२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निकुन्ज क्षेत्रमा जथाभावी हेलिकप्टर अवतरणले प्राकृतिक वन सम्पदा संकटमा

डोल्पोबुद्ध गाउँपालिका-१ धोमा अवतरण गरिएको हेलिकप्टर। निकुन्जले हेलिकप्टर अवतरण गरेको शुल्क दस्तुर असुल उपर गर्न वन्यजन्तु संरक्षण विभागलाई लेखेको पत्र।

डोल्पा- कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।

निकुन्ज क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले नियमानुसार अवतरण शुल्क बुझाई निकुन्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मी (नेपाली सेना)बाट सुलिगाडस्थित हेलिप्याडमा चेकजाँच गरेपछि मात्र निकुन्ज वन क्षेत्रमा प्रवेश गर्ने र फर्केर आउदा पुनं चेकजाँच गराई फिर्ता हुनुपर्ने निकुन्जको कानुनी प्रावधान छ। वर्षनी निकुन्ज वन क्षेत्रमा पर्ने उत्तरी सीमा नाकासँग जोडिएका प्राचिन सम्पदाको रुपमा रहेका बौद्ध गुम्बाका मूर्ति चोरी हुँदै आउनु र वन्यजन्तुको चोरी शिकारी पनि बढ्नुले जथाभावी रुपमा निकुन्ज वन क्षेत्रमा हुँदै आएका हेलिकप्टर उडान र अवतरणले शंका पैदा गरेको निकुन्ज स्रोत बताउँछ।

त्रिभुवन विमानस्थलमा ०७६ मंसिर १७ गते हेलिकप्टर सवार यात्रुबाट आँखेटोपहरि(वन्यजन्तुको अङ्ग) बरामद भएसँगै शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पाले पनि निकुन्ज वन क्षेत्रमा हुँदै आएका हेलिकप्टर उडान तथा अवतरणलाई कडाई गरेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९को दफा ३३ले दिएको अधिकार प्रयोग गरि बनेको हिमाली राष्ट्रिय निकुन्ज नियमावली २०३६ले हेलिकप्टर अवतरण गर्दा तिन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान रहेको संरक्षण अधिकृत सरोजमणी पौडेलले नागरिकलाई बताए। तर हालसम्म कुनै पनि हेलिकप्टरले निकुन्जलाई अवतरण शुल्क तिरेको र निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाबाट चेकजाँच गराएको पाइदैन।

पछिल्लो समय ०७६ मंसिर १९ गते सिम्रिक एयरको हेलिकप्टरले उपल्लो डोल्पामा पर्ने पर्यटकीय तथा प्राकृतिक सम्पदा क्षेत्रको रुपमा रहेको साल्दाङ्गमा निकुन्जको बिना अनुमति, जानकारी र सुरक्षाकर्मीकोे चेकजाँच बिना अवतरण गरि अवतरण शुल्कसमेत नबुझाएर काठमाण्डौ फिर्ता भएपछि अवतरण शुल्क असुल उपर गर्न र आवश्यक कारवाहीको लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौलाई पत्रचार गरिएको पनि संरक्षण अधिकृत पौडेलले जानकारी दिए।

निकुन्जमा अवतरण गर्ने हेलिकप्टरको चेकजाँचको अधिकार निकुन्ज सुरक्षाकर्मीको भएपनि गृहमन्त्रालयबाट उडान अनुमति ल्याएको भन्दै स्थानीय प्रशासनलाई मात्र खबर गरेर अवतरण तथा उडान भर्ने गरेको पाइएको छ। यसले गर्दा हेलिकप्टरबाट अवैद्ध सामान निकासी भएमा त्यसको जिम्मेवारी कसले लिने भन्नेमा समस्या पैदा भएको पनि संरक्षण अधिकृत पौडेलले बताए।

तिन महिनाको फरकमा निकुन्ज कार्यालयमा जिल्लास्थित वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठक बसेर निकुन्ज वन क्षेत्रमा हुन सक्ने र भइरहेका चोरी शिकारी तथा वन्यजन्तुको ओसारपसारको नियन्त्रणकाबारेमा छलफल भइरहेपनि जिल्ला प्रशासनको फितलो समन्वयकारी भूमिकाले जथाभावी अवतरण हुँदै आएका निजि कम्पनिका हेलिकप्टरको नियन्त्रणमा समस्या आउने गरेको छ।

 

प्रकाशित: २३ मंसिर २०७६ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App