२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमा डेंगी फोवियाका बिरामी

काठमाडौं - आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।

अस्पतालमै आइतबार अर्की महिलाको शरीरमा छालासम्बन्धी रोगले विमिरा आएको थियो । उनी पनि डेंगी लाग्यो कि भनेर आत्तिँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । उनको मनमा पनि डेंगीको त्रास थियो । ‘सिधै डेंगी जाँच गर्नु प¥यो भन्दै थिइन् । शरीरमा छालासम्बन्धी रोगले विमिरा आएको थियो,’ अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. पुनले भने । उनका अनुसार टाउको मात्र दुखे पनि, कुनै कारणले आँखा दुखे पनि या जीउ चिलाए पनि सिधै डेंगीको शंका गरी अस्पताल पुग्छन् । उनले आइतबार जाँच गरेका यी दुई महिलाबाहेक बहिरंग विभागमा दैनिक पाँच÷सात जना बिरामी पुग्छन् ।
डा. पुनको अनुभवमा डेंगी संक्रमणका समाचार आउन थालेपछि समुदायबाट यो अस्पतालमा रोग लागेकै जस्तो गरी बिरामी आउन थालेका हुन् । आउनेहरुमा पुरुषको तुलनामा महिला बढी भएको डा. पुनले बताए । महिला र पुरुष दुवै समूह आउने गरेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले बताए ।

यो अस्पतालबाहेक अन्य अस्पतालमा पनि डेंगी नभई शंका लाग्यो कि भनेर अस्पताल पुग्नेहरु धेरै छन् । यस्ता बिरामी राजधानीको डेंगी बढी प्रभावित क्षेत्रका बढी भएको मनमोहन सामुदायिक अस्पतालले जनाएको छ । ठमेलस्थित सो अस्पतालमा नयाँ बजार, चमती तथा खुसिबुका बिरामी पुग्छन् । पहिलेको तुलनामा डेंगी पोजिटिभका बिरामी घटे पनि अन्य कारणले ज्वरो आए पनि डेंगीकै शंकामा अस्पताल पुग्ने धेरै छन् । अस्पतालका डा. खेम अधिकारीका अनुसार हाल दैनिक ५० देखि ६० जना बिरामी पुग्छन् । पुगेका बिरामीमध्ये दश÷पन्ध्र जनामा डेंगी पोजिटिभ देखिन्छ भने दश÷पन्ध्र जना शंकाकै भरमा उपचारमा पुग्ने गरेका छन् । उनीहरु अन्य कारणले ज्वरो आएमा, थाकेर ज्यान दुखेको भए पनि डेंगी लाग्यो कि भन्दै उपचारमा पुगेको डा. अधिकारीले बताए । ‘केही दिनदेखि यथार्थ डेंगीका बिरामी घटेका छन् तर शंकाका बिरामी घटेका छैनन्,’ उनले भने ।

उस्तै एकाध लक्षणको भरमा आपूmलाई त्यही रोग लागेको अनुभूति गर्ने समस्या अहिले समुदायभरि फैलिरहेको मानसिक रोग अस्पतालका विशेषज्ञ डा. बासुदेव कार्की बताउँछन् । उनको विचारमा यो वर्ष डेंगी रोगको प्रकोप र सचेतना विगतको तुलनामा बढी फैलिएको कारण आम मानिसमा भावानात्मक रुपमै डर फैलिएको देखिन्छ । ‘मेरै परिवारमा पनि केही भयो कि डेंगी लाग्यो कि भनेर डराए । छरछिमेकमा यस्तो समस्या धेरैमा देखिन्छ,’ डा. कार्कीले भने ।

पहाडी जिल्लामा डेंगी घट्दो
मौसममा केही चिसोपना बढेसँगै पहाडी जिल्लामा डेंगीको बिरामी घट्दो क्रममा रहेको अस्पताल तथा विज्ञहरुले जनाएका छन् । असोजको पहिलो सातासँगै डेंगीका नयाँ बिरामी कम आउन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । केही दिनदेखि डेंगीको बिरामी घट्न थालेको मनमोहन सामुदायिक अस्पतालले जनाएको छ । यी अस्पतालमा दैनिक सयौंको संख्यामा प्रभावित क्षेत्रका बिरामी पुग्थे । ‘पहिल्यै संक्रमित भएका बिरामी फलोअपमा आइरहेका छन् । नयाँ कम छन्,’ शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले भने । अस्पतालमा काठमाडौं बाहिरबाट कडा डेंगी भएर आउनेहरु भने जारी छन् । त्यसै गरी अन्य कारणले ज्वरो आएका बिरामी पनि छन् ।

मनमोहन सामुदायिक अस्पतालका अनुसार पहिलेको तुलनामा ५० प्रतिशत डेंगीका बिरामी घटेका छन् । आएका मध्येमा पनि १५ प्रतिशतमा मात्र डेंगी पोजिटिभ भएको अस्पतालका डा. खेम अधिकारीले बताए । यो अस्पतालमा प्रभावित क्षेत्रबाट सयौंको संख्यामा बिरामी आउँथे र अन्य अस्पतालमा पनि दैनिक सयौंको संख्यामा बिरामी पुग्ने गर्थे । असोजयता अन्य पहाडी जिल्लामा पनि डेंगीका बिरामी घटेको तथ्यांक प्राप्त भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार चिसो बढेसँगै पहाडी जिल्लामा पनि डेंगीका बिरामी घटेका छन् । तर तराई र ठूला सहरमा भने थप एक÷डेढ महिना डेंगी संक्रमण जारी रहनेछ । सहरमा मानिसको घनावस्ती र तराइमा डेंगी सार्ने लामखुट्टेको लागि अनुकूल मौसम कायम रहेकाले थप एक महिना संक्रमण जारी रहने स्थिति छ । त्यसैगरी, काठमाडौ उपत्यकाका मानिसको तराईमा आउने÷जाने क्रम पनि जारी रहने हुनाले उताबाट डेंगी संक्रमण भएर आउनसक्ने सम्भावना उत्तिकै रहेको डा. लालको अनुमान छ ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App