दमक - मानबहादुर खालिङ २१ वर्ष भुटानको जेलमा बसे। सन् १९९६ मा भुटानको जेलमा बसेका उनी २०१६ मा परिवारलाई भेट्न नेपाल आएनले कान्छो छोराबाहेक अरूलाई भेट्न पाएनन्। डेढ महिना छोरासँगै बसेर उनलाई पनि अमेरिका बिदाइ गरे। त्यसपछि उनी भुटानी शरणार्थी शिविरको माथ्लो भेगमा रहेको किरात माङहिम मन्दिर रेखदेख गरिरहेका छन्।
सुरुमा त परिवार भेट्ने आसले नै भुटानदेखि यहाँसम्म आए, उनले सम्झिए, तर परिवारका सबै तेस्रो मुलुक पुनर्वास भइसकेछन्। अब भुटान नै फर्कने कि नेपालमै बस्ने दोधारमा छन्, मानबहादुर।
आमा, बहिनी, दाजु, भाइ भने नेदरल्यान्डमा छन्। उनकी पत्नी, तीन छोराहरू भने अमेरिकामा छन्। राजनीतिक कारणले उनलाई भुटानमा थुनिएको रहेछ। नेपाली भाषीप्रति गरिएको दमनको प्रतिरोध गर्दा उनीविरुद्ध वारेन्ट जारी भएर पक्राउ परेका रहेछन्।
यतिबेला उनलाई परिवारसँगै बाँकी जिन्दगी बिताउन मन छ। तर त्यसका लागि आवश्यक शरणार्थी परिचय–पत्र उनीसँग छैन। ‘न म अमेरिका छोरा, पत्नी भेट्न जान सक्छु, न म नेदरल्यान्ड आमासँग जान सक्छु,’ उनले भने, ‘अब शरणार्थी भन्ने आधारै छैन, यही शिविर रुँग्न दिएको केही पैसाले जीविका चलाउँछु।’
२७ वर्ष भुटानी शरणार्थी शिविरमा बसेका पूर्णबहादुर लिम्बूले धेरै दुःख भोगे। कान्छी पत्नीको मृत्यु भएको तीन वर्ष बित्यो। अरू रहेका आफन्त पनि भुटानमै छन्। उमेरले ८६ पुगे। सकी नसकी भान्साको काम गर्छन्। अशक्त–असहायका लागि दिइने नगदबाट रासन (खाद्यान्न) किन्न लगाउँछन्। आएको एक हजार पाँच सयमध्ये त ढुवानी गर्न नै चार सय रुपैयाँ सकिन्छ। बाँकी रहेको पैसाले ओखती खान्छन्, लुगा लगाउँछन्।
२६ वर्षपछि १४ वर्षको उमेरमा अन्माएकी कान्छी छोरीकी छोरी (नातिनी) उनलाई भेट्न आइन्। ‘भुटान लगिहाले जान्छु, छोराछोरी उतै छन्,’ उनले भने, ‘उता पुगे कम्तीमा सन्तानको अनुहार देख्न पाउँछु।’ अमेरिका पुनर्वास हुन उनलाई पटक्कै मन लागेन। पत्नीको मृत्यु हुँदा पनि उनका सन्तान भुटानबाट आउन पाएनन्। दुःखको जिन्दगी जेनतेन चलाउँदै गरेका उनले भने, ‘उनीभन्दा अगाडि मर्न पाएको भए यस्तो दुःख त भोग्नुपर्ने थिएन। थलिएको तीन वर्षपछि उनकी पत्नी सधैँका लागि छाडेर गइन्।
अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएमले सन् २०१७ को नोभेम्बर १५ बाट पुनर्वासका सबै प्रक्रिया रोकेको छ। पुनर्वास रोकिएपछि अन्योल भने उस्तै छ। तेस्रो मुलुक पुनर्वासमा अयोग्य ठहरिएका, स्वदेश फिर्तीको आसामा बसेका शरणार्थीहरू अहिले छाप्रामा छन्। दमकको बेलडाँगी शरणार्थी शिविरका सचिव कृष्ण लिम्बूले तेस्रो मुलुक पुनर्वासको प्रक्रिया रोकिएपछि अन्योलता छाएको बताउँछन्। ‘शरणार्थीको मुख्य माग स्वदेश फिर्ती नै हो, अहिले पुनर्वास भएपछि त पारिवारिक विखण्डनमा परेका शरणार्थीहरू बढी छन्,’ उनले भन्, ‘प्रक्रिया बन्द भएपछिको अन्योल अझै धेरै छ।’
शिविरभित्रको सकस
