१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन

राजधानीको बागदरबार अगाडि भाँचिएको बिरुवा । तस्बिर: मोनिका मल्ल/नागरिक

काठमाडौं - गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिए। काठमाडौं महानगरपालिका र नेपाली सेनाले विष्णुमति करिडोर, बागदरबार, त्रिपुरेश्वर, आर्मी ब्यारेक, स्वयम्भू आसपासका क्षेत्रमा वृक्षारोपण गरेको थियो।

वृक्षरोपणले महानगरको हरियाली प्रवद्र्धनसँगै फुटपाथको अतिक्रमण रोक्न टेवा पुग्ने जनाइएको थियो। तर, बिरुवाको संरक्षण हुन सकेन। रोपिएका बिरुवामध्ये कति सुकेका छन् भने कति उखेलेर फ्याकिएको अवस्थामा छन्।

वृक्षरोपण गरेको एक महिना बित्दा पनि अहिलेसम्म बिरुवा ढाक्न ट्रिगार्ड (बिरुवा छोप्ने सामग्री) राखिएको छैन।
सुन्धाराको आकाशे पुलदेखि बागदबार गेटसम्म रोपिएका ३५ बिरुवामध्ये १० भाँचिएका छन्। त्यसैगरी, त्रिपुरेश्वरबाट बागदरबार गेटसम्म ६ बिरुवा सुकेका छन्।

महानगरपालिकाले बिरुवा संरक्षणमा ध्यान नपु¥याउँदा बिरुवा सुकेको स्थानीय बताउँछन्। सुन्धारामा भेटिएका सुमन कार्कीले उपत्यकामा बिरुवा रोपिए पनि संरक्षणमा सरकारी निकायको ध्यान जान नसकेको बताए। ‘महानगरपालिका हरियाली बनाउन बिरुवा रोपिए। तर, संरक्षण भएन,’ उनले भने, ‘संरक्षण नगर्ने हो भने किन बिरुवा रोप्नु प¥यो ?’ उनले महानगरले गरेको वृक्षरोपण बजेट सकाउने मेसो मात्रै भएको बताए। बिरुवालाई ट्रिगार्डले छोपे संरक्षण हुने उनको भनाइ छ।

यसअघि नबिल बैंक, चौधरी ग्रुप लगायत संस्थाले महानगरसँग साझोदारी गरी रत्नपार्क, बबरमहललगायत क्षेत्रमा वृक्षरोपण गरेको थियो। ती बिरुवाको अवस्था पनि उस्तै छ। कतिपय बिरुवामा अझै पनि ट्रिगार्ड राखिएको छैन।वनस्पति विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न संघसंस्थालाई वार्षिक ५ लाख रूपैयाँसम्म बोटबिरुवा वितरण गर्ने गरेको छ।

वनस्पति विभागका उपमहानिर्देशक मोहनदेव जोशीले महानगरपालिकासँग समन्वय गरेर करवीर लगायतका बिरुवा वृक्षरोपण गरेको बताए। उनका अनुसार टोनिय, सहरी क्षेत्रका लागि उपयुक्त हुने बिरुवा र जडीबुटी गरी तीन प्रकारका बोटबिरुवा छन्। ‘कलंकी, कोटेश्वर क्षेत्रमा हामीले महानगरपालिकासँग साझेदारी गरेर रोपेका बिरुवामा पानी हाल्ने, गोड्ने काम गर्दै आएका छौँ,’ उनले भने, ‘संरक्षणका गर्न सर्वसाधारणका लागि माइकिङ गरेर चेतना दिएका छौँ।’

उनले दुई वर्ष भित्रमा धेरै बिरुवा बाहिर निकाल्ने बताए।काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले रोपिएको विरुवा संरक्षणका लागि छिट्टै ट्रिगार्ड राख्ने बताए। ‘सबै बटुवाले रोपिएको बिरुवा भाँचिदिएकाले संरक्षण गर्न गाह्रो भएको छ,’ उनले भने, ‘एक–दुई दिनमा हामी ट्रिगार्ड हाल्छौैँ। पानी पनि हाल्दै आएका छौँ।’

उनका अनुसार महानगरपालिकाले बोटविरुवा रोपेपछि सबै लागि हरियाली बनाउने हो। तर,सडकका पेटीमा ओहोरदोहोर गर्ने पैदल यात्रुले नै रोपेको विरुवा भाच्ने गरेका छन्। उनले भने, ‘बिरुवा रोपेपछि हाम्रो लागि होइन, सबैको लागि हो। चेतनशील भएर यसरी बिरुवा भाँच्नु भएन नि !’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले तीनकुने पार्कमा रोपिएका बिरुवा र फूलमा पनि मलजल गरिरहेको बताए। उनले भने, ‘सजाउन माटोको ढिस्को हाली बनाएको तीनकुने पार्कमा दैनिक रूपमा स्याहारसुसार गरिरहेका छौं। दुबो चोरी भएपछि सुरक्षाकर्मीको व्यवस्था पनि गरेका छौँ।’

तीनकुनेमा अहिलेसम्म मुआब्जाको विवाद कायमै छ। ललितपुर महानगरपालिका–५ क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण हुन सकेको छैन। केही समयअघि कुमारी क्लबलगायत संघसंस्थाको सहयोगमा पाटन, जावलाखेललगायत क्षेत्रमा करिब चार सय बिरुवा रोपिएका थिए।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महानगरलाई हरियाली बनाउन वृक्षरोपण गरिएको वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ बताउँछन्। महानगरले सडक हरियाली बनाउन २३ लाख रूपैयाँ बजेटसमेत छुट्याएको उनले जानकारी दिए। उनले रोपिएका बिरुवाका संरक्षण गरिने उनको भनाइ छ।

प्रकाशित: ५ कार्तिक २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App