मेरो बाल्यकालको कुरा गर्ने हो भने त त्यो बेला काठमाडौंको टुँडिखेल पुरै खुल्लमखुल्ला थियो। त्यहाँ बसेर जाडोमा घाम तापेर बदाम खाने, साइकल चलाउने, भेटघाट गर्ने ठाउँ थियो त्यो।
आज भन्दा चालीस बर्ष अगाडि मेरो एकजना साथी पुर्णकान्त अधिकारी अमेरिकाबाट पीएचडी गरेर आएका थिए, उनले ल केदार यसो भेटघाट, गफ गरौ भने, मैले कता रेष्टुरेन्ट तिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाए, उनीसँग त्यहाँ बसेर हामीले भुटेको बदाम खाँदै नेपालको विकासको बारेमा, उनको अमेरिका पढाइको बारेमा छलफल गरेको अझै याद छ।
हामी स्कुल पढ्दा फुटबलको क्रेज थियो। टुँडिखेलमा हामीहरु फुटबल खेल्थ्यौँ, कुपन्डोल र हाम्रो सानेपा बीचमा त्यहीँ फुटबल गेम भएको थियो। त्यो गेममा अत्यन्तै प्रतिस्पर्धा भएको थियो। कुपन्डोलले त्यो गेम जितेको थियो।
त्यो बेला मानिससँग पैसा पनि धेरै हुँदैनथ्यो। रेष्टुरेन्टपनि धेरै कम थिए। फुर्सद हुँदा साथीहरु भेट्न पर्दा हामी टुडिखेलमै भेला हुन्थ्यौँ।
आनन्द घाम तापेर बदाम खाँदै गफगाफ गर्ने धेरै समूह हुन्थे त्याहाँ। बाइक, मोटरहरु त्यहाँ वरिपरि हुदैन्थ्यो। धुलोधुँवा पनि नहुने आनन्दको खुल्ला रमाइलो स्थान थियो टुडिखेल।
पछि पञ्चायतकालबाट त्यसलाई छुट्याउन थालेको हो। राजा महेन्द्रले आफ्नो रानीको नाममा रत्नपार्क भनेर त्यहाँ पार्क बनाए। पब्लिकलाई भनेर खुल्ला मञ्च बन्यो। सैनीकहरुलाई केही स्थान दिइयो। शहिदगेट बन्यो। शहिदगेटदेखि रंगशालासम्मको स्थान पनि सेनाले नै ओगट्यो। यसरी त्यो विशाल स्थानलाई टुक्राटुक्रा बनाउने काम भयो।
काठमाडौंका बहुसंङ्ख्यक मानिसलाई त खुल्ला ठाउँ आवश्यक छ। उनीहरुलाई आफ्ना बालबालिका घुमाउन, साथीहरु भेटघाट गर्न, शारीरिक व्यायम गर्न, विदाको समय बिताउन त सार्वजनिक खुल्ला ठाउँ चाहियो नी। राज्यले यस्ता विषयमा ध्यान नदिँदा मलाइ दिक्क लाग्छ।
फेरी टुँडिखेललाई त्यस्तै अवस्थामा फर्काउन त सकिदैन। तर, त्यो भन्दा राम्रो र व्यवस्थित बनाउन चै सकिन्छ।
अहिले त त्यहाँ फोहोर थुपार्ने, सानो त्यो रत्नपार्कमा जादाँपनि शुल्क लाग्ने, अझ त्यो खुल्ला मञ्चमा त बसपार्क पो बनेको छ। साथै विभिन्न समान थन्काउने स्थानको रुपमा प्रयोग भएको छ। एउटा डम्पीङ साइट जस्तो बनेको छ अहिले त्यो खुला स्थान।
त्यही स्थानबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी लगायत अहिले जीवीत रहेका नेताहरुले विभिन्न आन्दोलनमा भाषण गरेका थिए। यीनै नेताहरुको शासनकालमा टुँडिखेल यो अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण छ।
टुँडिखेल त एउटा प्रतिक मात्र हो देशभरका सार्वजनिक खुल्ला स्थानहरु अतिक्रमण भएका छन्। कुनै न कुनै तरिकाबाट हडपिएका छन्।
पहिले पहिले बुढाबुढीहरु घाम ताप्न खुल्ला ठाउँमा जाने गर्थे। शहरका कतिपय स्थानमा घाम नलाग्ने, घर सानो हुने, व्यायम गर्ने ठाँउ नहुने, बालबालिकाहरु खेल्ने ठाउँ नहुने भएकाले शहरका मान्छेहरु टुडिखेलमा जान्थे।
