२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महन्त जगन्नाथ बर्खास्त

काठमाडौं – पदीय आचरणविपरीत मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई पदबाट बर्खास्त गरेको छ।

गुठी संस्थाका प्रमुख प्रशासक नारायण चौधरीले बुधबारदेखि लागू हुने गरी लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथलाई पदमुक्त गरिएको बताए। ‘महन्त जगन्नाथले भ्रष्टाचार गरेको छानबिनमा देखिएपछि पदबाट हटाउने निर्णय गरेका हौं,’ चौधरीले भने, ‘पत्र बुझाउन बाँकी छ।’

नागरिक दैनिकले असार ३१ गते महन्त जगन्नाथले मठ–मन्दिरको जग्गा बिक्री गरेको समाचार छापेपछि संस्थानले उनलाई निलम्बन गरी छानबिन अघि बढाएको थियो। महन्त जगन्नाथले विभिन्न मठ–मन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको छानबिनमा भेटिएपछि उनलाई पदबाट हटाउन प्रमुख प्रशासक चौधरीले संस्थान सञ्चालक समितिमा प्रस्ताव लगेका थिए। समितिले अनुमति दिएपछि प्रशासक चौधरीले गुठी संस्थान ऐनअनुसार महन्त जगन्नाथलाई पदबाट हटाएका हुन्।

जगन्नाथ २०५४ सालमा लक्ष्मीनारायण मठ मटिहानीको महन्त नियुक्त भएका थिए। उनलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, पर्साका मठ–मन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको थियो। उनी रामानुज सम्प्रदायबाट महन्त भएका हुन्। धार्मिक संस्थामा अनियमितता गरेको छानबिनबाट पाइएपछि कारबाहीस्वरुप उनलाई पदबाट हटाइएको हो। पदबाट हटाएपछि उनले गर्दै आएको काम उनका चेलाले गर्नेछन्।

लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवले विभिन्न मठ–मन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको प्रमाण छानबिनबाट पाइएपछि गुठी संस्थानले उनलाई पदबाट हटाएको हो।

मान महन्त मठ–मन्दिरको शीर्षस्थ व्यक्ति हो। महन्तले मठ–मन्दिरको जमिन संरक्षण गर्ने दायित्व भए पनि धार्मिक परम्परा र मान्यताविपरीत उनी जग्गा अनियमिततामा संलग्न भए। मन्दिरका तत्कालीन गुरु कौशल किशोरको निधनपछि उनका चेला जगन्नाथलाई महन्त बनाइएको थियो।

महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको जमिन बिक्री गरेका हुन्। जगन्नाथले पछिल्लो पटक रुपन्देहीको सिद्धार्थ नगरपालिका–६ मा रहेको मठको जमिन बिक्री गरेपछि उनले गरेको अनियमितता बाहिर आएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गठन गरेको छानबिन समितिले सिद्धार्थनगर–६, भैयाटोलमा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को तीन कट्ठा पाँच धुर ६१ लाख रुपैयाँमा बिक्री गरेको सबुद प्रमाण भेटिएपछि संस्थानले उनलाई पदमुक्त गरेको हो। उनले उक्त जमिन सिद्धार्थनगर–१० का उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेलाई बिक्री गरेका थिए। उक्त जमिनको मूल्य करिब तीन करोड रुपैयाँ पर्ने भए पनि बिक्री मूल्य ६१ लाख देखाइएको छ।

महन्त जगन्नाथमाथि सिद्धार्थनगरको एक कित्ता र रुपन्देहीकै सियारी गाउँपालिका– ३ (साबिक हर्नैया गाविस– ९) को १० कित्ता गरी ११ कित्ता जमिन बिक्री गरेको आरोप उनलाई लागेको थियो। त्यसैगरी, जनकपुर उपमहानगरपालिका– ८ धनुषामा रहेको रामजानकी मन्दिरको करिब पाँच बिघा जग्गा पनि विभिन्न व्यक्तिलाई बिक्री गरेको आरोप उनीमाथि लागेको थियो। चौधरीले यसअघि वीरगन्जको सात बिघा जग्गा बिक्री गर्ने सूचना पाएपछि गुठी संस्थानले रोकेको थियो। ‘पटक–पटक विभिन्न ठाउँमा मन्दिरको जमिन आफ्नो नाममा ल्याएर बिक्री गरेको देखियो,’ प्रशासक चौधरीले भने, ‘संरक्षण गर्ने जिम्मेवारी पाएको व्यक्तिले नै बिक्री गरेपछि कारबाही ग-यौं।’

संस्थानले महन्त जगन्नाथको नाममा रहेको मठमन्दिरको जमिन मन्दिरका नाममा ल्याउने निर्णय यसअघि नै गरेको छ। संस्थानले महन्तको नाममा रुपन्देहीको सिआरी गाउँपालिका–३ (साबिक हर्नैया गाउँपालिका–१) मा रहेको करिब सात बिघा जमिन रामजानकी मठ गुठीको नाममा स्रेस्ता तथा पुर्जा कायम गर्ने निर्णय गरेको थियो। संस्थानले महन्त जगन्नाथसहित सोही गाविसमा स्वर्गीय मान महन्त कौशल किशोर दासको नाममा रहेको ११ बिघासहित करिब १८ बिघा जमिनको जग्गाधनी दर्ता स्रेस्ता मन्दिरको नाममा बनाउन मालपोत कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको छ। ‘महन्त जगन्नाथले आफ्नो नाममा दर्ता गरेको जमिन मन्दिरको नाममा ल्याउने निर्णय गरेका छौं,’ प्रमुख चौधरीले भने, ‘अन्य जिल्लामा पनि महन्तको नाममा भएको जमिन खोजी भइरहेको छ।’ गुठी संस्थानको पत्र अनुसार मन्दिरको नाममा जग्गाको स्रेस्ता बनाउने प्रक्रिया सुरु भएको मालपोत कार्यालय रुपन्देहीले जनाएको छ।

संस्थानले १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरी महन्त जगन्नाथका नाममा रहेको जमिन बिक्री गर्न रोक लगाएको छ। लक्ष्मीनारायण मठमटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रुपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासीमा जमिन रहेकाले ती सबै जिल्लाका मालपोत कार्यालयलाई संस्थानले पत्राचार गरेको हो।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App