२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।

त्रिविका सहकुलपति पोखरेलको संयोजकत्वमा गठित समितिले बिहीबार उपकुलपतिमा नियुक्तिका लागि पहिलो नम्बरमा डा. कोइराला, दोस्रो नम्बरमा मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र तेस्रो नम्बरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमेत रहेका डा. चन्द्रमणि पौडेलको नाम कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको हो। समितिका सदस्य डिल्लीराम शर्माले त्रिविको उपकुलपतिका लागि तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको बताए। तीनजनामध्ये कुलपतिलाई उपयुक्त लागेको एकजना व्यक्ति त्रिविको उपकुलपतिमा नियुक्त हुने उनको भनाइ छ।

सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।

सिफारिस समितिले उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेसँगै डा. भगवान्को उपकुलपतिमा नियुक्तिका लागि सम्भावना बढेर गएको प्रधानमन्त्रीनिकट उच्च स्रोतले नागरिकलाई बतायो। सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो। त्यसैले डा. भगवान् नै उपकुलपति बन्ने बलियो सम्भवना रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्ती केन्द्र बनाउनु हुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेकाले डा. कोइरालाजस्तो व्यक्तिलाई उपकुलपति बनाउँदा राम्रो हुने पक्षमा प्रधानमन्त्री रहेको बताए। ती नेताका अनुसार प्रधानमन्त्री त्रिविजस्तो प्राज्ञिक थलोमा दलीय आस्थाका आधारमा भन्दा पनि ख्यातिप्राप्त र विश्वविद्यालयलाई विशिष्ट योगदान पु¥याउन सक्ने व्यक्तिको खोजीमा भएकाले डा. भगवान्लाई त्रिविको उपकुलपति नियुक्ति गर्ने मनस्थितिमा छन्। मेडिकल वृत्तमा ‘मेडिकल प्राइममिनिस्टर’को उपमाले परिचित प्रधानमन्त्री ओलीकी निजी तथा क्याबिनेट चिकित्सक डा. दिव्या सिंह शाह पनि उनलाई नै उपकुलपित बनाउने पक्षमा रहेकाले डा. भगवान्को सम्भावना निकै बलियो रहेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

स्वास्थ्योपचारका लागि सिंगापुर उड्नुअघि त्रिविको उपकुलपति बन्न प्रधानमन्त्री ओलीले वरिष्ठ चिकित्सक कोइरालालाई प्रस्ताव गरेका थिए। नागरिकले भदौ ९ गते उपकुलपति बन्न प्रधानमन्त्री ओलीले डा. भगवान्लाई प्रस्ताव गरेको समाचार प्रकाशन गरेको थियो। उनको नाम सिफारिस भएसँगै उपकुलपतिमा डा. भगवान् नै नियुक्ति हुने प्रबल सम्भावना देखिन्छ। सिफारिस समितिले एक नम्बरमा राखेर उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेपछि उनले यस विषयमा थप छलफल गरेर अघि बढ्ने नागरिकलाई बताए।

पछिल्लो समय डा. कोइरालाले चाइल्ड हेल्थ हस्पिटल स्थापनाको जिम्मा पाएका छन्। त्यसका लागि उनी जुटिरहेका छन्। बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले त्यस्तो मनस्थितिमा आफू नरहेको भन्दै डा. भगवान्ले प्रधानमन्त्रीलाई उपयुक्त सर्त र टिम पाए त्यसबारे विचार गर्न सक्ने भनेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो। डा. कोइरालाले प्रधानमन्त्रीबाट उपकुलपति बन्न प्रस्ताव आएपछि आफू त्रिवि उपकुलपतिका लागि इच्छुक नभएको तर उपयुक्त सर्त र टिम पाए यसबारे विचार गर्न सक्ने भदौ ९ मा नागरिकलाई प्रतिक्रिया दिएका थिए।

त्यसो त सिफारिस समितिले दुई नम्बरमा राखेर सिफारिस गरेको अर्का चिकित्सक डा. बाँस्कोटाको त्रिविको उपकुलपति बन्ने सम्भावना पनि उत्तिकै रहेको स्रोतको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार तथा प्रधानमन्त्री ओलीनिकट बाँस्कोटा पनि कुलपति ओलीको रोजाइमा छन्। कोइराला र बाँस्कोटा दुवैले बहुचर्चित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका खान अस्वीकार गरेको थिए। मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष बाँस्कोटाले चिकित्सा शिक्षा आयोग आफ्नो क्षेत्र नपर्ने भएकाले उपाध्यक्ष नखाने भनेर ठाडै अस्वीकार गरेका थिए। आयोगको उपाध्यक्ष अस्वीकार गरेका चिकित्सद्वयको त्रिविको उपकुलपतिमा भने एकसाथ नाम सिफारिस भएको छ। सिफारिसको तेस्रा नम्बरमा भएका डा. पौडेलले पनि चिकित्सा शिक्षा आयोगमा तेस्रो नम्बरमा रहेका डा. श्रीकृष्ण गिरीका उदाहरण प्रस्तुत गर्दै आफूलाई उपकुलपति बनाउन लबिइङ गरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनायो।

त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ। समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ।

सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि त्रिविका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेललको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा कमलप्रसाद गुरागाईं र डिल्लीराम शर्मा सदस्य छन्। त्यही समितिले त्रिविको उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको हो। भदौ ५ गते तीर्थ खनियाँको कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी विवादास्पद शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।

प्रकाशित: १८ आश्विन २०७६ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App