अहिले त जहाँ पनि अतिक्रमण भएको छ। मल्लकालमा बनेको चोकहरु पनि अतिक्रमणमा परेका छन्।
सरकारले जहाँ पायो त्यहीँ पार्किङ गर्न दिनुभएन। जथाभावी पसल राख्न दिनुभएन। फुटपाथ खुल्ला खाख्नु पर्यो। खुल्ला ठाउँमा आराम गर्ने कुर्सीहरु राखिदिनु पर्यो।
फुर्सद हुँदा सबै जना रेष्टुरेष्टमा जान नसक्ने पनि हुन सक्छ। त्यसैले खुल्ला ठाउँमा बसेर आराम गर्ने स्थान बनाउनु राज्यको कर्तव्य हो। दायित्व हो।
उता जापान तिर चै घरहरु सानो सानो हुन्छ। अझ पब्लिक स्थान त धेरै फराकिला र ठूला हुन्छन्। त्यता तिरका मानिसहरु विदाका दिन घरमा बस्दैनन्। खानेकुरा घरमै बनाएर पार्कमा जान्छन् त्यहीँ रमाइलो गरि खानेकुरा खादै बस्छन्।
जापानको टोकियोमामात्र नेपालको जनसङ्ख्या बराबर मानिसहरु बसोबास गर्छन्। त्यहाँ मानिसहरुको जहाँ तहीँ भिडभाड हुन्छ। तरपनि त्यहाँ यतिधेरै खुल्लास्थान छन् कि मानिसहरु विदा र फुर्सदको समयमा पार्क मै पुग्छन्। कोही कसैलाई भेट्नु पर्यो भने सार्वजनिक स्थलमा नै बोलाउँछन्।
यहाँ काठमाडौमा पनि मानिसहरु खचाखच छन्। घर भाडा पनि महङ्गो छ। कतिपय घरमा घाम पनि लाग्दैन, मनलाग्दी तरिकाले अग्लाअग्ला घर बनेका छन्। एउटै कोठामा बसेर जीवन निर्वाह गरिरहेका मानिसहरु धेरै छन् शहरमा। यस्ता मनिसलाई त चहिन्छ नी खुल्ला ठाउँ। राज्यले यस्ता बिषयमा सोच्नु पर्ने हो। म त राज्यको यस्तो अवस्था देख्दा छक्क पर्छु।
राज्य भनेको त आम जनताको हो। धनी मनिसहरुको त घर नै ठूलो हुन्छ। धेरै क्षेत्रफलमा घर बनाउँछन्। घर वरिपरि ठूलो कम्पाउन्ड हुन्छ। करेसाबारी, बगैचा बनाएका हुन्छन्। घुम्न कुनै खुल्ला स्थान जान आवश्यक नै पर्दैन उनीहरुलाई। खुल्ला स्थान त समान्य मनिसलाई चाहिने हो। आम जनतालाई चाहिने हो। काठमाडौंका बहुसंङ्ख्यक मानिसलाई त खुल्ला ठाउँ आवश्यक छ। उनीहरुलाई आफ्ना बालबालिका घुमाउन, साथीहरु भेटघाट गर्न, शारीरिक व्यायम गर्न, विदाको समय बिताउन त सार्वजनिक खुल्ला ठाउँ चाहियो नी। राज्यले यस्ता विषयमा ध्यान नदिँदा मलाइ दिक्क लाग्छ।
अझ विशेषत बिद्यार्थीका लागि त खुल्ला ठाउँ अत्यावश्य हुन्छ। एकान्तमा सफा वातावरणमा बसेर पढ्ने, घरमा बसेर पढ्दापढ्दा थकाइ लागेमा घुम्न जानको लागि पनि खुल्ला स्थान त आवश्यक पर्छ।
यो अकुपाई टुडिखेल आन्दोलन चै शहरका मानिसहरुले आफ्नो हक मागेका हुन। यस्ता खुल्ला ठाउँको संरक्षण गर्नु जनता र राज्य दुवैको कर्तव्य हो।
पुरानो बसपार्कमा टावर बनाउन लागेको देखें, के काठमाडौंलाई टावरको खाँचो छ? स्वयम्भु, सिवपुरी, जामाचो लगायत डाडाँमा उक्लनुस् न टावर त्यै हो।
काठमाडौमा अग्ला घर र टावर बनाउनु भनेको चै हास्यादपद् हो। यहाँ त खुल्ला ठाउँको आवश्यक छ। बाटो राम्रो हुनुपर्यो, साइकल मैत्री बाटो हुनु पर्यो। पैदल यात्रुलाई हिडडुल गर्न सहज हुनुपर्यो। बालबालिका, वृद्धवृद्धा मैत्री वातावरण हुनु पर्यो। प्रशस्त स्थान भएको ठाउँमा हो टावर बनाउने। यहाँ कहाँ प्रशस्त ठाउँ छ?
