१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खानेपानी योजनाले गाउँलेबीच मेलमिलाप

सिन्धुपाल्चोक- जिल्लाको सुनकोसी गाउँपालिका–५ सुनखानी घिसिङ टोलमा सञ्चालनमा आएको पक्की संरचनासहितको खानेपानी योजनाले स्थानीयबीच बलियो एकता बनाएको छ।

तिरतिरे धारा घिसिङटोल खानेपानी आयोजना सम्पन्न भइ सञ्चालनमा आएपछि छिमेकी–छिमेकीबीच दिनहुँ हुने पानी झगडा बन्द भएको हो।  ‘पुस्तौँदेखि मिलेर बस्दै आएका तामाङ समुदायबीच सँधै एउटै विषयमा झगडा हुन्थ्यो भने त्यो  खानेपानी नै थियो,’ आयोजना उपभोक्ता समितिका अध्यक्ष मणिराज तामाङ भन्छन्, ‘आयोजनाले छिमेकीबीच पानी निहूँमा टुटेको मन जोड्ने काम गरेको छ।’

११ वटा धारासहितको आयोजनाबाट चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेपछि तामाङ समुदाय मात्रको ३५ घरपरिवारमा खुशी फर्केको उनी सुनाउँछन्। ‘पानी निहूँमै दिनहुँ हुने झगडाले ठूलो रुप लिने हो कि भन्ने डर थियो। अब त्यो डर सँधैलाई अन्त्य भएको छ,’ अध्यक्ष तामाङले भने।  उनका अनुसार सेवक नेपाल र जनहित ग्रामीण सेवा समितिको साझेदारी र स्थानीय श्रमदानमा आयोजना सम्पन्न भइ हालै सञ्चालनमा आएको हो।

दुई–चार घरलाई पायक पर्ने गरी एउटाका दरले टोलमा खानेपानी धारा बितरण गरिएको छ। खानेपानीमा सहज पहूँच स्थापित भएपछि तामाङ समुदाय दंग छन्। ‘खानेपानीको निहुँमा झगडा भइरहन्थ्यो,’ ४५ वर्षीया उपभोक्ता फूलमाया तामाङ सम्झिन्छिन्, ‘आफन्तबीच नै सँधै ठाकठुक हुँदा आजित भइसकेका थियौँ।’ उनका अनुसार खानेपानी जोहो गर्ने जिम्मेवारी पाएका महिलाबीच बढी झगडा हुन्थ्यो।

मुहान नजिक भएपनि घिसिङ टोलमा यसअघि पक्की संरचनाको खानेपानी योजना बन्न सकेको थिएन। चाहाना भए पनि स्थानीयले योजना माग गर्ने निकाय भेट्न सकेका थिएनन् भने यहाँको खानेपानी समस्या टार्न कसैको ध्यान जान सकेको थिएन। स्थानीयले पाइप मागमुग गरी मुश्किलले अस्थायी प्रकृतिका पाँचवटा धारा बनाएर दसकौँदेखि पानी जोहो गर्दै आएका थिए। न ट्यांकी थियो, न व्यवस्थित धारा नै। खानेपानी पाइप जमिनमा खुला छोडिएको थियो। धारा कम हुँदा स्थानीय बीचमै ठाउँ–ठाउँमा पाइप टुटाएर खानेपानी भर्थे। पाइप टुटाउँदा अन्यत्र पानी आपूर्ति बन्द भएपछि यही विषयमा छिमेकीबीच सँधै झगडा पर्थ्यो।

झगडैका बीच स्थानीयले खुला रुपमा जसोतसो पानी खाइरहेका थिए। २०७२ वैशाख १२ गतेको भूकम्पले त्यही अस्थायी प्रकृतिको आयोजनामा असर पुर्‍याएपछि गाउँमा खानेपानी समस्या अझ बढाएको थियो। छिमेकबीच बैमनस्य बढाउँदै लगेको थियो। ‘अरु सबै विषयमा गाउँ एक थियो। तर खानेपानीले झगडा गराइरहन्थ्यो,’ अध्यक्ष तामाङ दंग पर्दै भन्छन्, ‘पक्की आयोजना सञ्चालनमा आएपछि गाउँलेलाई एकतावद्ध बनाएको छ।’ खानेपानीले गाउँमा मेलमिलाप कायम गर्दा सिँगो तामाङ समुदायमै खुसी छाएको उनले बताए।

सेवक र जनहितको साझेदारीमा १२ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको प्राविधिक खड्क सुनारले जानकारी दिए। उनका अनुसार स्थानीयले आयोजनामा सवा दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्। एक घनमिटरको आरभिटी र चार घनमिटर क्षमताको डिटिआरभिटी ट्यांकीमा संकलन हुने पानी ११ धारामार्फत ३५ घरधुरीमा चौबीसै घण्टा वितरण भइरहेको आयोजनाका प्राविधिक सुनारले बताए।

धाराबाट खेर जाने पानी संकलन गरेर स्थानीयले तरकारी खेती पनि गर्न थालेका छन्। पानी सुविधापछि अधिकांश परिवारले करेसाबारीमा तरकारी हुर्काएका छन्। ‘आफ्ना लागि आफैँ तरकारी र फलफूल फलाउन थालेका छौँ,’ गृहिणी ठूलीकान्छी तामाङले भनिन्। यो वर्षदेखि दैनिक उपभोगका लागि तरकारी किन्नु नपर्ने उनले सुनाइन्।

प्रकाशित: २८ मंसिर २०७६ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App