७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ओखलढुंगामा १० जना डेंगीका संक्रमित फेला

सांकेतिक तस्बिर

ओखलढुंग– ओखलढुंगामा पनि डेंगी रोगका संक्रमित फेला परेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगीको लक्षण देखिएको हो।

निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खाना अरुचि र पेटगडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगीको संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए। डेंगी परिक्षण गर्ने किटको माध्यमबाट परिक्षण गर्दा उनीहरु डेंगी संक्रमित पाइएको गौतमको भनाई छ।

टोक्सेल हर्कपुरका सपना खड्का, तुलसा गौतम, मेलिस्का श्रेष्ठ, मदन श्रेष्ठ, फडिन्द्र दाहाल, देवभक्त गौतम, ईश्वर मगराती, तारादेवी खड्का, सुदिप श्रेष्ठ र पुण्यमाता अधिकारीमा डेंगीको संक्रमण भेटिएको स्वास्थ्य चौकी हर्कपुरका इन्चार्ज निर्मला दाहालले जानकारी दिइन्। दश जना मध्य अधिकांश स्वास्थ्य क्लिनिकबाट सामान्य औषधी खाएर घरमै बसेको र केही थप उपचारका लागि अन्यत्र गएको उनको भनाई छ।

यसका साथै कटारी नगरपालिका–१४ घुर्मि उदयपुरमा पनि तीन जनामा रोगको संक्रमण देखिएको छ। घुर्मीका रन्जित मगर, गोपाल थापा र आनन्दकुमार चौधरीलाई पनि डेंगी संक्रमण भेटिएको गौतमले जनाएका छन्। टोक्सेल र घुर्मी सिद्धिचरण लोकमार्गमा पर्ने गर्मिहुने ठाउँ हुन्।

जिल्लामा पहिलो पटक डेंगीका बिरामी फेला परेका हुन्। ओखलढुंगाको टोक्सेल हर्कपुर र नजिकै रहेको घुर्मि बजारमा समेत डेंगी संक्रमित फेला परेको जानकारी पाएपछि सोमबार जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख मोहन सुवेदी र मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहाल लगायतको टोलीले डेंगी फेला परेको क्षेत्रमा अनुगमन गरेका छन्।

संक्रमित क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सजक रहन उनीहरुले आग्रह गरेका छन्। यसका साथै घर नजिकै रहेको पानी जम्ने ठाउँहरु भए हटाउन स्वास्थ्य प्रमुख सुवेदीले आग्रह गरेका छन्। गाउँपालिकासँगको समन्वयमा डेंगी फेला परेको क्षेत्रमा नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिएका छन्। संक्रमित भेटिएको स्थानका अन्य स्थानीयहरुमा लामखुट्टेबाट यो रोग सर्ने सम्भावना बढी भएकाले सतर्क रहन जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले सुझाव दिएका छन्।

विहान ९ बजेदेखि ११ बजे र बेलुका ४ बजेदेखि ६ बजेको समयमा डेंगी सार्ने लामखुट्टेले मानिसलाई टोक्ने भएकाले सावधानी अपनाउन उनको भनाई छ । ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडा दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, शरीरमा डाबर आउने, खानामा अरुचि हुने, पेट गडबडी हुने लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा जचाउन चिकित्सकको सुझाव रहेको छ।

प्रकाशित: ६ आश्विन २०७६ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App