काठमाडौं – काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्षअघिको भूकम्पका कारण पूर्ण रूपमा क्षति भयो। भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो। त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले। भूकम्पको चार वर्ष बित्यो तर अझै मन्दिर बन्ने नबन्ने निश्चित छैन।
मन्दिरको रेखदेख गर्ने जिम्मेवारी पाएको गुठी संस्थान जिल्ला शाखा काठमाडौंका निमित्त कार्यालय प्रमुख नारायणभक्त श्रेष्ठ पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र संस्थानका बीच पुनर्निर्माणबारे त्रिपक्षीय कुराकानी भइरहेको बताए। शाखाको भवन नै भूकम्पले क्षतिग्रस्त भएपछि बजेटको अभावमा बनाउन नसकिएको पनि उनले बताए। महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार विभागले नै मन्दिर पुनर्निर्माण गर्ने गरी कुराकानी भइरहेको सुनाए। मन्दिर पुनर्निर्माण गरिदिने दाता आउँदा विभागले नक्साको डिजाइन नगरेकाले काम हुन नसकेको उनको भनाइ छ। नक्सा डिजाइन नै नभएपछि दाता फर्किएको उनले बताए।
१९४० सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मन्दिर निर्माण गराउनुभएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ। जंगबहादुरले बझाङी राजाकी छोरी ल्याएपछि दरबारमा रानीहरूले भिœयाउन दिएनन्। त्यसपछि बाग्मती नदी किनारमा गोपाल मन्दिर निर्माण गरी पुजारीका रूपमा उनलाई राखिएको इतिहास रहेको पुजारी केदारनाथ पौडेलले बताए। ती रानीले जीवनकालभर मन्दिरको पूजाआजा चलाइन्। उनले अन्तिम समयमा ‘अबदेखि कुनै महिला यो मन्दिरमा नछिर्नू, छिरे राम्रो हुँदैन’ भनी श्राप दिएपछि ब्राह्मण पुजारीको व्यवस्था गरिएको हो। त्यसपछि हालसम्म पनि महिला यो मन्दिरमा छिरेका छैनन्।
मन्दिरको पूजा खर्च चलाउन नुवाकोट, धादिङ, भक्तपुर र ललितपुरमा गरी करिब ६० रोपनी जग्गा गुठीका रूपमा राखिएको थियो। त्यहाँबाट आउने धान राख्न मन्दिरको पूर्वी भागमा गोदाम पनि निर्माण गरिएको छ। भूकम्पले सो गोदाममा पनि क्षति गरेको छ। यो भवन पुनर्निर्माणको पनि टुंगो छैन।
गुठी जग्गाबाट धानको सट्टा पैसा आउन थालेपछि १० वर्ष अघिदेखि धान गोदामलाई पुजारी पौडेलको आवासगृह बनाइएको थियो। भूकम्पले क्षति गरेपछि पुजारी पौडेललाई अर्को भवनमा सारिएको छ। पुजारीलाई पहिले वार्षिक ११ मुरी धान दिने गरिएकामा हाल एक मुरी धानबराबर एक हजार पाँच सय पारिश्रमिक दिइन्छ। मन्दिरको पश्चिम दक्षिण भागको सत्तल भने २०४२ सालदेखि नै नेपाल अन्धा कल्याण संघ नामको सामाजिक संस्थालाई दिइएको छ। यो भवनमा हाल नेपालकै पहिलो ब्रेल पुस्तकालय सञ्चालनमा छ। पुस्तकालयमा १८ हजार दृष्टिविहीनले अध्ययन गर्न सक्ने ब्रेल माध्यमका पुस्तक राखिएको कार्यक्रम अधिकृत फौज कार्कीले बताए।
यो सत्तल जीर्ण भएपछि संघले विभागको स्वीकृति लिएर अत्याधुनिक भवन बनाएको पनि उनले जानकारी दिए। २०७२ पछि संस्थाको नाम परिवर्तन गरी नेपाल दृष्टिविहीन संघ बनाइएको छ। हाल १५ जिल्लाका दृष्टिविहीनका लागि ब्रेल माध्यमका पुस्तक उपलब्ध गराउनेलगायत कार्यक्रम चलाइएको पनि कार्कीले बताए।
प्रकाशित: ३० आश्विन २०७६ ०२:२९ बिहीबार