८ वैशाख २०८१ शनिबार
समाज

चक्रपथ विस्तारका लागि चार सय रुख काटिए

काठमाडौं – उपत्यकाको चक्रपथ विस्तारको क्रममा चार सय रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सडक क्लियरिन्स गर्न रुख काटिएको हो। सडक विभागले दसंै अगाडिबाट कलंकीबाट रुख काट्न सुरु गरेको थियो।

सरकारले चक्रपथ विस्तारका क्रममा पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म ८ लेन विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर ८ लेन विस्तार सुरु भउको छ। त्यसका लागि रुख काट्ने तथा बिजुलीको पोल हटाउने काम भइरहेको सडक विभागले जनाएको छ।

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले सडक क्लियरिन्सको लागि तीन महिना लाग्ने बताए। उनका अनुसार कलंकी, बालाजु र चप्पल कारखानाको रुख काटिएको छ। चक्रपथ विस्तारका लागि धोबीखोला पुलसम्म रुख काटिने उनले बताए। उनले काटिएका रुख तस्करी नभएको दाबी गरे। ‘काटेको रुख कसैले लगेका छैनन्,’ उनले भने, ‘हामीले गोठाटारमा लगेर स्टक गरेर राखेका छौँ। काठ चोरी हँुदैन। सुरक्षित ढंगले राखिन्छ।’

सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एक वटा अन्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गरिने छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले चक्रपथ विस्तारका लागि विद्युत पोल हटाउन समस्या भएको बताए। उनका अनुसार महाराजगञ्जबाट गोपीकृष्ण हलसम्म चक्रपथ विस्तारका लागि अहिले चप्पल कारखाना क्षेत्रमा रुख काट्न सुरु भएको छ।

सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले फागुनसम्ममा डिजाइनको काम हुने बताए। उनले भने, ‘चीन सरकारको सहयोगमा सडक विस्तार हुने भएकाले उनीहरू आएपछि सबै काम गर्छन्। त्यो समयसम्म रूख काट्ने, बिजुलीको पोल सार्ने लगायत काम लगभग सकिन्छ।’

कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारमा करिब ६ अर्ब लाग्ने उनको अनुमान छ। सडक विभागका अनुसार चक्रपथमा पर्ने बालाजुको नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अन्डरपास बनाउने गरी प्रस्ताव गरिने छ। ८ लेनको चक्रपथमा ओभरपास तथा अन्डरपास भने चार लेनको मात्रै हुने छ। सडक सुरक्षाको लागि मुल सडकको बीचमा डिभाइडर पनि राखिने छ।

‘चक्रपथको डिजाइन गरेर रुख काटेमा केही रुख बच्थे’

चक्रपथ विस्तारका लागि डिजाइन गरेर रुख काटेमा केही रुख बच्ने विज्ञले औँल्याएका छन्। वातावरणविद् भूषण तुलाधारले हरियाली चाहिने भएकाले सरकारले योजना अनुसार रुख कटान गरे अन्य रुख बच्न सक्ने बताए। उनले भने, ‘नक्सा, डिजाइनबिनै रुख काट्न थालिएको छ। डिजाइन गरेर रुख काटेमा केही रुख बच्ने सम्भावना बढी छ। सबै रुख काटेर क्लियरिन्स नै गर्नुपर्छ जस्तो लाग्दैन।’

उनले वातावरणीय रूपले पनि रूखको धेरै महत्व रहेको बताए। ‘फुटपाथका लागि पनि रुख चाहिन्छ,’ उनले भने, ‘सडक आसपास हुने रुखबाट २५ प्रतिशत वायुप्रदूषण रोक्न मद्दत गर्ने अध्ययनले देखाएको छ। भूमिगत पानीको पनि रिजर्ब गर्छ। त्यसैले रुख बचाउनुपर्छ।’
उनले बटुवा हिँड्नेका लागि पनि छहारी चाहिने बताए। चक्रपथ विस्तारका लागि बालाजु, कलंकी, चप्पल कारखाना सडकखण्डमा २ हजार ५७ वटा रुख काट्ने सरकारको योजना छ ।

प्रकाशित: २७ कार्तिक २०७६ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App