४ वैशाख २०८१ मंगलबार
समाज

दुर्गादेवीमाथि डिजिटल हिंसा

दुर्गादेवी

काठमाडौं – नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलो पल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन्। यसको पछाडिको कारण भने सुखद छैन। मंगलबार दिउँसो उनी यही अभियानका लागि बनाइएको ब्यानरमा लेखिएको नारा सच्याउन महेन्द्रनगर बजार पुगेकी थिइन्। विगत पाँच महिनादेखि उनले नगरपालिकाको कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छन्।

दुर्गादेवी बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तकी आमा हुन्। निर्मला गत वर्ष हत्या गरिएको अवस्थामा कञ्चनपुरस्थित उनको घरबाट केही किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेकी थिइन्। निर्मलाको बलात्कारपछि भएको हत्याको विषयले मुलुकलाई नै आन्दोलित बनाएको थियो। उनका हत्यारालाई कारबाही माग गर्दै गत वर्ष लामो समयसम्म देशभर व्यापक विरोध प्रदर्शन भएको थियो। तर अहिलेसम्म पनि प्रहरीले उनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन। निर्मालाको न्यायको लडाइँ जारी नै छ। दुर्गादेवीले छोरीको बलात्कार र हत्या स्थानीय दिलीप सिंहले गरेको आरोप लगाएकी छन्। अनुसन्धान भइरहेको यो घटनाबारे प्रहरीले भने मुख खोल्न चाहेको छैन।

‘तपाईं जुन ब्यानर सच्याउन जानुभयो, त्यो तपाईंले पढ्न सक्नुहुन्छ ?’ यसमा दुर्गादेवीको जवाफ थियो, ‘म पढ्न सक्छु, यसमा महिला हिंसाका बारेमा लेखिएको छ, यो महिला हिंसा अन्त्य गर्नका लागि हो।’ दुर्गादेवी महिला हिंसा त्यति बेला भएको महसुस गर्छिन् जति बेला न्यायका लागि ठूलो स्वरमा रुँदा समेत सुन्ने कोही हुँदैन। सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। ‘मानिसहरुले मेरो बारेमा अनावश्यक आरोप लगाइरहेका छन्। उनीहरुलाई थाहा छ, मलाई कसैको सहयोग छैन तर अनावश्यक रुपमा आरोप लाग्न थालेपछि म कठोर बन्दै गएकी छु।’

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। समाजशास्त्रीले यसलाई दुर्गादेवीविरुद्ध डिजिटल हिंसाको संज्ञा दिएका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएलगत्तै प्रहरीले बिष्टलाई पक्राउ गरेको थियो। तर केही स्थानीय मिडियाले प्रहरीले भिआइपी बलात्कारी तथा हत्यारालाई जोगाउन प्रमाण नष्ट गरेको आरोप लगाए, जसको परिणाम मानिसहरु निर्मलाका वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै सडकमा उत्रिन थाले। निर्मलाको यौनांगबाट संकलन गरेको डिएनए पनि बिष्टसँग नमिलेपछि स्थिति थप जटिल अवस्थामा पुग्यो। भिडले बिष्टलाई छाड्न र लापरबाही गर्ने प्रहरी अधिकारीहरुलाई कारबाहीको माग ग-यो। दुर्गादेवीले आठजना प्रहरीविरुद्ध उजुरी दायर गरिन्।

‘मेरो फोन अफ थियो, उक्त फोन शारदा चन्दले लिएकी थिइन्। उनले मलाई स्वतन्त्ररुपमा बोल्न दिइरहेकी थिइनन्। काठमाडौंमा समेत उनले मलाई कसैसँग बोल्न दिइरहेकी थिइनन्,’ दुर्गादेवीले विगत सम्झँदै भनिन्। उनका अनुसार अधिकांश अधिकारकर्मी यातना दिन आएका थिए। ‘केही अधिकारकर्मी मसँगै थिए, उनीहरुले मलाई गाउँमा बस्न दिए नत्र हामीलाई घरबारविहीन बनाउँथे। मैले सरकारबाट राहत रकम लिएपछि उनीहरु सबै मेरा विरुद्ध लागेका थिए,’ उनले भनिन्, ‘अहिले पनि उनीहरुले मलाई दुःख दिइरहेका छन्। उनीहरुले त मलाई मान्छे नै गन्दैनन् किनभने मेरा श्रीमान् मसँग बस्दैनन् र मेरा छोरा पनि छैनन्।’

सामाजिक सञ्जालमा उनीमाथि हिंसा गर्नेमा स्थानीय पत्रकार खेम भण्डारी पनि भएको दुर्गादेवी बताउँछिन्। भण्डारीले सामाजिक सञ्जालमा दुर्गादेवीले छोरीको न्यायलाई पैसामा बिक्री गरेको भनी भ्रम फैलाएको उनले बताइन्। भण्डारीमाथि घटनालाई सनसनीपूर्ण बनाएको, बलात्कार र हत्याको समाचार तोडमोड गरेको आरोपमा मानहानी मुद्दा लागेको थियो। उनले जिल्ला अदालतबाट सजाय भोगिसकेका छन्।

