coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यू, श्रीमान सम्पर्कविहीन

उदयपुर- सुत्केरी गराउन उदयपुर अस्पताल ल्याइएकी एक महिलाको मृत्यूलगत्तै श्रीमान बेपत्ता भएपछि शव बेवारिसे भएको छ। आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै मृत्यू भएको तथा श्रीमान प्रेम बुढाथोकी सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ।

सरिस्मालाई ल्याउनेबित्तिकै जचाउँदा रक्तअल्पता (रगतको कमी) भएको पाइएपछि सुविधासम्पन्न अस्पताल लान रेफर गरे पनि श्रीमतीलाई छाडेर प्रेम सम्पर्कविहीन भएका हुन्। अस्पतालको पुर्जीमा महिलाको ठेगाना त्रियुगा नगरपालिका ७ उल्लेख भएको तर त्रियुगा १२ डिएमगेटमा डेरा रहेको खुलेको प्रसुति विभागकी स्टाफ नर्स छवित्रा राईले बताइन्। उनका अनुसार रक्तअल्पता देखिएकाले उनलाई अन्यत्र लान सुझाएकोमा श्रीमतीले अन्तीम श्वास लिदै गर्दा प्रेम बेपत्ता भएका छन्।

‘अस्पताल ल्याउँदै गर्दा नै महिला धेरै कमजोर देखिन्थिन्, जचाउँदा रगत ७.४ मात्र देखिएपछि तत्काल बाहिर लान सुुझायौं’ नर्स राईले भनिन् ‘तर, उल्टै श्रीमान अस्पतालबाट बाहिरिएपछि बेखवर छन्।’ राईले सरिस्मालाई ल्याउँदा घरधनी र प्रेम दुईजना आएको र भर्ना गरेपछि घरधनी फर्के पनि प्रेम श्रीमतीसँगै रहेको बताइन्। तर, श्रीमतीको मृत्यू भएपछि निस्केका प्रेम अहिलेसम्म नफर्केपछि शव अस्पतालमा बेवारिसे भएको छ।

राईका अनुसार पुर्जीमा महिलाको ठेगाना र जात पनि फरकफरक उल्लेख छ। यसअघि जचाउँदा र अहिलेको ठेगाना फरक पाइएको र पुर्जीमा उल्लेख भएको श्रीमानको मोवाईल नं. मा सम्पर्क नहुने उनले बताइन्। यसअघि सरिस्माको ३ ठाउँमा गर्भ जाँच गरिएकोमा सबैमा रक्तअल्पता देखिएको पुर्जीमा उल्लेख छ। गत असार ५ गते खोटाङको बुईपा स्वास्थ्यचौकीमा जचाइएको पुर्जीमा ‘सरिस्मा आचार्य’ नाम र रगत ७.४ उल्लेख छ भने साउन २ मा दिक्तेल अस्पतालमा जचाउँदा ‘सरिस्मा बुढाथोकी’, रगत ७.३ उल्लेख छ।

असोज ५ गते गाईघाट सिभिल अस्पतालमा जचाउँको पुर्जीमा रगतको अवस्था ७.५ उल्लेख छ भने आइतबार उदयपुर अस्पतालमा रगतको अवस्था ७.९ रहेको छ। सिभिल अस्पतालमा उनको ठेगाना ‘उदयपुरगढी’ उल्लेख भएकाले श्रीमानको खोजीमा नेपालटारतिर सम्पर्क गर्दा त्यस्तो नाम गरेको मान्छे कोही नभएको खबर आएको राईले बताइन्। जात र ठेगाना फरक हुनु तथा श्रीमानको नं. मा फोन नलाग्नाले शव अस्पतालमा बेवारिसे हुन पुगेको अस्पतालले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७६ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App