२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुटुको भल्व फेरेका बिरामीको अब जिल्ला अस्पतालमै रगत परिक्षण

खोटाङ– मुटुको भल्व फेरेका खोटाङका बिरामीले जिल्ला अस्पताल दिक्तेलमै नियमित रगत परिक्षण गराउन पाउने भएका छन्। मुटुको शल्यक्रीया गरेर भल्व फेरेका बिरामीले हरेक महिना रगत परिक्षणका लागि काठमाडौंं जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि जिल्ला अस्पतालले आवश्यक उपकरण जुटाएर दिक्तेलमै सो सम्बन्धी रगत परिक्षण सेवा सुरु गरेको हो।

ब्रिटिस गोर्खा वेलफेयरको एक लाख २० हजार आर्थिक सहयोगमा पिटि/आईएनआर टेस्ट मेसिन ल्याएर मुटुको भल्व फेरेका बिरामीको सोमबारदेखि रगत परिक्षण सेवा सुरु गरिएको जिल्ला अस्पतालका एनेस्थेसिय सहायक रुद्रप्रसाद ढुंगानाले बताए।

‘गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा जाँदा मुटुका भल्व फेरेका बिरामीको डेढ सयमै रगत परिक्षण हुन्छ। तर, काठमाडौं जाँदा, आउँदा, खाँदा र बस्दा कम्तीमा १०/१२ हजार खर्च हुन्छ,’ एनेस्थेसिय सहायक ढुंगानाले भने, ‘त्यस्ता बिरामीको जिल्लामै रगत परिक्षण गर्ने व्यवस्था भए आर्थिकरुपमा जिल्लाबासी लाभान्वित हुने देखिएकाले उपकरण जुटाएर सेवा सुरु गरिएको हो।’

जीवनभर रगत पातलो बनाउने वारफेरिन नामक औषधि सेवन गर्नुपर्ने मुटुका भल्व फेरेका बिरामीले हरेक महिना रगत परिक्षण गराउनु पर्छ। तर, जिल्ला अस्पतालमा सो सम्बन्धी रगत परिक्षण गर्ने उपकरण अभावमा मुटुका भल्व फेरेका बिरामी हरेक महिना धरान, बिराटनगर वा काठमाडौं पुग्न बाध्य छन्।

मुटुका भल्व फेरेका कतिपय बिरामी जिल्ला अस्पतालमा आउने गरेको र रगत परिक्षण सेवाका बारेमा सोधपुछ गर्ने गरेकाले जिल्ला अस्पतालकै डा.नारायण बरालसँगको पहलमा ब्रिटिस गोर्खा वेलफेयरलाई उपकरणका लागि आग्रह गरिएको ढुंगानाले बताए।

अस्पतालको आग्रहमा वेलफेयरले आफै उपकरण खरिद गरेर उपलव्ध गराएको हो। जिल्लाबाट मुटुका भल्व फेरेका करिब १५–२० जना बिरामी हरेक महिना काठमाडौं जाने गरेको अनुमान गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App