४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

२५२ औँ विजय उत्सवः सिन्धुलीगढीमा ऐतिहासिक युद्ध संग्रहालय बन्दै

सिन्धुली– यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमकाबीच युद्ध संग्रहालयको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेका छन्। नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने कार्य थालेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए। 

चार करोड पचास लाख रुपैयाँ बजेटमा युद्ध संग्रालय निर्माण हुने भएको हो। इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रहालय बनाउन लागेको हो। युद्ध संग्रहालयको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले इतिहास संरक्षण गर्न एकजुट हुनुपर्ने भन्दै सिन्धुलीगढीमा बन्ने युद्ध संग्रालयले ऐतिहासिक सिन्धुलीगढीको महत्व बढाउने विश्वास व्यक्त गरे। ‘नेपालीले गौरबका साथ इतिहासको बास्तविकता बुझ्नका लागि यसले मद्दत गर्नेछ’, उनले भने, ‘सिन्धुलीगढीमा युद्ध संग्रहालयमात्रै होइन ऐतिहासिक दरबार पनि छिट्टै बन्नेछ।’ 

उनले सिन्धुलीगढीको विकासका लागि नेपाल सरकारले कुनै कसरत बाँकी नराख्ने बताए। ‘नेपालको इतिहास र गौरब सम्झिँदा सिन्धुलीगढीलाई सम्झनुपर्छ’, उनले भने। नेपाल पत्रकार महासंघले २०६७ सालदेखि सुरु गरेको प्रत्येक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजय उत्सव मनाउने परम्परालाई स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि नगरपालिका आफैले निरन्तरता दिएको छ। सोही विजय उत्सवको अवसरमा रक्षामन्त्री पोखरेलले सिन्धुलीगढीको ठुलो गढीमा नेपालको राष्ट्रिय झन्डा फहराउनुका साथै युद्ध संग्रालयको शिल्यानास गरेका हुन्। 

युद्ध संग्रालयमा नेपालको रक्षा गर्न विरपुर्खाहरुले प्रयोग गरेका सम्पूर्ण सामग्री रहने सेनापति थापाले जानकारी दिए। ‘इतिहासको जगेर्ना गर्दै युवापुस्तालाई इतिहासको महत्व बुझाउनका लागि सिन्धुलीगढी र यहाँ बन्ने युद्धसंग्रालयले महत्वपूर्ण भुमिका खेल्नेछ’, उनले भने, ‘सिन्धुलीगढीको गुरुयोजना बनाउने काममा समेत सेनाको सहकार्य छ।’ सिन्धुलीगढीमा आवश्यकता अनुसार नै युद्धसंग्रहालय बनाउने निर्णय भएअनुसार काम थालनी भएको उनले बताए। 

प्रत्येक बर्ष कात्तिक २४ गते मनाइँदै आएको नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीको बिजय उत्सव यस बर्ष पनि निरन्तरता दिइएको थियो। विगतका बर्षमा कात्तिक २४ गते एक दिन मात्रै मनाइँदै आएकोमा यस बर्ष भने तीन दिन मनाइएको थियो। कात्तिक २२ र  २३ सिन्धुलीगढीमा नेपाली सेनाले कला प्रर्दशनी गरेको थियो भने आइतबार सिन्धुलीगढी परिसरमै भब्य कार्यक्रमको आयोजना गरि सिन्धुलीगढी विजय उत्सव मनाइएको हो। 

नेपाल एकीकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्ट इण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ। सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तर्राष्ट्रिस्तरमा चिनाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बर्षेनी सिन्धुलीगढी विजय उत्सव मनाइँदै आएको छ। 

सिन्धुलीगढीका अनुसन्धान तथा खोजकर्ताहरुका अनुसार हाम्रा वीर पुर्खाहरुको अदम्य साहस र वीरताका कारण नेपाल राष्ट्रको अस्तित्व राख्ने स्थान सिन्धुलीगढीनै हो। वि.स १८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको बताइन्छ। जतिबेला झण्डै एक हजार ६ सय अग्रेज सेनाहरु हताहत भएका थिए। अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो। वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौंमा ब्यापक लुटपाट गरी बनेपा हुँदै फकिर्दा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फकिर्एका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दावी गरेका छन् जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ।

प्रकाशित: २४ कार्तिक २०७६ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App