भण्डारीले हालै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनुसन्धान आमाबाट सुरु गर्नुपर्ने बताएका छन्। ‘उनले दिलीप बिष्टलाई फसाउन एक करोड रुपैयाँ र एक बिघा जमिन लिएकी छन्,’ भण्डारीले आफ्नो पोस्टमा लेखेका छन्। यसबारेमा भण्डारीसँग कुरा गर्दा उनले दुर्गादेवीले आमाको प्रतिष्ठा जोगाउन नसकेको आरोप लगाए। ‘उनले आमाको प्रतिष्ठा जोगाउन सकिनन्, कञ्चनपुरमा उनको आलोचना भइरहेको छ,’ भण्डारीले भने। कञ्चनपुरमा आफूलाई विश्वास गर्ने केही स्थानीय सञ्चारकर्मीको सहयोगमा भण्डारीले निर्मला प्रकरणलाई आफू अनुकूल प्रचार गर्न सफल भएका थिए।

नागरिकसँग कुराकानीमा दुर्गादेवीले आफूले पैसामा छोरीको न्याय बेचेको पुष्टि भए जान तयार भएको बताइन्। पुष्टि नभए यस्ता आरोप लगाउनेमाथि कारबाही हुनुपर्ने उनको माग छ। ‘उनीहरुले मेरो बारेमा गलत कुरा भनिरहेका छन्। मेरा श्रीमान् म र मेरा छोरीहरुलाई माया गर्दैनन्। भण्डारीजस्ता मानिसहरु यसबारेमा जानकार छन्। त्यसैले उनीहरुले मेरा श्रीमान्लाई आफ्नो हातमा लिएका छन्,’ फेसबुकमा भण्डारीले लेखेका विषयमा बताउँदै दुर्गादेवीले भनिन्।

समाजशास्त्री नीति अर्याल खनाल भन्छिन्, ‘दुर्गादेवी सशक्त महिला हुन्थिन् भने यो घटना फरक हुन्थ्यो। पहिलो कुरा त उनकी छोरीको बलात्कार र हत्याको सम्भावना कम हुन्थ्यो। स्थानीय प्रहरीले पनि सुरुदेखि नै अपराधको गम्भीर ढंगले अनुसन्धान अघि बढाउँथ्यो।’ उनले अगाडि भनिन्, ‘उनको आवाज सुनिन्थ्यो र उनीसँग कसैको बलियो साथ हुन्थ्यो भने खेम भण्डारीजस्ता मान्छेले प्रमाणबिना जे मन लाग्यो त्यही आरोप लगाउन सक्ने थिएनन्। एकातर्फ छोरी गुमाउनुको पीडा, अर्काे तर्फ आसपासकै मान्छेले दुःख दिइरहेका थिए। उनीहरुले किन यस्तो गरे ? किनभने उनी गरिब र एकल महिला थिइन्, जसले गर्दा उनलाई दुःख दिइएको थियो।’ समाजमा यस्ता धेरै महिला भएको बताउँदै खनालले थपिन्, ‘जसले यस किसिमका हिंसालाई मौन रुपमा सहिरहेका छन्। यसका पछाडि उनीहरुको कमजोर सामाजिक आर्थिक अवस्था कारणका रुपमा रहेको छ।’

खनाल दुर्गादेवीविरुद्ध सामाजिक सञ्जालमा पुष्टि नभएका र अपमानजनक सामग्री राख्नुलाई डिजिटल हिंसा भन्छिन्। खेम भण्डारी र अन्यले दुर्गादेवीविरुद्ध गरेको डिजिटल हिंसाप्रति चिन्ता व्यक्त गर्दै खनालले उनीहरुलाई सचेत गराउनुपर्ने बताइन्। खनालले यो घटना पितृसत्तात्मक समाजको कुरुप पक्ष भएको तर्क गरिन्। ‘खेम पितृसत्तात्मक समाजमा जन्मिएको, हुर्किएको र पोसिएको एउटा पात्र हो। उनीहरुले आफूलाई सर्वाेच्च ठान्छन्, त्यसैले उनीहरु महिलालाई मान्छे नै मान्दैनन्’, उनले भनिन्।

दुर्गादेवीका छोरीहरुले भण्डारीको फेसकुब पोस्टका बारेमा उनलाई जानकारी गराउँछन्। उनकी ठूली छोरी उच्च माध्यमिक तह अध्ययन गर्दैछिन्। निर्मलाको हत्यापछि उनी आमाको अझ बढी नजिक भएर रेखदेख गरिरहेकी छन्। बेलुका सुत्नुभन्दा पहिले अहिले पनि उनीहरुले निर्मलाका बारेमा कुरा गर्छन्। केही रातहरु दुर्गादेवीका लागि निकै कठिन हुन्छन्, उनी सुत्न सक्दिनन्।

नगरपालिकामा जागिर सुरु भएपछि दुर्गादेवीको दिनचर्या केही सहज भएको छ। तर पनि उनी अहिले एक्लोपन महसुस गर्छिन्। उनका छोरीहरु कहिलेकाहीं बाबुलाई भेटन जान्छन्। तर उनको पतिसँगको सम्बन्ध सुमधुर छैन। उनका पतिले अर्कै महिलासँग बिहे गरेका छन्। सरकारबाट १८ लाख रुपैयाँ लिएपछि दुर्गादेवीले शौचालय र भान्सा निर्माण गरेकी छन्। बाँकी रकम उनी आफ्ना छोरीहरुका लागि बचत गर्न चाहन्छिन्।

प्रकाशित: १२ मंसिर २०७६ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App