छ। माथिल्लो मनाङ, हुम्दे क्षेत्रमा झनै बाक्लो हिमपात भएको उनले बताए। उनका अनुसार चिसोका कारण धारामा पानीसमेत जमेको छ। खोलाको पानी समेत जम्न थालेको सापकोटाको भनाइ छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित कर्मचारी ब्रिज गुरुङका अनुसार माथिल्लो मनाङ क्षेत्रमा शुक्रबार बिहान ९ बजेदेखि हिउँ पर्न थालेको हो। त्यस क्षेत्रमा ६ इन्चजति हिउँ थुप्रिएको उनले बताए। ‘होटलका कुरुवा र केही स्थानीयबाहेक यहाँ कोही छैनन्। सबैजना जाडो छल्न तल (लम्जुङ, पोखरा, काठमाडौं) झरेका छन्,’ उनले भने,‘सबैतिर सुनसान छ। पर्यटक पनि छैनन्।’ अन्नपूर्ण फेरो पदमार्ग पर्ने मनाङमा अहिले पर्यटक पनि नरहेको उनले बताए। ‘हिजोअस्ति आएका केही पर्यटक यतै छन्। बिहीबारदेखि थोराङला भन्ज्याङ पार गर्न पनि जान सक्ने अवस्था छैन,’ उनले भने, ‘शुक्रबार पनि पर्यटक उक्लिन सकेका छैनन्।’

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि बाक्लो हिमापात भइरहेको छ। अधिक चिसोका कारण स्थानीय निकै नै प्रभावित भएका छन्। पोखरादेखि मुस्ताङमा हुँदै आएका हवाई उडान पनि हुन सकेका छैनन्। प्रहरीले हिमपातका कारण दैनिकी प्रभावित भएको जनाएको छ। पर्यटकीय क्षेत्र मुस्ताङमा पनि हिमपातका कारण पर्यटकको चहलपहल नभएको प्रहरीको भनाइ छ।

यस्तै उत्तरी गोरखामा शुक्रबार दिनभर हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो, प्रोक र धार्चे गाउँपालिकाको लाप्राकलगायतका ठाउँमा शुक्रबार दिनभर हिमपात भएको त्यहाँका प्रहरी चौकीलाई उद्धृत गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

हिमपातका कारण जिल्लाको माथिल्लो भेगको जनजिवन प्रभावित भएको छ। लाप्राकस्थित गुप्सिपाखामा एकीकृत बस्ती निर्माणको काम पनि हिमपातका कारण रोकिएको छ। हिमपातका कारण चौंरी, याक, भेडा चरन क्षेत्रमा लैजान समस्या भएको छ। माथिल्लो भेगका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। दुई फिट बाक्लो हिउँ जमेको छ। घरको छानामा हिउँ थुप्रिएको छ। धाराको पानी जमेपछि तताएर प्रयोग गर्नुपरेको छ। टेलिफोन सम्पर्क पनि सहज हुन नसकेको अधिकारीले बताए। जिल्लाको तल्लो भेगमा बिहानैदेखि वर्षा भएको छ।

प्रकाशित: १९ पुस २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App