४ वैशाख २०८१ मंगलबार
समाज

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

तनहुँ - पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् । झरनामा रमाउँदै, तस्बिर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन् । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण झरनामा रमाउन पुग्ने गरेका छन् ।

दमौलीका विनय शाहले झरना निकै मनमोहक रहेकोले यहाँ आउने जोकोही पनि मोहित हुने गरेको बताए। गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो झरनाले पनि पर्यटकआकर्षित गर्न सक्ने शाहले बताए । “झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ,” उनले भने ।

व्यास नगरपालिका–२ का शिवहरि धितालले ऐनापहरा झरना निकै आर्कषक लागेको बताए । “झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ”, उनले भने, “यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सक्नुपर्छ ।”

झरनामा तनहुँलगायत गोरखा, चितवन, लमजुङलगायतका आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले झरनामा पर्यटकको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार यस क्षेत्रमा शौचालय, रेलिङ र बसपार्क निर्माणको काम सुरु गरिएको छ । यी पूर्वाधार निर्माणका लागि गाउँपालिकाले रु नौ लाख बजेट विनियोजन गरेको छ । “पर्यटकको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि  बसपार्क निर्माण थालेका छौँ”, उनले भने, “साथै शौचालय निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।”

गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारसँगै रहेको यस झरनाले सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सहयोग पु¥याउने अध्यक्ष थापाले बताए। “राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेट्ने थलो बनाउन थालेका छन्,” उहाँले भन्नुभयो, “यसले गर्दा यहाँ केही पसल खुलेका छन्, जसले गर्दा स्थानीयवासीलाई आम्दानीको स्रोत पनि बनेको छ ।”

झरनाको प्रवद्र्धनका लागि गाउँपालिकाले प्रचारप्रसार अभियानलाई पनि तीव्र पारिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताए। “गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा झरनालाई विकास गर्ने योजना बनाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

पौडेलका अनुसार झरनासँगै रहेको ठूला चट्टानी ढुङ्गामा बसेर पर्यटकहरु तस्वीर खिच्न मन पराउने गरेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। २ र ४ को सीमानामा पर्ने झरनामा तनहुँकै अग्लो महाभारत श्रृङ्खला छिम्केश्वरीको फेदीबाट सिउदी खोलाको पानी बगेर आएको छ ।

प्रकाशित: १६ भाद्र २०७६ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App