१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

शिक्षाबाट वञ्चित बालबालिका

धनुषा - ‘बाबु इण्डिया, पञ्जाब गेल हैय। माई गिरहसके खेतमे काम करे, भोरे जाइछैय आ साझमे अबैय हैय। भाइ आ हम घरके रखबारी करैयछिय, पैरा तकैछि माईके।’ अर्थात् ‘बुबा इण्डियाको पञ्जाब गएका छन्, आमा साहुको खेतमा काम गर्न। आमा बिहानै जान्छिन्, साँझ आउँछिन्। घरको रेखदेख भाइ र म गर्दै छौं, आमालाई कुरेर बसेका छौं,’ जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित ढोकामा बसेर विद्यालय समयमा आमालाई पर्खिरहेकी ९ वर्षीय अञ्जली मल्लिकले भनिन्।

गरिबीले बाबु भारत, आमा दैनिक कामका लागि साहुको खेतमा जाने गर्दा घर कुरुवा भई दिन बिताउनुपर्ने बाध्यता छ, अञ्जली र उनका सात वर्षीय भाइ आकाश मल्लिकलाई। यही बाध्यताले लेख्न–पढ्न नपाएको उनको भनाइ छ। गरिबीको कहरका कारण बाबु–आमा दुवैलाई मजदुरीले डो¥याउँदा पढ्न नपाएको उनले भावुक हुँदै आफ्नो पीडा सुनाइन्। ‘म कहिले स्कुल जाने ? आमा कामबाट आएपछि कि बाबु पैसा कमाएर घर फर्किएपछि ?,’ उनले प्रश्न गरिन्, ‘स्कुल जाने रहर बुनेर बसिरहेकी छु। मेरो स्कुल जाने रहर कहिले पूरा हुन्छ ?’

बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ। ‘बा–आमा र मेरो रहर पनि पढ्ने लेख्न नै हो,’ उनले भनिन्, ‘तर, घर खर्च टार्नै गाह्रो छ। केले स्कुल पठाउने ? बा–आमाले। स्कुल जान पैसा चाहिन्छ। मेरो आमाबुबासँग पैसा छैन। बुबा ऋण तिर्न बिदेसिनुभएको छ।’

केही दिन विद्यालय गए पनि अभावै अभावमा विद्यालय जान मन नलागेको भन्दै परिवारको अवस्था सुधार भएपछि आफू पनि नियमित पढ्ने उनले बताइन्। ‘अरु साथी स्कुल जाँदा मलाई पनि जाऊँ–जाऊँ लाग्छ। लागेर मात्रै के गर्नु’, उनले भनिन्, ‘सरकारी विद्यालयले पनि पैसा माग्छ। बुबा पैसा कमाएर आएपछि म पनि विद्यालय जान्छु।’
 
अञ्जली र आकाश मल्लिक प्रतिनिधि पात्र मात्र हुन्। विपन्नताका कारण प्रदेश राजधानी उपमहानगरपालिकाभित्रै रहेको यस बस्तीका थुप्रै बालबालिका विद्यालय जानबाट रोकिएका छन्। कतिपय भर्ना भएका बालबालिकाहरू पनि विद्यालय जान सकेका छैनन्। आर्थिक अभावकै कारण छोराछोरी पढाउन नसक्दा आफ्नो जस्तो दुःख सन्तानले भोग्नुपर्ने बाध्यता देखिएको स्थानीय अरुण मल्लिकले बताए। भर्ना अभियानको बेला स्कुलमा भर्ना गरे पनि कापीकलम किन्ने पैसा नहुँदा बीचमै पढाइ छुटाउनुपर्ने बस्तीको साझा समस्या रहेको उनको भनाइ छ।

‘कोहीले गिट्टी फोड्छन्। कोही मजदुरी गर्छन्। कसैले भाँडा माझेर छोराछोरी पालेका छन्, त कोही ऋण लिएर। बस्तीमा सबैले जीविकोपार्जन गर्ने तरिका नै यही हो,’ उनले भने, ‘अरुका काम गर्दा दुई छाक टार्न मुस्किल हँुदा स्कुल भर्ना भए पनि यहाँका बालबालिका नियमित स्कुल जान सकेका छैनन्।’ सरकारको ध्यान यस बस्तीमा नपरेको गुनासो गर्दै सबैले टिपेर जान्छन्, तर, त्यसको प्रतिफल आफूहरूले केही पनि नपाएको उनले बताए। ‘सरकारले दिने निःशुल्क शिक्षा खै कहाँ छ ? हाम्रा गाउँमा आएको छैन,’ उनले भने, ‘भर्नाका लागि पैसा लाग्ने भएकाले धेरैले पैसा तिर्न नसक्दा छोराछोरी घरमै राख्नुपर्ने बाध्यता छ।’

आधारभूत तहसम्मको शिक्षालाई सरकारले निःशुल्क भने पनि सामुदायिक विद्यालय सञ्चालनका लागि सहयोग शुल्कका नाममा भर्ना र परीक्षा शुल्क उठाउँदा विपन्न बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरिरहेको बाल अभियान्ता सन्दीप महतोले बताए।

दलित, गरिब र विपन्न परिवारको बालबालिका अझै विद्यालय बाहिर ठूलै संख्यामा रहेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वीकार गरे। ‘विद्यालय भर्ना अभियान सञ्चालन भए पनि आर्थिक अवस्थाले कमजोर गरिब र विपन्नवर्गका बालबालिका विद्यालय पुग्न सकेका छैनन्,’ नागरिकसँग कुरा गर्दै मन्त्री साहले भने, ‘विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन सरकारी तथा गैरसरकारी संस्थामार्फत काम भइरहेको छ। बिस्तारै यो समस्या समाधान हुन्छ। प्रदेश सरकार योजनाबद्ध रुपमा बालश्रम हटाउन र शिक्षामा सबैको पहुँच बढाउन काम गरिरहेको छ।’
.........
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित डोम बस्तीमा गरिबीको कारण शिक्षाबाट वञ्चित बालबालिका। तस्बिर ः कमलेश÷नागरिक

प्रकाशित: ३० भाद्र २०७६ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App