५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चौरीगोठ उज्यालो बनाउन सोलार

हेलम्बु (सिन्धुपाल्चोक) - चरिचरण खोज्दै चौरीगाई लिएर उच्च हिमाली क्षेत्रका खर्क र गोठ पुग्ने किसानका लागि हेलम्बु गाउँपालिकाले सोलार प्यानल वितरण गरेको छ। गाउँपालिका क्षेत्रभित्रका चौरीपालक किसानका १८ गोठ र खर्कका लागि बत्तीका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा भएको सोलार प्यानल वितरण गरिएको हो।

लेकाली खर्क तथा गोठ उज्यालो बनाउने अभियानअन्तर्गत गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोलार प्यानल वितरण गरे। गाउँपालिकाको केन्द्र किउल, बगरमा आयोजित ‘उज्यालो कार्यक्रम’ अन्तर्गत सोलार प्यानल वितरण गर्दै अध्यक्ष शेर्पाले ‘सोलार प्यानलले लेकका घुम्ती गोठसमेत उज्यालो हुने विश्वास लिएका छौं।’

‘ब्याक–अप’ (ब्याट्री) सहित १० वाट क्षमताको सोलार प्यानलमा दुइटा बत्ती बाल्नका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा रहेको गाउँपालिकाले जनाएको छ। किसानका कोठमा अनुगमनमा जाँदा उनीहरूले अँध्यारोका कारण समस्या भोग्नुपरेको भन्दै गाउँपालिकासँग सोलार प्यानल माग गरेका थिए। त्यसपछि किसानको गोठको खोजी गर्दै गाउँपालिकाले उज्यालो कार्यक्रम ल्याएको अध्यक्ष शेर्पाले जानकारी दिए।

यस क्षेत्रका केही किसानले अझै चौरी, याक र हिमाली गाईपालनलाई पेसा, व्यवसायकै रूपमा अँगाल्दै आएका छन्। दशकअघिसम्म पर्यटकीय गाउँ हेलम्बुको लेकाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय चौरीपालन नै थियो। चरिचरण क्षेत्र, बाटोघाटोको अभाव र सुविधाभोगलगायत कारण पछिल्लो समय चौरीपालक किसान घट्दै गएका छन्। गोठका लागि सोलार प्यानल, चरिचरण क्षेत्र बढाउन घाँस बीउ र बिमा कार्यक्रम अघि सारेर आकर्षण थप्ने प्रयास थालिएको प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले बताए।

उनका अनुसार चौरीपालक किसानले एउटै गोठमा अझै ५० वटासम्म याक, गाई र चौरीपालन गरिरहेका छन्। किसान चरिचण क्षेत्र खोज्दै घुम्ती गोठ सार्दै चार हजार पाँच सय मिटरसम्म पुग्ने गरेका छन्। किसान चौरीको बथानसाथ ६ महिना लेक र बाँकी समय तल्लो क्षेत्रमा बस्ने गरेको सुनाउँदै कोइरालाले भने, ‘गर्मी चढ्दा लेकतिर उँभो लाग्ने किसान चिसो सुरु हुन थालेपछि तलतिर झर्ने क्रम सुरु हुन्छ।’

गाउँपालिकाले चौरी प्रजननका लागि अनुदानमा सातवटा याक किसानलाई वितरण गरिसकेको छ। ‘अँध्यारोमा बस्तुभाउ हराउँदा खोज्न सकस हुन्थ्यो। रातको समयमा चौरी र मान्छे आफैं बिरामी पर्दा समस्या थियो,’ सोलार प्यानल पाएपछि फुरुंग किसान पेम्बा शेर्पाले भने, ‘सोलार प्यानलले राहत दिने विश्वास गरेका छौं।’ पुख्र्यौली पेसा अँगाल्दै आएका उनका गोठमा अहिले पनि २५ गाई र १० चौरी, याक छन्।

गाउँपालिकाले चौरीसहित पशु, चौपायापालनमा आकर्षण थप्न बिमा कार्यक्रम अघि सारेको छ। गाउँपालिकाले आफ्नै पहलमा गत वर्षदेखि बिमा कार्यक्रम अघि सारेको थियो। बिमा कार्यक्रममा किसान आकर्षित देखिएको गाउँपालिकाको पशुसेवा शाखाले जनाएको छ। शाखाका अनुसार अहिलेसम्म भैंसी, गाई, याक र चौरीसमेत सात सय चौपायाको बिमा गरिएको छ। ७५ प्रतिशत सरकारी अनुदान रहने बिमा कार्यक्रमम किसानले २५ प्रतिशत रकम बेहोर्दै आएका छन्।

चार महिनाअघि ८० हजार रुपैयाँ मूल्य पर्ने भैंसी रोगले मरेपछि स्थानीय आइती लामा खिन्न थिइन्। तर बिमा गरेकाले उनी दुःखी भइरहनुपरेन। एक हजार तीन सय ५० रुपैयाँ तिरेर भैंसी बिमा गरेकी उनले मंगलबारै गाउँपालिकाबाट ७२ हजार रुपैयाँको चेक पाइन्। बिमा कार्यक्रम प्रभावकारी रहेको सुनाउँदै उनले भनिन्, ‘बेलैमा सोच–विचार पु¥याए पछुताउनु नपर्ने रहेछ।’

प्रकाशित: २१ भाद्र २०७६ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App