अहिले युरोप अमेरिका लगाएका देशहरुले सडक सानो तर फुटपाथ ठूलो बनाउन लागेका छन्। साइकल लेनहरुको विकास गरिरहेका छन्। मोटर कम चढ्ने र सकेसम्म हिड्ने गरेका छन्। पहिलो प्राथमकिता चै हिड्ने मान्छेको हुनुपर्छ।
काठमाडौंको बाटो पहिला हिँड्ने मान्छेको लागि बनाएको हो। अहिले त भित्री गल्लीमा पनि मोटरसाइकल गुडाउँछन्। मोटर र मोटरबाइकले पनि अहिले अतिक्रमण गरेका छन् सार्वजनिकस्थलहरु।
जुनसुकै शहरको सौन्दर्य भनेको त्यसको खुल्ला स्थान हो। शहरको खुल्ला स्थान भनेको प्रजातन्त्रको विम्ब पनि हो। अहिलेका मुलधारका नेताहरुले काठमाडौंको यिनै खुल्ला स्थानमा भाषण गरेर जनातालाई जगाएका थिए। अहिले यिनैले यो खुल्ला स्थान बचाउन सकिरहेका छैनन्। ठूलाठूला राजनीतिक परिर्वतन गरेको खुल्ला स्थान चै अहिले आफैं खुम्चिएको छ।
टुडिखेललाई झनै पराकिलो र व्यवस्थित बनाउनु पर्ने स्थानमा पुगेका मानिस नै निदाएपछि कसले संरक्षण गर्ने? सामान्य जनताले त आवाज उठाउने मात्र हो।
वेलायततिर म पढ्न जाँदा त्यहाँ त पार्क नै पार्क, यसो पार्कको कुनै कुर्सीमा बसेर यताउती हेर्दा त कतै लोखर्के, कतै चरा लगायत कुनै न कुनै साना जनावर देखिने। पर्कमा भएका बोटबिरुवाको नाम लेखेको, यसो पार्क घुम्दा केहि न केहि सिक्ने मौका मिल्ने। त्यहाँका मनिसहरु त घरमा भन्दा पार्कमा धरै समय बिताउने।
यस्ता खालका खुल्ला स्थान यहाँ पनि चाहियो। पुराना खुल्ला स्थानको संरक्षण गनुपर्यो भनेर नै अकुपाई टुडिखेल आन्दोलन युवापुस्ताले सुरु गरेको हो। यसमा मेरो पुरा समर्थन छ।
शहरमा शौचालय, पानी, पार्क चाहियो भनेर आन्दोलन गर्नुपर्ने दिन आउनु नै हास्यादपद् हो।
पानीका साना वा ठूला पोखरी, रुखबिरुवा, ठाउँठाउँमा शौचालय, खानेपानीको व्यवस्था, फुटपाथमा थकाइ लाग्दा बस्ने कुर्सी लगाएतका वातावरण मैत्री स्थान बनाउन आजको समयमा आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद् हो। यो त यसैपनि नागरपानिकाले सोच्नु पर्ने थियो।
काठमाडौंका वासिन्दाका लागि मात्र हैन यो पुरै नेपालीहरुकै लागि टुडिखेल सार्वजनिक स्थल हो। अझ हाम्रो देशको एउटा मुख्य व्यवसाय भनेको पर्यटन हो। आन्तरिक वा बाह्य पर्यटनको लागि पनि काठमाडौ हराभरा र ठाँउ ठाँउमा खुल्ला स्थान बनाउनै पर्छ।
जताततै लथालिङ्ग हुँदापनि मानिसहरु बोल्न सक्दैनन्। आफ्नै दैनिकीको चिन्ता र परिश्रमले सामान्य मानिसलाई फुर्सद पनि त हँुदैन। यस्तो अवस्थामा यो अकुपाई टँुडिखेल आन्दोलन गरेर युवाहरुले अधिकार मागेका छन्। यसमा हामी सबैले साथ दिनु जरुरी छ।
