४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक नखुल्दा थन्कियो स्याउ

किसानले स्थानीय बजारमा बेच्न ल्याएको स्याउ।

मुगु  - सडक सञ्चालनमा आउन नसक्दा मुगुमा फलेको स्याउ ढुवानी गर्न समस्या भएको छ। स्याउ परिपक्व भएर कृषकले टिपिसकेको भए पनि मोटर बाटो सञ्चालन नहुँदा ढुवानीमा समस्या भएको हो।

यस वर्ष जिल्लामा स्याउ उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुगुकोे प्रक्षेपण भए पनि बिक्री गर्न नपाउँदा कृषक चिन्तित छन्। गत वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएको मुगुबाट चार मेट्रिक टनमात्र निर्यात भएको थियो। यस वर्ष जिल्लामा ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान केन्द्रका निमित प्रमुख सुकिराम नेपालीले बताए।

यस वर्ष बारीमा उत्पादन भएको स्याउ नेपालगञ्ज, सुर्खेतलगायत ठाउँमा लगेर आफैं बिक्री गर्ने योजना किसान सर्जनदेवी रोकायाको छ। तर उत्पादित स्याउ भण्डारण गर्ने ठाउँ नभएका कारण समस्या छ।

स्याउ टिपिसक्दा पनि मोटर बाटो सञ्चालनमा आउने छाँटकाँट नदेखिएपछि आफूहरूलाई बेफाइदा हुने हो कि भन्ने चिन्ताले किसान चिन्तित बनेका छन्। बगैंचामा स्याउ पाकिसके पनि वर्षाका कारण कुहिएर खेर जाने हो कि भन्ने चिन्ता रहेको छायानाथ रारा नगरपालिका–५ का किसान हरिबहादुर रोकायाले बताए। ‘मौसम राम्रो हुँदा स्याउका चाना बनाउन सकिन्थ्यो तर मौसम पनि राम्रो छैन। ताल्च विमानस्थल भएर नेपालगन्ज जाने हवाई यात्रुले दुई–चार केजी लैजान्छन्,’ रोकायाले भने, ‘अरू बगैंचामा झर्न थालेका छन्।’

यो बेला मुगुका बाम, ताल्च, रोवा, सोभा, सोरुकोट, खमाले, सेरी, माँग्रीलगायत क्षेत्रमा स्याउ पाकेर झर्न थालेको छ। अहिले बगैंचामै ३० देखि ४० रुपैयाँमा स्याउको किनबेच भइरहेको छ। मुगुबाट जुम्ला कालीकोट सिमाना नाग्मसम्म ल्याउन अति गाह्रो छ। प्रतिकेजी आठ देखि १० रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपर्छ। यो वर्ष पनि जिल्लामै थन्किने सम्भावना बढेको छ।

प्रकाशित: १४ भाद्र २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App