४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

देउसीभैलोबाट खेल मैदानका लागि ८ लाख ९५ हजार संकलन

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट झण्डै नौ लाख रकम संकलन गरिएको छ। १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने खेल मैदानको बाँकी काम पूरा गर्नका तिहारको अवसरमा काठमाडौंमा आयोजना गरिएको देउसीभैलीबाट ८ लाख ९५ हजार ८१४ रुपैयाँ रकम संकलन गरिएको हो। खेल मैदानको बाँकी काम पुरा गर्ने क्रममा आर्थिक अभाव भएपछि राजेन्द्र राईको अध्यक्षतामा गठित ७ सदस्यीय आर्थिक संकलन सहयोग समितिले काठमाडौं पुगेर कात्तिक ८ र ९ गते देउसीभैलीको आयोजना गरेको जनाएको छ। 

हाल उपत्यकामा बसेर व्यापार व्यवसाय, रोजगार लगायतका काम गरिरहेका खोटाङबासीको घर–घरमा पुगेर खेलमैदानको सहयोगार्थ देउसीभैली खेलेको समितिले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर आयव्याय सार्वजनिक गरेको हो। स्थानीयले निःशुल्क उपलब्ध गराएको १८ रोपनीभन्दा बढी जग्गामा निर्माणाधिन खेलमैदानका लागि आवश्यक रकम जुटाउन जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, लफ्याङका वडाध्यक्ष निर्मल राई लगायतको टोली तिहारको अवशर पारेर काठमाडौं पुगेका थिए। खेलमैदानको बाँकी काम पूरा गर्नका आर्थिक अभाव भएको भन्दै गत असोज ९ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई गुहार्न बिराटनगर पुगेको टोली पुनः देउसी खेल्न काठमाडौं पुगेको थियो। 

लफ्याङमा दर्शक बस्ने स्टेडियमसहितको खेलमैदान बनाउनका लागि हाल डिपिआरको काम भइरहेको छ। आरसिसी कन्सल्ट प्रालिले तीन महिनामा पूरा गर्नेगरी खेलमैदानको डिपिआरको काम थालेको वडाध्यक्ष राईले बताए। वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा गत जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ। खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआरको काम थालिएको वडाध्यक्ष राईले बताए। 

वडा कार्यालयको आग्रहमा स्थानीय जग्गादाता पञ्चसेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण सुरु गरिएको हो। यस्तै, बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन्। खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउने क्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्किँदै गरेको बारीमा खेलमैदान निर्माण सुरु गरिएको थियो। दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खेल मैदानबाट साकेला गाउँपालिकाका खेलाडी समेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दावी गरेको छ। 

निःशुल्क जग्गा उपलव्ध गराएकामा जग्गदाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामाकरण गरिएको हो। 

प्रकाशित: १८ कार्तिक २०७६ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App