४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन वर्षमा लागुऔषधका ५ सय ५४ कारोवारी पक्राउ

भद्रपुर- विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५ सय ५४ पक्राउ परेका छन्। भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ।     
     
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आव २०७३/७४ मा १ सय ६५, आव २०७४/७५ मा १ सय ८९ र आव २०७५/७६ मा २ सय लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन्। पक्राउ परेका ५ सय ५४ मध्ये २४ विदेशी नागरिक थिए। तीन वर्षमा लागुऔषध सम्बन्धी ३ सय ५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५/७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७ सय ६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए।

सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउँछन्।     
     
प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ। विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियान अन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ। अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ।

'विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ', प्रहरी उपरीक्षक मैनालीले भने, 'यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ।'  रासस

प्रकाशित: १ आश्विन २०७६ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App