१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा १९ करोड लागतमा नमूना बसपार्क

निर्माण कार्य थाल्ने तयारीमा रहेको त्रियुगा बसपार्कको थ्रिडी तस्विर ।

उदयपुर– उदयपुर सदरमुकाम गाईघाटमा एक नम्बर प्रदेशकै अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक र सुविधासम्पन्न नमूना बसपार्क बन्ने भएको छ। त्रियुगा नगरपालिका १२ मा सञ्चालित साविक बसपार्कलाई नै स्तरोन्नती गरी चालु आर्थिक वर्षमै थाल्ने तयारी भएको बसपार्क प्रदेशकै नमूना बसपार्क हुने सघन सहरी विकास तथा भवन निर्माण डिभिजन राजविराजले जनाएको छ। 

बसपार्क निर्माणका लागि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीकोसमेत टुंगो लगाई सकेको डिभिजन प्रमुख (डिई) रमेश थिङले बताएका छन्। उनका अनुसार तिहारलगत्तै निर्माण सुरु हुने बसपार्क अत्याधुनिक, सुविधासम्पन्न, यातायात व्यवसायीमैत्री र यात्रुमैत्री हुने प्राविधिक इस्टिमेट छ। ५ बिगाहा क्षेत्रफल जमिनमा बन्ने बसपार्क अन्तर्राष्ट्रियस्तरको मापदण्डको हुने डिई थिङले बताएका छन्। 

गाईघाट–कदमाहा सडकखण्डसँग जोडिएको बसपार्कमा गाडीहरु पूर्वी नाकाको उत्तर–दक्षिण द्वारबाट प्रवेश र बहिर्गमन हुनेछन्। गाडी पार्किङका लागि कालोपत्रेसहितको दायाँ–बायाँ फुलबारीयुक्त फराकिला ‘पार्किङ लट’ बनाइनेछ जसमा ‘फलामे सेड’ हालिनेछ। भित्रि सडकहरु सबैतिर फुलबारीयुक्त र कालोपत्रे हुनेछन्। बसपार्क भित्रिएका, पार्किङ गरिएका र बाहिरिएका हरेक गाडीको अभिलेख राख्न, नियन्त्रण गर्न र परिचालनको निगरानी गर्न बसपार्कबीचमा सुविधायुक्त कार्यालय भवन (टर्मिनल बिल्डिङ) बनाइनेछ। जसमा बुकिङ काउन्टर, बस छुट्ने तथा आइपुग्ने समयबारे यात्रुलाई जानकारी गराउन माईकिङसहितको ध्वनी बडापत्र सेवा सञ्चालन गरिनेछ। 

बसपार्कमा आउने यात्रुलाई गाडी पर्खन व्यवस्थित र फुलबारीयुक्त यात्रु प्रतिक्षालय (वेटिङ सेड) निर्माण गरिनेछ भने यातायात व्यवसायी र यात्रुलाई समय थाहा दिने समयसूचक घण्टाघर (क्लक टावर) बनाइने छ। घण्टाघर १४ मिटर अग्लो हुने डिई थिङले बताएका छन्। गाडी बिग्रेमा तत्काल मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) पनि बसपार्कभित्रै निर्माण गरिने छ। यात्रुलाई सुविधा दिन खाजा घर र उपभोग्य सामानका ‘सपिङ कवल’ हरु पनि बसपार्कभित्रै निर्माण गरिने छ। 

दुईतिर महिला–पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय बन्ने बसपार्कमा अवैधानिक गतिबिधि हुन नदिन र सुरक्षार्थ प्रहरी बिट स्थापना गरिनेछ। अनावश्यक हुलहुज्जत, पाकेटमारी, चोरी, डकैती र अवाञ्छित क्रियाकलापबाट मुक्त राख्न बसपार्कभरी क्लोज सर्किट (सिसी क्यामेरा) जडान गरिने छ, जसको नियन्त्रण कक्ष टर्मिनल भवन र प्रहरी बिटमा राखिने छ। त्रियुगा नदी किनारको नदी उकास जमिनमा बन्ने बसपार्कको दक्षिणतर्फ तटबन्धसँगै आकर्षक फुलबारी बनाइनेछ।

ग्त वर्षदेखि नै काम थाल्नेगरी प्राविधिक इस्टीमेट तयार गरिए पनि ठेक्का प्रक्रियामा ढिलाई भएर चालु आर्थिक वर्षदेखि काम सुरु गर्न लागिएको डिई थिङले बताए। उनका अनुसार कूल लागत २४ करोडमध्ये बसपार्कको संरचना निर्माणमा मात्र मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख खर्च हुने प्राविधिक इस्टीमेट बनेको थियो। तर, झण्डै ५० प्रतिशत कम मूल्य १२ करोड ६१ लाख रुपैंयामा रमण÷आईएसएनडी जेवीले निर्माणको जिम्मा लिएको डिभिजनले जनाएको छ। 

डिई थिङले निर्माण कम्पनीबीचको प्रतिस्पर्धामा झण्डै आधा मूल्यमा बनाउने टेण्डर परेपछि नियमानुसार त्यही छनौटमा परेको बताए। ‘हामीले प्रदेशकै नमूना र व्यवस्थित बसपार्क बनाउने गरी बनाएको इस्टीमेटमा भ्याटबाहेक १९ करोड २५ लाखको संरचना निर्माण गर्ने भन्ने थियो’ डिई थिङले भने ‘तर, निर्माण कम्पनीहरुबीचको प्रतिस्पर्धामा सबभन्दा कम मूल्य १२ करोड ६१ लाखमा काम सक्छु भन्ने कम्पनीलाई नियमानुसार कामको जिम्मा दिइएको हो।’

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बन्न लागेको बसपार्कले यात्रुलाई सुविधासँगै गाईघाटलाई ‘स्मार्ट सिटी’ बन्न मद्धत गर्ने बताए। गाईघाट बजार सहरी विकास मन्त्रालयद्वारा दुईवर्षअघि घोषित देशभरका २५ व्यवस्थित सहर (स्मार्ट सिटी) मध्ये एक भएको बताउँदै उनले डिभिजनले त्रियुगामा ‘एक सहर एक पहिचान कार्यक्रम’ अन्तरगत ७५ करोड लगानीमा गतवर्षदेखि बिभिन्न संरचनाको निर्माण कार्य थालेको बताए। 

‘यो बसपार्क त्रियुगालाई सभ्य र व्यवस्थित सहरको पहिचान दिलाउने प्रमुख प्रोजेक्ट हो’ प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ, ‘सहरको मुख्य चिनारीमध्ये बसपार्क प्रमुख हो, त्यसैले यो अत्याधुनिक बसपार्कले हामी र हाम्रो परिचय बदल्ने अपेक्षा गरेका छौं।’ सहरी विकास मन्त्रालयले एक सहर एक पहिचान कार्यक्रमबाट गाईघाटलाई नमूना सहर बनाउने अभियानमा नगरपालिकाले समन्वय गरिरहेको भन्दै थापाले उदयपुरलाई प्रदेशकै नमूना र सभ्य जिल्लाको पहिचान बनाउन बसपार्क सहयोगसिद्ध विश्वास गरेका छन्। 

प्रकाशित: ४ कार्तिक २०७६ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App