काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्। ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन्। बेलुकीको समयमा अन्तर्राष्ट्रिय उडानका हवाईजहाज ल्याण्ड हुनैलाग्दा प्रहरी सर्तकका साथ विमानस्थलभित्र परिचालित हुन्छन्, थाहा नहुनेगरी। विदेशीहरूको लगेज चेकजाच भइरहँदा जासुस गर्न बसेका प्रहरीले शंका लाग्दाबित्तिकै निगरानी बढाउँछन्।
शनिबार प्रहरीले यस्तै ढंगबाट गोप्य रूपमा गरेको निगरानीका क्रममा ‘कोकिन’ लैजान लागेको अवस्थानमा प्रस्थान कक्षबाट दुई विदेशी नागरिकलाई समात्यो।
उनीहरूले ज्याकेटमा बेरेर कोकिन लैजान लागेका थिए। पक्राउ पर्नेमा राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना र राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारूसी नागरिक पाभेल भेसिलयू रहेका छन्। उनीहरू काठमाडौंबाट हङ्कङ जान लागेका थिए। एलिना र पाभेलको बयानका आधारमा उहीहरूसँगै कोकिन कारोबार गर्ने वोलिभियन नागरिक राउल जम्ब्राना ओर्डोनेज र रोबर्टो कार्लोस मेरूवीया मेरिइसलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको छ।
शनिबार बेलुकी विमानस्थलको प्रस्थान कक्षमासुटकेश चेकजाँच गर्ने क्रममा पाभेल र एलिनाको सुटकेशभित्रे ४÷४ वटा ज्याकेट थिए। प्रहरीले झोला ठूलो देखेपछि शंका ग-यो। उनीहरूले झोलामा ‘फल्स बटम’ लगाएर विदेश लैजान लागेको अवस्थामा प्रहरीले ६ केजी कोकिन बरामद गरेकोे लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरका डिआइजी दिनेश अमात्य जानकारी दिए। आइतबार पत्रकार सम्मेलन गर्दै व्यूरोले कोकिन काराबार गर्दै आएका चार जनालाई सार्वजनिक गरेको थियो।
उनीहरूमाथि अनुसन्धान भइरहेको डीआइजी अमात्यले जानकारी दिए। ‘अहिले विदेशीहरूले नेपाललाई लागुऔषध ओसारपसार गर्नको लागि सहज मुलुक ठान्न थालेका छन्, पछिल्ला अपराधलाई हेर्दा प्रविधि वा अन्यखाले धेरै अपराधमा विदेशको हात छ,’ उनले भने। प्रहरीका अनुसार पछिल्लो समय कोकिनको प्रयोग यूरोपियनमा बढेको छ। शनिबार बरामद भएको कोकिनको बजार मूल्य करिब १८ करोड रुपैयाँ रहेको अमात्यले बताए।
प्रकाशित: ७ पुस २०७६ ०२:२६ सोमबार