खोटाङ – जिल्ला कारागार खोटाङमा आमासँगै आश्रित जीवन बिताइरहेका दुई नाबालकलाई कपडा प्रदान गरिएको छ। विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका आमासँगै जेलमा रहेका ती बच्चालाई २९औं बालदिवसको अवसरमा आइतबार सेतो गुराँस बाल विकास सेवा खोटाङले न्यानो कपडा प्रदान गरेको हो।
जेलमा रहेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५ वर्षका रेसम राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पा चिउरीडाँडाकी पाँच महिनाकी मिलन राईलाई न्यानो कपडा प्रदान गरिएको छ। सेतो गुराँस बाल विकास सेवाकी सचिव पूर्णमाया तामाङले रेशम र मिलनलाई भुवावाल पेन्ट, भोटो, हाइनेक, सुरुवाललगायत कपडा प्रदान गरेकी छन्।
रेसमकी आमा कर्तव्य ज्यान मुद्दामा तथा मिलनकी आमा बहुविवाह मुद्दामा जेलजीवन बिताउन पुगेकी हुन्। कपडा प्रदान गर्ने क्रममा जेलमा बच्चासहित बसिरहेका आमासँग बालअधिकारको विषयमा पनि छलफल गरिएको छ। यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले पनि कागारकारका कैदीबन्दीलाई पुस्तक प्रदान गरेको छ। कारागारमा स्थापना गरिएको पुस्तकालयमा राख्ने र अध्ययन गर्नेगरी आयोगको १ नम्बर प्रदेश शाखा कार्यालय खोटाङले कैदीबन्दीलाई पुस्तक प्रदान गरेको हो।
प्रकाशित: ३१ भाद्र २०७६ ०३:१५ मंगलबार