८ वैशाख २०८१ शनिबार
समाज

सांसद साहले गरे विमानस्थलमा तोडफोड

मिथिलेश यादव/लहान, मीनराज भण्डारी/काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।

जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरको ५१० एटिआर ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए। ‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला उडान हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’ उनले सांसदको त्यस्तो व्यवहारले आफूहरू चकित भएको प्रतिक्रिया दिए। ‘शान्त पार्न खोज्दा विशिष्ट कक्षको टेबलको सिसा पनि फुटाउनुभयो,’ उनले भने।

नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्द भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको र उडानमा ढिलाइ भएको बताउँदै सिंहले सांसदजस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद भएको उल्लेख गरे। उक्त तोडफोडबाट जनकपुरस्थित विमास्थलमा रहेको बुद्ध एयरको काउन्टर, कम्प्युटर तथा भिआइपी कक्षमा केही सिसा फुटेको जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले जानकारी गराए।

आइतबार चिनियाँ राष्ट्रपति सी चिङफिङको स्वदेश फिर्ताको समयमा जनकपुरको उडान तालिका रद्द गरेको कम्पनीले सोमबार मात्र उडान भरेको जनाइएको छ। सांसदले गरेको तोडफोडबारे बुद्व एयरले सोमबारको चापका कारण र दसैंपछि कम्पनीले थप विमान उडान सेवा थप गरेका कारण काठमाडौंबाट जनकपुरका लागि विमान उड्न केही ढिलाइ भएको स्विकारे।

घटनाबारे स्पष्ट पार्दै कम्पनीका बजार प्रबन्धक तथा सहायक प्रवक्ता रूपेश जोशीले आइतबार उडान भर्न नसकेकोे ७२ सिट क्षमताको ५०६ एटिआर विमान सोमबार पनि निश्चित समयमा उड्न नसकेपछि सांसदले तोडफोड गरेको बताए। ‘विमानस्थलमा रहेका कम्पनी कर्मचारीमाथि सांसदले अभद्र व्यवहार देखाउँदै तोडफोड गरेको रहेछन्,’ उनले भने, ‘विमानस्थलमा केहीबेर स्थिति तनावग्रस्त बनेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सांसद साहलाई सम्झाइबुझाइ गरी उडान भयो।’ प्रजिअले सम्झाएपछि सांसद साहले गल्ती स्विकारेको र बोर्डिङ पास गराई उनलाई उडाएका उनले बताए। साह सर्लाही–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

विमानस्थलको रनवेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहोर र बिरामी यात्रुबारे विमानस्थलका कर्मचारी र एयरलाइन्सलाई जानकारी गराउँदा बेवास्ता गरेपछि रिस थाम्न नसकेर काउन्टरमा हानेको सांसद साहले स्विकारे। मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं जान लागेका जनकपुरका सौखीलाल चौधरीको स्थितिबारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले बेवास्ता गरेपछि रिस उठेको र त्यस्तो घटना भएको सांसद साहले बताए।

तीन घण्टासम्म विमान उड्न ढिलाइ हुँदा बिरामीलाई खानेपानीसमेत उपलब्ध नगराएको र पटकपटक विमानबारे जानकारी माग्दा बेवास्ता गरेको साहले दाबी गरे। ‘विमान आएपछि रन वेबाट चौपाया धपाउँछ,’ उनले भने, ‘विशिष्ट कक्षको टेबलमा जथाभाबी फोहोरबारे जानकारी गराउँदा पनि वास्ता नभएपछि आक्रोश बढेको हो। ’

विमान ढिलो हुँदा बिरामीको अवस्था बिग्रिन थालेपछि एयरलाइन्सले पानीसमेत उपलब्ध नगराएको सांसद साहको भनाइ छ। तर सिंहले बिरामीबारे सांसदलाई कुनै जानकारी नभएको जिकिर गरे। ‘बिरामीलाई हामीले आकस्मिक टिम उपलब्ध गराएर केयर गरेर राखेका थियौं,’ उनले भने, ‘उहाँले कुनै प्रतिक्रिया जनाउनुभएको थिएन।’ सांसद साहले अभद्र, अमर्यादित कार्य गरेको सिंहको भनाइ छ।

प्रकाशित: २८ आश्विन २०७६ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App