९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

धराप कर्णाली सडक

जुम्लाको रारालिही खण्डमा सडकमा रोकिएका सवारीसाधन। तस्बिर : धनबहादुर/नागरिक

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका २ की सरस्वती खत्री हरेक तिहारमा घर आउँछिन्। उनी घर फर्कंदा मनमा कर्णाली राजमार्गको यात्रा सुरक्षित हुने हो कि असुरक्षित भन्ने चिन्ताले तर्साउँछ। कर्णाली सडकमा यात्रा गर्नु मृत्युसँग पौठेजोरी खेल्नुजस्तै लाग्छ उनलाई। ‘कर्णालीको साँघुरो सडकमा खचाखच यात्रुले भरिएका सवारीसाधन देख्दा मन झस्कन्छ। तर यात्रा नगरि सुख पनि छैन’, खत्रीले भनिन्। साँघुरो अनि पिच उप्किएर खाल्डैखाल्डा परेको सडकमा यात्रा गरेर घर फर्कंदा शरीर दुखेर हैरान हुन्छ। उनले भनिन्, ‘कर्णाली सडक सञ्चालनमा आएपछि देशमा शासन व्यवस्था बदलियो तर सुरक्षित रुपमा यात्रा गर्ने कर्णालीवासीको सपना पूरा भएन।

तिला गाउँपालिका ९ का दर्शन बुढा दसैंतिहारमा यात्रा निकै सकसपूर्ण हुने गरेको बताउँछन्। उनले समयमै घर फर्कने सोच बनाउँदा पनि पुग्न नसक्ने बताए। उनले भने, ‘कर्णाली सडक भरपर्दो छैन, सुरक्षित पनि छैन। यो यात्रा बाध्यताले गर्न विवश छन् कर्णालीवासी। राजमार्गमा चालकले निकै जोखिमपूर्वक गाडी चलाउँछन्। यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्छन्। बुढाले भने, ‘यात्रा प्रारम्भ भएदेखि नै कर्णालीवासीले देउताको भाकल गर्न थाल्छन्। जब गन्तव्यमा पुग्छन्, तबमात्र शान्तिको सास फेर्छन्।’

हवाई सेवा सर्वसाधारण नागरिकको पहुँचबाहिर छ। कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा हवाई सेवा छ। तर सर्वसाधारणमैत्री सेवा नहुँदा ज्यान जोखिममा पारेर भए पनि सडक यात्रा गर्नुको विकल्प छैन।

निरन्तर आधा घण्टा वर्षा भएमा कर्णाली सडकमा माथिबाट पहिरो आउन थाल्छ, खडेरी भएमा धुलोले हैरान पार्छ। पहिरो पन्छाउन राज्यले तदारुकता देखाउँदैन अनि यात्रु अलपत्र पर्छन्। ‘कसले सुन्ने कर्णालीवासीको गुनासो’, बुढाले सुस्केरा हाल्दै भने। सुर्खेतदेखि जुम्लासम्मको झन्डै २ सय ३६ किलोमिटर सडक खण्डमा यात्रा गरेर गन्तव्यमा पुग्दा मृत्युलाई जितेर फर्किएको महसुस हुने उनले बताए।

हवाई सेवा सर्वसाधारण नागरिकको पहुँचबाहिर छ। कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा हवाई सेवा छ। तर सर्वसाधारणमैत्री सेवा नहुँदा ज्यान जोखिममा पारेर भए पनि सडक यात्रा गर्नुको विकल्प छैन।

कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापा सडक बिग्रेका कारण गत दसैंको यात्रा निकै कष्टपूर्ण रहेको बताउँछन्। तिहारको यात्रा पनि जोखिमपूर्ण भएको उनी थप्छन्। उनले भने, ‘कर्णाली सडकको स्तरोन्नति नहुनु र कर्णालीमा सेवा दिइरहेका यातायातका साधन कम हुनुले पनि चाडपर्वको यात्रा निकै पीडामय बन्ने गर्छ। यो सडकमा यात्रु र यातायात व्यवसायीले बाध्यतावश यात्रा गरिरहेका छन्।’

पहिरो गइहालेमा तत्काल विकल्प छैन। पहिरो पन्छाउँदै गाडी चलाउँदै गर्नुपर्छ। राजमार्गमा बन्नुपर्ने पुल बनेका छैनन्। जोखिम सम्भावित क्षेत्रमा सरकारले डोजरसम्म राख्न सक्दैन। अध्यक्ष थापाले भने, ‘सडक दुई लेनको नबन्दासम्म सवारी सकस यथावत् रहने निश्चित छ।’

हाल कर्णाली राजमार्गमा १५ वटा यातायात समितिले सेवा दिइरहेका छन्। तर त्यो समेत अपुग देखिन्छ। ‘यात्रुको घुइँचो छ। नेपालगन्ज र काठमाडौंमा टिकट नपाएर यात्रु बिचल्लीमा पर्छन्। गाडी तत्काल थप्न सकिने अवस्था छैन। यात्रु ठगिने सम्भावना बढ्दो छ’, थापाले भने, ‘टिकट बनाइदिने नाममा दलालले ठग्ने गरेका छन्।’

उनका अनुसार काठमाडौबाट दैनिक पाँचवटा बस छुटाउनु आवश्यक छ। अहिले एउटामात्र बस छुट्छ। एउटा बस थप्ने तयारी कर्णाली यातायात प्रालिले थालेको छ। नेपालगन्जबाट सानाठूला गरेर पाँचवटा गाडी जुम्लाका लागि छुट्छन्। सुर्खेतबाट २० वटा सवारीसाधन छुटेको खण्डमा कर्णालीको यात्रा सहज हुने कर्णाली यातायात प्रालिले जनाएको छ।

डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख सवर्णकुमार महतारा बाह्रै महिना चौबीसै घण्टा सडक खुलाउने अभ्यास भइरहेको बताउँछन्। उनका अनुुसार दैलेख–कालिकोट सिमानमा पर्ने दैखोलादेखि कालिकोट पिलीसम्मको सडकका लागि हुल्म बजारमा एउटा डोेजर राखिएको छ। त्यो डोजरले सडक सफा गर्नेदेखि तत्काल पहिरो पन्छाउने गर्छ। पिलीदेखि जुम्ला खलंगा र मुगु गमगढीसम्मको सडक सुधारका लागि नाग्मगाडमा डोजर तयारी अवस्थामा छ। अहिले दुवै मेसिन चालु अवस्थामा रहेको महतारा बताउँछन्।

कर्णाली राजमार्गको गगने खोला, कालेखोला, सुनार खोला, पिली, खल्लागाड, टाकुल्ला खण्ड निकै जोखिमपूर्ण मानिन्छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटले सवारी चालक र यात्रुलाई लक्षित गरी जिरो प्वाइन्टमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। क्षमताभन्दा बढी यात्रु नराख्न, ट्राफिक नियम लागु गर्न र सुरक्षित तबरले गाडी चलाउन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App