१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

औषधि अभावले क्षयरोगी समस्यामा

भक्तपुर– औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन्। राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो।

क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा सुरु भएको ९ महिने छोटो उपचार विधिमा बिरामीले ९ महिना आवश्यक औषधि सेवन गरी चारदेखि ६ महिनासम्म सुई लिनुपर्ने हुन्छ। क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी (एमडिआर) का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिलु नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो।

काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनुभएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरे। दुई सातादेखि ‘क्यानामाइसिलु नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए। ललितपुरको भैँसीपाटीबाट उपचारमा आएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए।

राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिलु नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ। समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ।

केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिलु नामको औषधि एक बिरामीलाई साताको ६ वटाका दरले करीब पाँच महिनासम्म एक सय ५० वटा दिइनुपर्छ। औषधि अभावले यो क्षयरोग बिग्रिएमा एसडिआर हुने र बिरामीको उपचार असम्भव हुने तथा बिरामीको ज्यानै जानसक्छ। क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रूपमा बिरामीलाई यो औषधि प्रयोग गरिन्छ।

‘क्यानामाइसिलु औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार पिस औषधि मगाए पनि तीन हजार दुई पिस मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिलु नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गरे।

‘क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो,’ उनले भने, ‘यसको सट्टामा केन्द्रले ‘एमिक्यासिनु नामक औषधि मगाएका छाँै, भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौँ।’

उनले ‘क्यानामाइसिलुले बिरामीमा राम्रो काम नगरेपछि अर्काे औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने बिरामीलाई ‘एमिक्यासिनु नामक औषधि दिने बताए। औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउँदै उनले कुनै पनि बिरामी औषधिबाट वञ्चित नभएको दाबी गरे।

तत्काल १६ हजार औषधि चाहिने भए पनि पटक/पटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ। सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिलु औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ। यो औषधि नेपालका औषधि पसलमा नपाइने भएकाले बाहिर किनेरसमेत प्रयोग गर्न नपाएको बिरामीको गुनासो छ।रासस

प्रकाशित: ११ पुस २०७६ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App