८ वैशाख २०८१ शनिबार
समाज

दाइजोले उजाडियो सपना

धनुषा- गत वर्ष २६ वर्षीया रमिताकुमारी रायको विवाह जनकपुरधाम उपमहानगरपालिका–७ स्थित शशि भट्टसँग बडो तामझामका साथ सम्पन्न भएको थियो। दुवैको दाम्पत्य जीवन एकदमै सुमधुर बित्ने भन्दै परिवार पनि ढुक्क थियो। परिवारले उनीहरूको जीवनमा कुनै प्रकारको संकट नआओस् भनी सरकारले प्रतिबन्ध गरेको दाइजो पनि दियो। यति मात्र होइन, ती जोडीले पनि एकअर्कालाई जीवनभर साथ दिने वाचा गर्दै सुखद् दाम्पत्य जीवनको सुरुआत गरेका थिए। तर, जीवनभर साथ दिने वाचा गरी विवाह गरेका शशिले रमिताको सपना दुई वर्ष नबित्दै विपनामा परिणत गरिदिएका छन्।

विवाह गरेको एक महिना नबित्दै शशिको वाचाको सामु दाइजो शक्तिशाली सावित भयो। ‘दाइजोकै लागि शशिले मलाई विवाह गरेको दोस्रो महिनादेखि नै निर्घात कुटपिट गर्न थाले,’ पीडित रमिताले भनिन्, ‘पटक–पटक कुटपिट गर्छन्। छिमेकीले थाहा नपाऊन् भनी मुखमा कपडा राखी कोठामा थुनेर कुटपिट गर्छन्। माइत जानसमेत दिँदैनन्, न फोनमा कुरा गर्न !’ वर्षभर हिंसाको सिकार भएकी रमिता गत पुसमा गर्भवती भएकी शशिले थाहा पाए। केही दिनपछि शशिले रमितालाई निजी क्लिनिकमा गर्भमा छोरा छन् कि छोरी भनेर जाँच गराउन लगे। जाँचपश्चात रमिताको गर्भमा छोरी रहेको शशिले थाहा पाए।

‘छिमेकीले थाहा नपाऊन् भनी कहिले मुखमा कपडा राखी कुटपिट गर्थे त कहिले घरमा साउण्ड बक्स बजाएर सहनै नसक्ने गरी कुटपिट गर्थे मलाई’

रमिताले गर्भमा छोरी बोकेको थाहा पाएपछि शशिले दिनानुदिन बढी हिंसा गर्न थालेको पीडित रमिताले सुनाइन्। ‘श्रीमानले गर्भपतन गराउन भने, पहिलो सन्तान हो भनेर मैले उहाँको कुरा मानिनँ,’ उनले भनिन्, ‘त्यसपछि सासू, देवरसमेत मिलेर कुटपिट गर्न थाले। बाहिरको मान्छेले थाहा नपाओस् भनी घरमा साउण्ड बक्स बजाएर सहन नसक्ने गरी कुटपिट गरे मलाई।’

गत असार २४ गते राति परिवारले ज्यानै सिध्याइदिने भन्दै कुटपिट गरे, धन्न छिमेकीकै कारण त्यस बेला बाँचें भन्दै उनले रुँदै सम्झिइन्। विवाह गरेको एक वर्षमै श्रीमानको हिंसाबाट आजित भइसकेकी रमितालाई साउन १४ गते उनको ससुरा पक्षले योजनाबद्ध तरिकाले ज्यान लिने प्रयास गर्‍यो। त्यति बेला पनि छिमेकीकै कारण बाँचेको उनको भनाइ छ।

‘त्यस समयमा गर्भमै छोरीको ज्यान लिने प्रयाससमेत गरेका थिए,’ उनले भनिन्, ‘त्यसको भोलिपल्टदेखि मेरो अवस्था नाजुक भयो। भोलिपल्ट मलाई देवरले अस्पताल भर्ना गराए तर, त्यहाँ बेवास्ता गरियो।’ घरपरिवारको बेवास्ताकै बीच रमिताले साउन १५ गते छोरी जन्माइन्।

छिमेकीले रमिताका दाइ राकेशलाई त्यसदिनको घटनाबारे फोन गरी संक्षिप्त जानकारी गराएका थिए। रमिताका दाइ राकेशले बहिनी पीडामा रहेको थाहा पाएपछि भोलिपल्ट नै उसलाई भेट्न गएका थिए। ‘दाइले मेरो अवस्था देखेपछि आफूलाई सम्हाल्न सकेनन्,’ उनले भनिन्, ‘उहाँले मेरो अवस्था देखेपछि मलाई माइती नै लग्ने निधो गर्नुभयो तर, मेरा श्रीमानले जान दिएनन्, पछि प्रहरीसँग सहकार्य गरी माइती आएँ। अहिले यहीं बसिरहेको छु।’

प्रहरीको सहारामा ससुराबाट माइती आएकी रमिताले दाइ राकेशकुमार रायको सहारामा शशिविरुद्ध महिला तथा बालबालिका कार्यालयमा दुर्व्यवहार र कुटपिटको मुद्दा दर्ता गराइन्। त्यतिबेला शशिलाई कार्यालयले दोषी ठहर गर्दै २४ दिन थुनामा राखेर नेपाल प्रहरीका असईसमेत रहेका उनलाई ६ महिनाका लागि निलम्बनसमेत गर्‍यो। निलम्बनमा परेपछि शशिले अहिले प्रत्येक दिन रमितालाई धम्की दिँदै आएका छन्। श्रीमानको हिंसाबाट पीडित भएकी रमितालाई अब सँगै बाँच्ने इच्छा नरहेको बताइन्। ‘शशिसँग बाँच्ने रहर उनको कालो करतुतको कारण मरेर गयो,’ उनले भनिन्, ‘शशिसँग बाँच्न सक्दिनँ, उनलाई मेरो ज्यानको कुनै पर्वाह छैन।’

‘अब मलाई न्याय चाहियो, म उनीसँगै बसेर न्याय पाउन सक्दिनँ,’ उनले भनिन्, ‘म बाँच्न चाहन्छु, उनीसँग गयो भने उनले फेरि मेरो ज्यान लिन्छन्।’ सहायक प्रहरी निरीक्षक रहेका शशि भट्ट हाल हेटौंडामा कार्यरत छन्। उनले दाइजो नदिएकै कारण श्रीमती रमितालाई पटक–पटक कुटपिट गर्दै आएका थिए। स्थानीय चौकीदेखि जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध आधा दर्जनभन्दा बढी महिला हिंसाको मुद्दा रहेको रमिताका दाइ राकेशले बताए।

 

प्रकाशित: १५ भाद्र २०७६ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App