सचिव लिम्बूका अनुसार भुटानीलाई दाता निकायले दिँदै आएको रासन सबै रोकिएको छ। ‘रासन रोकिएसँगै शिविरभित्र खान नपाउने शरणार्थीको संख्या उच्च छ,’ उनले सुनाए, ‘धेरै त हामीले मागेर पनि भरथेग गरिदिएका छौं, हामी आफैं शरणार्थी, सधैं त त्यसरी दिन सक्दैनौं। खाद्यान्न दिन छाडेपछि शिविरमा तेस्रो मुलुक जान नचाहेर बसेका ज्येष्ठ नागरिकहरू धेरै छन्।’
शिविरभित्रै बस्ने हर्कजंग सुब्बालाई भने चाड–पर्वका बेला परिवारको यादले सताउँछ। परिवारका सबै सदस्य बाहिरै छन्, जेनतेन हामी दुई यहाँ बसेका छौं, छाप्रो बाहिरको सिकुवामा उनले सम्झिए, ८० जना परिवार दसैंमा एकै पटक भेला हुँदा कम रौनक थिएन। तर अहिले उनको छाप्रो शुन्य प्रायः छ। उनी राम्ररी हिँडडुल गर्न सक्दैनन्, काम परेका इष्ट–मित्र भेटन छाप्रासम्मै आउँछन्। हरेक दसैंमा उनको परिवारका पनि कोही न कोही सदस्य नेपालको शिविरसम्म आउँथे, अमेरिकाबाट। तर यस पटक अहिलेसम्म कोही आएका छैनन्। ‘अहिले शिविर त रित्तो छ,’ उनले सुनाए, ‘उमेर भएकाहरू सबै लाखापाखा लागे, नसक्ने बूढाबूढी मात्रै छौं। कुनै सन्तान कहाँ, कोही कहाँ, जिन्दगी शिविरभित्रै बित्ने भयो।’
पढ्नै सकस
बेलडाँगी शरणार्थी शिविरमा रहेको पञ्चावती आधारभूत विद्यालय पनि यस शैक्षिक सत्र मात्रै पढाइ हुनेवाला छ। त्यहाँ पढने आठ सय ५५ जना विद्यार्थी अगामी शैक्षिक सत्रदेखि अन्यत्रै पढन जानुपर्ने बाध्यता छ। शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले सन् २०२० देखि भुटानी शरणार्थीका लागि सबैखाले सहयोग बन्द गर्दै छ।
विगतमा झापा र मोरडका सातवटा शिविरमा सातवटा मावि र ३३ वटा निमावि तहका विद्यालय थिए। तर शिविरको संख्या खुम्चदै गएसँगै विद्यालयसमेत घटे। अहिले पथरी शिविरमा विद्यालय नै छैन। भएको एउटा विद्यालयसमेत अघिल्लो वर्ष नै बन्द गरियो। पथरी शिविरका एक सय ६२ विद्यार्थी बाहिरका विद्यालयमा पढ्छन्।
सन् २००८ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएपछि शिविरमा शरणार्थीको संख्या घट्न थालेको थियो । बेलडाँगीमा मावि तहको पढाइ नभएको अघिल्लो वर्षदेखि नै हो। यस वर्ष ढुकुरपानी माध्यमिक विद्यालयबाट शरणार्थीले अन्य विद्यार्थीजस्तै एसइई दिँदैछन्। बाहिरका विद्यालयमा पढ्न थालेसँगै शैक्षिक सामग्री जुटाउने समस्या पनि उस्तै छ।
शिविर सचिव लिम्बूका अनुसार खाद्यान्न सहयोग, शैक्षिक सहयोग कटौती गरेपछि अब शरणार्थीको भविष्य अन्योलग्रस्त भएको बताए। ‘अब शिविरका सबै विद्यालय बन्द गरिँदै छन्, खान पनि दिन छाडेको छ,’ उनले भने, ‘भोकभोकै शरणार्थी मार्ने रणनीति बनाइँदै छ। पञ्चावती विद्यालयका विद्यार्थीलाई आगामी वर्षदेखि नजिकैको चुलाचुली आधारभूत विद्यालय दमक–३ र ढुकुरपानी माविमा व्यवस्थापन गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगले युएनएचसिआरले भने करिब एक लाख १३ हजार एक सय ९६ जना भुटानी शरणार्थीलाई अमेरिका, बेलायत, क्यानडा, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, अस्ट्रेलिया गरी आठ मुलुकमा पुनर्वास गराइसकेको छ।
प्रकाशित: २६ आश्विन २०७६ ०१:३५ आइतबार