८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नानिचासँगै सकियो इन्द्रजात्रा

काठमाडौं – उपत्यकामा आठ दिनयता चल्दै आएको इन्द्रजात्रा मंगलबार नानिचा (महिलाले रथ तान्न) जात्रासँगै सकिएको छ । भदौ २४ गतेदेखि सुरु भएको जात्राको अन्तिम दिन वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी–इन्द्रचोकतर्फ तानिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए । उनका अनुसार जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गरिएको थियो ।

जात्राको अन्तिम दिन राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारी कुमारीको हातबाट टीका ग्रहण गर्न पुगेकी थिइन् । विभिन्नथरीका नाच र पर्वको मिश्रित रहेको जात्रामा वसन्तपुर क्षेत्रमा २९ गुठीले आयोजना गरेका थिए । हनुमानढोकास्थित किलागलबाट सुरु भएको इन्द्रजात्राले नाचगानसहित वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउँ परिक्रम गरेको थियो । पहिलो दिन लिंगो (यःसी) उठाएपछि जात्रा आरम्भ भएको थियो ।

आठदिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिएको थियो । जात्रा अवधिभर अनुहारमा विभिन्न देवीदेवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका कलाकारले नाच प्रस्तुत गरेका थिए । इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकालाई काभ्रेको नालास्थित जंगलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिंगो बनाइन्छ । यसरी तयार पारिएको ‘यःसी’ अर्थात् लिंगोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने चलन छ । यःसी ठड्याएपछि जात्रा सुरु भएको थियो । करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ ।

इन्द्रजात्राको चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं उपत्यका आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे । बगैंचामा चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ ।

 

प्रकाशित: १ आश्विन २०७६ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App