यो आन्दोलन गैर राजनीतिक हो। मलाई युवाहरुमा आएको यो सचेतनामा गौरव लाग्छ। केही राजनीतिक दलका मानिसहरु पनि यो आन्दोलनमा आए तर काठमाडौंको वासिन्दा बनेर। अब हामीले हाम्रा सर्वजनिक स्थानहरुको संरक्षण गर्नैपर्छ। हाम्रा पुर्खाले सुम्पेको गौरवका सार्वजनिक स्थानहरु भावी पुस्तालाई अझै राम्रो बनाएर हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो।
शहरमा धनीलाई र शासकलाई कुनै चिन्ता हुँदैन। भोली उ बसाइँ सरिदिन सक्छ। घुम्न पर्यो भने युरोप, अमेरिका, सिङ्गापुर लगायत सफा शहर जान सक्छ। उ त गाडिमा सररर गुडिरहेको हुन्छ। शहर सफा र हराभरा चाहिने भनेको विशेषत सर्वसाधारणलाई हो। पैदल यात्रुलाई हो। सामान्य जनतालाई हो।
खुल्ला ठाउँ साधारण मानिसको अधिकार हो। यो बिषय सरकारले र महानगरपालिकाले सुन्नुपर्छ। जनता टुडिखेललाई अझै खुल्ला भएको हेर्न चाहन्छन्। त्यै भृकुटीमण्डप हेरौ त कस्तो कुरुप बनेको छ? राज्यले चाहने हो भने त त्यो सुन्दर बनाउन पनि त सक्छ।
अहिले बनेका केहि साना पार्कहरु पनि कंक्रीटले बनेको छ। सिमेन्टको छाता, प्लास्टिकका कुर्सी, फलामको अत्याधिक प्रयोग भएको छ।
हाम्रा नेताहरु र यहाँका कर्मचारीहरु तेत्रा विदेश डुलेर आउनुहुन्छ। उहाँहरु नडुलेको ठाँउ नै छैन। त्यहाँ त उनीहरुले देखेका छन् शहर कस्तो हुन्छ भनेर? त्यहाँको फराकिला ठाँउ, हरियाली, शौचालय लगायत पानिको सुविधा, अपाङ्गमैत्री वातावरण त दैखेकै छन् त किन यहाँ लागु गर्दैनन्?
यहाँ त राज्यले टुडिखेल लगायतका खुल्ला ठाउँलाई कस्तो बनाउने भनेर ओपन मास्टर प्लानको प्रर्तिस्पर्धा गराएर यस्ता ठाँउको संरक्षण गर्नुपर्छ। शहरका अतिक्रमीत ठाँउहरु कहाँकहाँ छन् खोजीखोजी संरक्षण गर्नुपर्छ। दुखद् कुरा त के छ भने यहाँ त सरकार, माहानगर, स्पोर्ट कल्वहरु र सामाजिक संस्थाहरुले नै सार्वजनिक स्थानहरु अतिक्रमण गरेका छन्।
सार्वजनिक जग्गा जमीनको रक्षा कल्ले गर्ने त? यसको संरक्षण त सरकारले, महानगरले गर्नुपर्ने हो तर उनीहरुको लाचारीपनका कारण अहिले जनता आफ्नो अधिकारका लागि सडकमा आएका छन्।
सरकारले पनि सार्वजनिक ठाँउ पुलीस, सेना, युवा कल्व लागायतकालाई दिनु भएन। आवश्यक परेको अवस्थामा सरकारले जग्गा खरिद गरेरै भएपनि प्रसस्त खुल्ला स्थानको व्यवस्था गर्नुपर्छ।
कहिलेकाहीँ हाम्रा जनप्रतिनिधिसँग मेरो भेट हुँदा टोलटोलमा यसो वृद्धवृद्धाहरु बस्ने स्थान बनाउनुहोस्, बालबालीका खेल्ने स्थान बनाउँनुहोस् भन्छु। उनीहरु मेरा सुझाव ध्यान दिएर त सुन्दछन् तर काम चै गर्दैनन्।
सार्वजनिक स्थान भनेको प्रेरणाको स्रोत हो। खुल्ला स्थान भनेको सानासाना खोला मिसिएको समुन्द्र जस्तै हो।
