१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धरानमा खेलग्राम निर्माणको तयारी

धरान - प्रदेश १ को खेलकुद हब बनाउने लक्ष्य लिएर खेलकुद ग्रामसहित धरानको समग्र खेल संरचनाहरूको एकीकृतरुपमा डिपिआर बनाउने काम सुरु भएको छ।

धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकुद विकास समितिले धरानको खेलकुदको एकीकृतरुपमा डिपिआर बनाउन लागेको हो। यसका लागि ग्रिड कन्सल्टेन्सी काठमाडौंले स्थलगत सर्भेको काम गरिरहेको छ। चालु आर्थिक वर्षमा १ नं प्रदेश सरकारले धरानमा खेलकुद ग्राम निर्माणका लागि ५ करोड बजेट विनियोजन गरेको छ भने धरान उपमहानगरले खेलकुदसहित विभिन्न क्षेत्रको डिपिआर तयार गर्न डेढ करोड बजेट विनियोजन गरेको हो। यही शीर्षकबाट उपमहानगरले खेलकुद ग्रामसहित समग्र खेलकुदको एकीकृत डिपिआर बनाउन सुरु गरेको हो।

सर्भेयर सुदीप कार्कीका अनुसार सर्भेबाट लोकेसन, वस्तुस्थिति पत्ता लगाउने काम भइरहेको छ। यसपछि डिजाइनको काम सुरु हुने कार्कीले बताए। ‘सर्भेबाट लोकेसन, वस्तुस्थिति के छ, त्यो आउँछ,’ सर्भेयर कार्कीले भने, ‘त्यसको आधारमा डिजाइन बन्छ।’ फिल्डमा ५ जना सर्भेयर खटिएका छन्। दुई दिनमा धरान–१५ स्थित निर्माणाधीन क्रिकेट मैदानको सर्भे सकिएको छ भने क्रमशः आर्चरी, खेलकुद ग्राम, साइक्लिङलगायत सबै संरचनाहरूको सर्भे गर्ने कार्कीले बताए।

उपमहानगरअन्र्तगतको खेलकुद विकास समितिले धरान १७, सप्तरंगी पार्क अगाडिको खाली जग्गामा खेलकुद ग्राम बनाउने अवधारणा अघि बढाएको थियो। गत आर्थिक वर्षमा कार्यपालिका बैठकले यो अवधारणा स्वीकृत गरेर प्रदेश सरकारमा प्रस्ताव पेश गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा धरानमा खेलग्रामका लागि ५ करोड बजेट विनियोजन गरेको छ। ‘खेलग्रामको डिपिआर मात्र होइन, धरानको समग्र खेलकुदको नै डिपिआर बनाउँदै छौं। सर्भेले कति जग्गा आवश्यक पर्छ, हामीसँग कति छ र कति अपुग हुन्छ भन्ने प्रस्ट हुन्छ। आवश्यक पर्ने जग्गाको खोजी पनि गरिरहेका छौं,’ नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले भने, ‘हामीसँग भएको संरचना कुन अवस्था छ र सुधार गर्नुपर्ने के छ ? के आवश्यक छ भन्ने प्रस्ट हुन्छ। यसले धरानको समग्र खेलकुदको भिजन बन्छ।’

खेलग्राम निर्माण गर्ने भनिएको धरान–१७ स्थित सप्तरंगी पार्क क्षेत्रमा विभिन्न खेलकुदको एकीकृत संरचनासँगै आवासीय भवन पनि हुनेछ। त्यहाँ भलिबल, कराते, उसु, सुटिङ, सेपाकताक्रो, बास्केटबल, स्वीमिङ, टेबलटेनिस, ब्याडमिन्टनलगायत इन्डोर खेलको आवासीय सुविधासहित प्रशिक्षण केन्द्र बनाउने योजना हो। यस्तै, एथलेटिक्स ट्रयाक, साइक्लिङ, फुटबल, हकी, आर्चरी, क्रिकेटको वलिङ र ब्याटिङ अभ्यासस्थललगायतको पनि आवासीय सुविधासहित प्रशिक्षणस्थल हुनेछ। खेलग्राम अवधारणामा नै साहसिक खेलकुदको एक्स्ट्रीम पार्कको अवधारणालाई पनि डिपिआरले समेट्नेछ।

खेलग्रामबाहेक धरान–६ स्थित पानबारीमा हकीको एकेडेमी निर्माण गर्न अध्ययन हुँदैछ भने धरान–१५ स्थित खोरिया बस्तीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ। यी दुवै संरचना पनि डिपिआरमा समेटिनेछ। यस्तै, धरान–४ स्थित दानाबारीमा टेकअफ र वडा ५ मा ल्याण्डिङ भएको प्याराग्लाइडिङ, विजयपुर गढीस्थित पञ्चकन्या जंगलमा साइक्लिङ ट्रयाक, धरान–१६ स्थित रंगशाला, बिपी प्रतिष्ठानभित्रको गल्फ कोर्ष र स्कस, नेपाल प्रहरी महाविद्यालयअन्तर्गतको ब्याडमिन्टन हल पनि डिपिआरमा समेटिनेछ।

यस्तै, धरान–१७ स्थित उदय सामुदायिक वन समूहमा निर्माणाधीन आर्चरी रेञ्ज र फुटबल खेल मैदान पनि डिपिआरमा हुनेछ। ती खेल स्थानहरूलाई कसरी लिंक गर्ने भनेर भौतिकरुपमा भनेर पनि योजना आउँछ। धरान–१६ स्थित रंगशालालाई यो डिपिआरमा समेटिए पनि त्यहाँ राष्ट्रिय खेलकुद परिषद्ले अलग्गै डिपिआर बनाएर लगानी गरिरहेको छ। राखेपले त्यहाँ साढे १ अर्बको संरचनाको डिपिआर बनाइसकेको छ। ‘यी सबै खेलकुद संरचनाहरूबीच कसरी लिंक गर्ने भन्ने डिपिआरमा आउँछ,’ अध्यक्ष राईले भने।

प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ(नेफा)को १ नम्बर समिति अध्यक्ष भूपाल राईले एकीकृत डिपिआरले धरानलाई प्रदेश १ को खेलकुद र पर्यटनको हबकोरुपमा स्थापित गर्ने भन्दै खुसी व्यक्त गरे। डिपिआर तयार भएपछि राज्यले प्राथमिकता दिएर लगानी गर्नुपर्ने उनले बताए। ‘डिपिआरको उद्देश्य ज्यादै सकारात्मक छ, यसले धरानलाई मात्र होइन, प्रदेशलाई नै खेलकुद र पर्यटनको हब बनाउन मद्दत पुग्छ। राज्यले डिपिआर बनेपछि लगानी बढाउनुपर्छ,’ उनले भने।

प्रकाशित: १३ आश्विन २०७६ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App