५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको माग

एकल पुरुषलाई भत्ता माग गर्न र बस खरिद गर्नका लागि दिक्तेलमा छलफल गर्दै ज्येष्ठ नागरिक। तस्बिरःदमन/नागरिक

खोटाङ– ज्येष्ठ नागरिक संघ खोटाङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइनुपर्ने माग गरेका छन्। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ज्येष्ठ नागरिक संघले एकल महिलालाई सरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्थाका लागि माग गरेका हुन्।

महिला र पुरुषलाई समान अधिकार भनिरहँदा श्रीमतीको मृत्यु भएका, कुनै कारणबाट श्रीमतीसँग विछोड भएका, अर्को विवाह नगरेका, ७० वर्ष ननाघेका विदुरहरुले कष्टकासाथ जीवन बिताइरहेको भन्दै ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद घिमिरेले नगरपालिकाका मेयर दिपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै बृद्धावस्थामा पुगेका विदुर नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि माग राखेका हुन्।

ज्येष्ठ नागरिकले बुढेसकाल लागेर साहराविहिन र कष्टपूर्ण जीवन बिताइरहेका ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि मासिक तीन हजार सामाजिक सुरक्षाभत्ता उपलव्ध गराउनका लागि माग गरेका छन्। ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ती, असहाय, दलित, बालबालिकासमेतले राज्यकातर्फबाट सामाजिक सुरक्षाभत्ता पाइरहेको अवस्थामा एकल पुरुषलाई विभेद भइरहेको संघका अध्यक्ष घिमिरेले बताए।

जिल्लाका दश स्थानीय तहमध्ये संघले पहिलोपल्ट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुगेर बिदुरका लागि भत्ता माग राखेका हुन्। बिदुरलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनका लागि क्रमशः अन्य स्थानीय तह समक्ष पनि छलफल चलाइने संघले जनाएको छ। ‘भन्नेबेलामा महिला पुरुष समान भनिरहेका हुन्छौँ। महिला र पुरुषलाई समान अधिकार छ भनिरहेका छौँ,’ संघका अध्यक्ष घिमिरेले भने, ‘तर, बुढेसकालमा पुगेका बिदुरको अवस्था अति नै दयनिय छ। यस बारेमा राज्यले सोच्न जरुरी छ।’

मन्दीरडाँडामा आफ्नो मागका विषयमा छलफल गरेपछि ज्येष्ठ नागरिक नगरपालिका पुगेका थिए। यसअघि २०७४ साल साउन २४ गते राप्रपा लामीडाँडा गाउँपालिका कार्य समितिले ६० वर्ष पुगेका एकल वृद्धलाई पनि सामाजिक सुरक्षा भत्ताको माग उठाएको थियो।

वृद्धवृद्धालाई तिर्थाटन गराउन बस खरिद गर्ने तयारी
यसैबीच, ज्येष्ठ नागरिक संघले जिल्लाका वृद्धवृद्धालाई धार्मिक भ्रमण तथा तिर्थाटन गराउनका लागि बस खरिद गर्ने तयारी थालेको छ। नेपालका विभिन्न धर्मशाला, मठमन्दीर, रमणीयस्थलदेखि शहर घुमफिर गर्ने ज्येष्ठ नागरिकको चाहनालाई मध्यनजर गर्दै संघले ३२ सिट भएको बस खरिद गर्ने तयारी थालेको जनाएको छ। ज्येष्ठ नागरिकको तिर्थ भ्रमणकाक्रममा जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको तस्बिर, पर्चा, विवरण राखेर पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याइने ज्येष्ठ नागरिक संघका अध्यक्ष घिमिरेले बताए। संघले ज्येष्ठ नागरिकको तिर्थ भ्रमणमा उपयोग गरिने बस खरिदका लागि सहयोगको याचना गरेको छ। बस खरिद गर्न सहयोग गर्ने सहयोगीको नाम, ठेगाना र रकमको मात्रा बसकै बाहिरी भित्ता र संघको कार्यालयमा ताम्रपत्रमा लेखेर राखिने जनाइएको छ।

संघले वृद्धवृद्धालाई २०७५ साल भदौ २९ गतेदेखि १० दिनसम्म देवघाट, लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर लगायतका स्थानमा भ्रमण गराएको थियो।

 

प्रकाशित: १२ मंसिर २०७६ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App