अहिले सार्वजनिक स्थानको महत्व चै के छ भने म मेरो घरमा सबै जनालाई बोलाउन सक्दिन् नी, अरुले पनि आफ्नो घरमा सबैलाई बोलाउन सक्दैनन्, हो यस्तै बेलामा आवश्यक पर्छ खुल्ला स्थानको। सार्वजनिक स्थानमा भेट हुने भनेको चै सबैजना बराबरी हुने जस्तै हो। त्याहाँ को गरिब, को धनी भन्ने हुदैन। सबै बराबरी हुन्छ। सम्पूर्ण समाजको भेट्ने ठाँउ हो सार्वजनिक स्थल। जस्तो सार्वजनिक विद्यालय कै उदाहरण लिनोस् न त्यहाँ को गरिब? को धनी? सबै बराबर र समानता हुन्छ। त्यसले त सिङ्गो समाजको प्रतिनिधित्व गरेको हुन्छ पब्लिक स्कुलले। यस्तै हो सार्वजनिक स्थल पनि।
विकास भनेको भौतिक संरचना निर्माण मात्र हैन, भएको सम्पदा संरक्षण गर्नु पनि हो। शहरलाई हरियाली बनाउनुका साथै हामीले हाम्रा पुर्खाबाट पाएको काठमाडौंलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। त्यै पुरानो काठमाडौंको सौन्दर्यका कारण नै यहाँ बिदेशी पर्यटक आएका हुन्। यसको संरक्षण गर्न अब ढिला भैसक्यो।
म त मेरो बाल्यकाल र त्यो बेलाको काठमाडौं सम्झँदा रोमान्टीक हुन्छु। त्यो बेला मोटर कम चल्ने, सडक वरीपरी पुरै कल्की फूलहरु हुन्थे। बाटोहरुमा ढुङ्गा बिच्छाइएको हुन्थ्यो। कतै मन्दिर, कतै स्तुपा, टाङटाङटुङटुङ घन्टी बजीरहेका हुन्थे। यहाँको फाँटहरु अहिले सम्झदाँ यसैयसै रोमान्चक हुन्छु। यता सानेपाबाट काठमाडौं पुरै देखिन्थ्यो। कुपन्डोलबाट बाग्मतीको किनारै किनार हिड्दै म चोभार पुगेको छु। बाग्मती किनारमा शहरका मानिसहरु कपडा धुन आउँथे।
पचलीभैरब नजीकै दुईवटा पोखरी थिए, ती पोखरीमा कमल फूलेका हुन्थे। हाँसहरु पौडिरहेका हुन्थे। पछि रोड विभागले त्यो अतिक्रमण गर्यो। त्यो ढुङ्गा, गिटी, बालुवा थुपार्ने स्थानमा परिणत भयो।
नेपालमा त सरकार नै भ्यान्डालाइजर भयो। भ्यान्डालाइजर अग्रेजी शब्द हो। भ्यान्डल भन्ने एक जाती थियो यिनीहरुले रोममा हमला गरेर रोमको सभ्यता नै तहसनहस पारेका थिए। अब सरकार नै भ्यान्डलाइजर भएपछि कसैको केही लाग्छ?
हामीले दःुख पाएपनि अब सन्ततीहरुका बारेमा सोच्नुपर्ने बेला आएको छ। हामीलाई हाम्रा बाजे बराजुले दिएको काठमाडौं भावी पुस्तालाई त हस्तान्तरण गर्न सक्दैनौ। हामीले काठमाडौं धेरै नै कुरुप बनाइसकेका छौं।
काठमाडौंलाई टावर, गगनचुम्वी भवन चाहिएको छैन। यो त हराभरा र सुन्दर हुनुपर्छ। महानगरपालिकाले लक्ष्य नै राखेर प्लान बनाएर पार्कहरु बनाउनु पर्छ। त्यस्तो पार्क निःशुल्क हुनुपर्छ। बालबालिका, युवा युवती, वृद्धवृद्धाहरु त्यहाँ जाँदा केही सिक्ने, रमाउने अध्ययनशील खालको स्थानको शहरमा खाँचो छ।
राजकुमार गजुरेलले गरेको कुराकानीमा आधारित
प्रकाशित: १ मंसिर २०७६ ०६:२९ आइतबार