७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

आर्थिक अभावले मृत्यु कुरिरहेका जीवन

ब्लड क्यान्सरबाट पीडित जीवन चौधरी। तस्बिर सौजन्यः लोकूसिंह ठकुरी

सुखड — कैलालीको बर्दगोरिया गाउँपालिका ४ का २० वर्षिय जीवन चौधरी जीवन र मरणको दोसाँधमा छन्। ब्लड क्यान्सरबाट पीडित चौधरी घरमै थलिएको तीन महिना भयो। गत जेठमा भरतपुर क्यान्सर अस्पतालमा चेकजाँच गरेका चौधरीलाई ब्लड क्यान्सर भएको प्रमाणित भएको थियो। तर उपचार गर्ने पैसा नभएपछि उनलाई घरमै राखिएको छ।

जेठदेखि बिरामी परेका चौधरीलाई सुरुमा धेरै ठाउँमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार आएन। परिवारसँग भएको अलिकति पैसा पनि सकियो। असारमा धनगढीको एक अस्पतालमा पुगेपछि ब्लड क्यान्सरको आशंकामा चितवन रिफर गरियो। भरतपुर क्यान्सर अस्पतालले ब्लड क्यान्सरनै भएको प्रमाणित गर्यो। उपचारमा १५ लाख खर्च लाग्ने भनेपछि उनी छागाबाट खसेझैं भए। दिनभर मजदुरी गरेर छाक टार्ने परिवारलाई १५ लाख रुपैयाँ उपचार खर्च जुटाउनु एका देशको कथाजस्तै भएको छ।

मुक्त कमैया परिवारका चौधरीको परिवारसँग भएको दुई तीन लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकिसकेको थियो। १५ लाख रुपैयाँ जम्मा गर्नु उनको कल्पनाभन्दा पनि बाहिरकै कुरा भयो। त्यसपछि उनलाई घरमा लगियो। विगत तीन महिनादेखि उनी ओछ्यानमै ब्लड क्यान्सरसँग लडिरहेका छन्। सरकारले कमैया मुक्तिको घोषणा गरेपछि सरकारले दिएको पाँच कठ्ठा जग्गा र सानो घरबाहेक अरु केही छैन उनको परिवारसँग।

‘छोरालाई अब कसले बचाउँछ,’ आँखाभरी आसुु पार्दै बाबु फुलराम चौधरीले भने। आँखै अगाडि छोराको मृत्यु देख्न कसले पो सक्छ र? तर फुलरामसँग छोराको मृत्यु पर्खेर बस्नुबाहेक कुनै विकल्प छैन। ‘बेलाबेलामा आत्महत्या गरौंझैं लाग्छ।’ उनी भन्छन्, ‘आमा (फुलरामको श्रीमती)को अवस्था पनि नाजुक छ। छोराको चिन्ताले आमाको अवस्था पनि दिनप्रतिदिन बिग्रिदैं गएको छ।’

दिनभर मजदुरी गरेर गुजारा चलाउने दाजु भगवानको दैनिकी पनि भाइको हेरचाहमै बित्छ। ‘भाइ बाच्छ भन्ने आशा त छैन।’ रुन्चे स्वरमा उनले भने, ‘यत्रो पैसा ल्याउने सम्भावनै छैन।’ पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे। उनलाई घरमै जडीबुटी खुवाउन थालेका छौं।’

‘जीवनको शरीर र आँखा समेत पहेलो छ। तर जन्डिस चेक गराउने समेत पैसा छैन।’ दाजु भगवानले भने। जीवन आफैले पनि बाच्ने आशा मारिसकेका छन्। आस्वासन दिने समेत कोही छैनन्। क्यान्सरको पीडाभन्दा बढी मरिने चिन्तालेनै उनलाई पिरोल्न थालेको छ। ‘गरिबलाई भगवानले पनि किन यस्तो गर्छ?’ प्रश्न गर्दै आँखा भरी आँशु र डाकै छोडेर उनले भने, ‘गरिबले त बाच्न पनि नपाउने ? कसैले सहयोग गरे त बाचिन्थ्यो कि?’ राम्ररी बोल्न समेते सक्दैनन् उनल। तीन महिनादेखि ओछ्यानमै थला परेका छन्।

तर सबैले सहयोग गरे उनलाई बचाउँन सकिने शिक्षक प्रमोद साउँदको भनाइ छ। उनी अध्यापनरत कालिका माविमा अध्ययन गर्ने चौधरीको पीडाबारे जानकार साउँदले एउटा मानवले अर्को मावनलाई सहयोग गर्नुपर्ने बताउँछन्। हामी मानवले गर्नेनै यत्ति हो। साउँदले भने, ‘मृत्यु कुरेर ओछ्यानमा सुतेको एउटा पीडितलाई हामीले गरेको सानो सहयोगले पुनर्जीवन दिन सक्छ।’

क्यान्सर पीडित चौधरीका परिवारलाई राहतस्वरुप संकलित रकम हस्तानतरण गरिँदैं।

साउँदको अगुवाइमा चौधरी अध्ययनरत १० कक्षाका विद्यार्थीबाट र उज्यालो नौनिया युवा समाजले संकलन गरेको ७ हजार ५ सय ७५ रुपैयाँ शनिबार परिवारलाई हस्तानतरण गरिएको छ।

सानो रकम भए पनि परिवारले राहतको अनुभूति गरेको साउँदको भनाइ छ। क्यान्सर पीडित चौधरीको ज्यान बचाउन सक्दो सहयोग गर्न समेत उनले आग्रह गरे। क्यान्सर पीडित चौधरीका बुवा फुलरामले मानवताको नाताले भए पनि सहयोग गरिदिन अपिल गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७६ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App