३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटकलाई अर्गानिक मार्सी चामलको भात

जुम्ला– जुम्ला कनकासुन्दरी गाउँपालिका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमिको दाल। अनि अर्कोमा तरकारी र कचौँरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर त्यो मेलापर्वको खान्की थिएन्। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

उनले भने, ‘यहाँ पर्यटकको रोजाइको खाना पाउँछ। उनीहरु अर्गानिक खान्की खोज्छन्। जतिसक्दो नयाँ स्वाद चख्याउन चाहान्छौँ।’ धुलाम्मे सडकमा कठिन यात्रा गरेर कनकासुन्दरीको गोठिज्युलामा पुगेका पर्यटकलाई अर्गानिक खान्कीको स्वादले निकै आराम अनुभुति दिने गरेको छ। फापरको लगर, मकैको ढिडो, कोदाको रोटी र खुर्सानीको रातो नुन। सिँजा क्षेत्रको परिचित खान्की हुन्। सर्जन भन्छन्, ‘सिँजा अन्नको भण्डार हो। हालसम्म यहाँको उत्पादनले पर्यटकको रोजाइ पुरा गर्दै आइरहेको छ। किसान पनि अर्गानिक खेतिका लागि हौसिएका छन्। आन्तरिक तथा बाह्य पर्यटकका लागि यहाँको खान्की आकर्षणको केन्द्र हो।’ नाग्म गमगडि सडक हुँदै दिनहु न्युनतम पाँच सय पर्यटक ओहोरदोहोर गर्छन्। उनीहरु चाहन्छन्, ‘आरामदायी यात्रा, मिठो खान्की, आकर्षण ठाउँको दृश्य, स्थानीय दिपेन्द्र उपाध्याय भन्छन्,’‘आरामदायी यात्रा बाहेक सबैको अनुभुति गर्छन्। साघँुरो सडक खाल्डाखुल्डीको यात्रा र धुलोले निकै सास्ती भएको अनुभव सुनाउँछन्।

सरकार पर्यटकको कुरा सुन्न तयार छैन्। पर्यटक सडकका कारण कर्णालीमा आउन समस्या दर्शाइरहेका छन्। स्थानीय गत बर्ष भन्दा यो वर्ष पर्यटकको कम ओहोरदोहोर भइरहेको बताउँछन्। सडकको कठिन यात्रा हो या अन्य कारण, उनले भने, ‘पर्यटकको आगमन घटिरहेको छ।’ पर्यटकले आफुले खोजेको खान्की पाउन भन्ने हेतुले कनकासुन्दरी गाउँपालिकाले पनि पर्यटनमैत्री व्यवहार गर्न स्थानीय र व्यवसायीलाई पटक पटक आग्रह गर्दै आइरहेको छ। स्थानीय उत्पादनमा जोड दिन र पर्यटकको हितमा कार्यगर्न छलफल गरिरहेको छ। गाउँपालिका अध्यक्ष नरविर रावत भन्छन्,‘ यहाँ सिँजा राज्यको खोजतलास गर्न र रिति संस्कृति चालचलन बुझ्नसमेत पर्यटक आउने गर्छन्।’ बाटोमा जुम्ली स्याउ राखिएका छन्। होटलमा चाहे अनुसारको खान्की पाउँदै आएको छ।

यहाँका व्यवसायी पर्यटकको खानाको विषयमा जानकार भइरहेका छन्। पछिल्लो समयमा सरसफाइ पनि प्रायप्त भएको भेटिएको छ। विहान गोठिज्युला पुगेका पर्यटक दिउँसोको खाना रारामै खान्छन्। अहिले गोठिज्युला बजारमा रहेका दुइ दर्जन बढि होटलमा अर्गानिक खान्की पाक्छ। स्थानीय दिपेन्द्र उपाध्याय प्रतिकेजी धान एक सय ४० रुपैयाँमा किनेर होटल व्यवसाय चलिरहेको् बताउँछन्। स्थानीय उत्पादनको माग बढ्दा किसान पनि स्थानीय अन्न फलाउन तिर लागेका छन्।

कर्णाली प्रदेश सरकारले छनौट गरेका ४० पर्यटकीय गन्तब्यभित्र सिजा सभ्यता पनि पर्छ। वाणगंगा,गरुडनुहानी,गुप्तपोखरी, देउल दत्तरा गुफा, पाण्डवगुफा र विराट दरवार छन्। हिउँदमा निकै धुलो र हिउँदमा निकै हिलो हुनाले आवतजावतमा समस्या छ। स्थानीय स्याउ, सिमि, आलु, फापर, चिनो, कागुनो, मकै र केराउ सबै यो क्षेत्रमा फल्छ। सडक जोडिएसँगै अल्छी बन्न थालेका यहाँका स्थानीय पर्यटकको माग तिब्र बनेपछि खेतिपातीमा लागेका छन्। सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी तीन वटै स्थानीय तहमा मार्सिधान फल्छ। स्याउ, नास्पति, आरु, ओखर फल्छ। पर्यटकले नासोको रुपमा स्थानीय उत्पादन लैजाने गरेका छन्। यो समयमा यहाँका होटल पर्यटकले भरिभराउँछन्। न्युनतम ५० देखि एक सयसम्म सवारी साधनको आवागमन हुने गरेको छ।

जुम्ला सदरमुकाम खलंगाका होटलमा पनि पर्यटकले रोजेको खानेकुरा खान पाइन्छ। पर्यटकले मिठो मानिर अर्गानिक खाने कुराको स्वाद लिनेगर्छन्। फेरी फर्केर आउने बाचासहित प्रस्थान गर्छन्। कर्णाली प्रदेश सरकारले पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ४० वटा पर्यटकीय क्षेत्रलाई गन्तब्यका रुपमा सुचिकृत गरेको छ। त्यो भएर पनि रारा घुम्न पर्यटक आउँछन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App