१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

राँझा– प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जनतामा उत्साह थपेको छ। कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रका जनताले गाउँटोलमै स्वास्थ्य, शिक्षा, कृषि र स्वरोजगारमा प्रत्यक्ष लाभ पाउँदा प्रदेश सरकारको अनुभूति गरेका छन्।     

जानकी गाउँपालिका वडा नं. १ साईगाउँका अगुवा इन्द्र थापाले उक्त कार्यक्रमले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार ल्याएको बताए। “विपन्न परिवारका बालबालिकाले विद्यालयमा पढ्नका लागि किताब, कापी र झोला पाएका छन्, वृद्धवृद्धाले गाउँमै स्वास्थ्य शिविरबाट उपचार पाएका छन्”, थापाले भने, “किसानले बीउ पनि पाएका छन्, यो कार्यबाट वास्तविकरूपमा जनताले सेवा पाएका छन्।”     

गत आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, कृषिमा प्रत्यक्षरूपमा फाइदा हुनेगरी सामग्री वितरण गरिएको जिल्ला सहजकर्ता केशव चालिसेले बताए। उनका अनुसार, गाउँपालिकासँग समन्वय र सहकार्यमा आवश्यकता अनुसार स्वास्थ्य शिविर, बालबालिकालाई किताब, कापी र झोला वितरण, महिलालाई स्वरोजगार मूलक तालीम प्रदान गरिएको थियो।     

उक्त कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिकरूपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता चालिसेले जानकारी दिए। बाँकेका नरैनापुर, डुडुवा र जानकी गरी तीन गाउँपालिकामा गत आर्थिक वर्षदेखि मुख्यमन्त्री ग्रामीण विकास परियोजना सञ्चालन भएको हो। यो वर्षदेखि अन्य गाउँपालिकामा पनि कार्यक्रम विस्तार हुने भएको छ।     

हातमा कापी–किताब बोक्नुपर्ने बाध्यता हट्यो     
जानकी–१ नेराप्रावि पचपोखरामा कक्षा–१ मा भर्ना भएका रमेश गुप्तालाई हातमा कापी–किताब बोक्नुपर्ने बाध्यता हटेको छ। किताब राख्ने झोलाको व्यवस्था नहुँदा दैनिक विद्यालय जाँदा आउँदा हातमा किताब बोक्ने गरेका गुप्तालाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत झोला प्राप्त हातमा कापी–किताब बोक्नुपर्ने बाध्यता अब हटेको छ।     

उक्त कार्यक्रम अन्तर्गत कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएपछि बालबालिकालाई विद्यालय आउन–जान धेरै सजिलो भएको विद्यालयका प्रधानाध्यापक द्रोण थापाले बताए। झोला वितरणले बालबालिकालाई विद्यालय नियमित हुनमा सघाउ पुगेको उनको भनाइ छ।

विद्यालय भर्ना र विद्यालयमा बालबालिका टिकाउन सहयोग पुग्ने अपेक्षाका साथ कक्षा १ मा नयाँ भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए।     

“सरकारी विद्यालयमा जसोतसो बालबालिका भर्ना गरेका हुन्छन्, बालबालिकालाई किताब–कापी राख्ने झोलासमेत अभिभावकले व्यवस्था गर्न सक्दैनन्”, उनले भने, “बालबालिकाको यस्तो अवस्था देखेर हामीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत झोला वितरण गरेका छौँ।” उनका अनुसार, बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनका लागि झोला वितरण गरिएको हो।     

सो कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकाभित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका एक हजार ७ सय ३३ विद्यार्थीले झोला र कापी प्राप्त गरेका छन्। बालबालिकालाई झोला वितरण कार्यक्रम प्रभावकारी रहेको आधारभूत विद्यालय गुरुवागाउँकी शिक्षक सन्ध्या शर्मा बताउछिन्। “कक्षा १ मा नयाँ भर्ना भएका कुनै पनि बालबालिकाको राम्रो झोला हुँदैन, धेरैले किताब हातमै छोपेर आउने जाने गर्दछन्”, उनीले भनिन्, “झोला र कापी पाउँदा बालबालिका धेरै खुशी छन्।”     

कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिकाका १ सय ७० विद्यार्थीलाई विद्यालय जानका लागि झोला र पोशाक वितरण गरिएको छ। यसले आर्थिकरूपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जान प्रोत्साहन मिलेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए।     

स्वरोजगार बन्दै महिला     
डुडुवा–५ कम्दीका गृहणी महिला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। एक महीनासम्मको तालीम पश्चात् आफूहरु बेतका सामग्री निर्माण गर्न सक्ने भएको स्थानीय पबी शाहीले जानकारी दिइन्। “पहिला हातमा केही पनि सीप थिएन, अहिले बेतका सामग्री बनाउन जान्ने भएका छौँ”, उनीले भनिन्, “बेतको फूलदानी, सानो र ठूलो मुढा, र्‍याक बनाउन सिकेका छौँ, घरको कामबाहेक खाली समयमा यस्ता सामग्री बनाएर बेच्ने गरेका छौँ।”     

उक्त कार्यक्रम अन्तर्गत बेतका सामग्री बनाउने तालीममा कम्दीका ३७ गृहणी महिला सहभागी भएर सीप हासिल गरेको वडाध्यक्ष परशुराम बुढाथोकीले बताए। उनले गृहणी महिलाका लागि तालीम फलदायी भएको जानकारी दिँदै सीपलाई व्यवहारमा कार्यान्वयनका लागि आफूले वडाबाट आवश्यक सहयोग र समन्वय गरिदिने बताए।     

तालीममा सिकेको सीपबाट आफ्नै गाउँ–घरमा चाहिने बेत–बाँसका सामग्रीहरु तयार पारी व्यावसायिक एवं स्वावलम्बी बन्नका लागि सहयोग पुगेको स्थानीय महिला अगुवा एवं मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिकी सदस्य प्रेमकुमारी शाहीले बताइन्।

बाँस बेतका सामग्री बनाउन चाहिने कच्चा पदार्थ बर्दियाको राजापुरबाट ल्याउने व्यवस्था मिलाइएको र उक्त कच्चा पदार्थ ल्याउनका लागि कानूनीरूपमा स्थानीय तहहरुसँग समन्वय गरिएको उनले जानकारी दिइन्।     

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बेतका सामग्री बनाउने तालीमका लागि विनियोजित दुई लाख रुपैयाँको लागतमा तालीम सञ्चालन गरिएको उक्त कार्यक्रमका जिल्ला सहजकर्ता चालिसेले बताए। उनका अनुसार, गृहिणी महिलाले तालीममा सिकेर बनाएका बेतका विभिन्न सामग्रीको बजारीकरणका लागि नेपालगञ्जलगायत अन्य शहरमा पुर्‍याउन व्यापारीसँग समन्वय गरिएको छ।     

अपाङ्गताले पाए सहायता सामग्री     
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकाका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ। अपाङ्गता भएकालाई जीवनयापनमा सहयोग पुर्‍याउन अवस्था अनुसार ह्वीलचियर, वैशाखी र सेतो छडी वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक शाखा संयोजक टीकाराम नेपालीले बताए।     

उनका अनुसार, गाउँपालिकामा रहेका २ सय ९६ अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण गरिएको छ। तीमध्ये पूर्णरुपमा अपाङ्ग, रातो कार्डप्राप्त ३८ लाई ह्वीचियर वितरण गरिएको कार्यक्रम सहजकर्ता चालिसेले जानकारी दिए। वडा नं १ का अध्यक्ष मोहम्मद रजा राईले अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर, सेतोछडी र वैशाखी वितरणले ठूलो राहत पुगेको बताए।रासस

प्रकाशित: २७ भाद्र २०७६ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App