१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रात परेपछि सुरक्षित बासको खोजी

रसुवाको कालिका गाउँपालिका–४ देवकोटा टोलमा बस्तीमाथिबाट झरेको पहिरो। तस्बिर: हिमनाथ/नागरिक

रसुवा - कालिका गाउँपालिका–४ देवकोटा टोलका टीका देवकोटा चार दिनदेखि छिमेकीको घरमा बस्दै आएका छन्। शुक्रबार रातिको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो आएपछि उनले राति नै घर छाडेका हुन्। दिनभर आफ्नै घरमा बस्ने उनको परिवारले रात परेपछि छिमेकीको घरमा डेरा सर्ने गरेको छ।

उनको घरनजिकै रहेका रूख लर्किएका छन् भने जमिन पनि धस्सिँदै गएको छ। ‘अहिले घरमा बस्नसक्ने अवस्था छैन,’ उनले भने, ‘पहिरो आइहाल्यो भने त सखाप हुन्छ।’ अहिले पहिरो नबढेको भए पनि ठूलो पानी आउँदा भने पहिरोले ठूलो क्षति गर्न सक्ने उनको भनाइ छ।

स्थानीय शिवप्रसाद देवकोटाले पानी ठूलो पर्दा विगतका वर्षमा पनि डाँडा साइडमा रहेको छिमेकीको घरमा सर्ने गरिएको बताए। ‘पहिरो जानुभन्दा दुईतीन दिनअगाडि त्यहाँ जमिन भासिएको थियो, त्यतिबेला नै हामीले पहिरो जाने अनुमान गरेका थियौं,’ उनले भने, ‘त्यसको पर्सिपल्ट त पहिरो गयो।’

उनले साढे एक रोपनीमा लगाएको धान पुरिएको छ। खेतमा ढुंगामाटो र रूख गएर थुप्रिएको छ। गाउँमा चारजनाको धानखेत पहिरोले पुरेको उनले सुनाए। उनका अनुसार सो गाउँका १० घर पहिरोको जोखिममा परेका छन्। जंगलबीचबाट नयाँ पहिरो आएपछि गाउँले अहिले त्रासमा छन्।

पहिरोले जाइकाले निर्माण गरिरहेको सेतीदेवी माविको भवनमा पनि क्षति पु¥याएको छ। हस्तान्तरण हुने चरणमा रहेको सो भवनको शौचालयको केही भागमा क्षति पुगेको स्थानीयले बताए। पानी ठूलो परेर पहिरो बढ्यो भने धेरै क्षति हुने विद्यालयले जनाएको छ। थप पहिरो जान नदिन पहिरो गएको सुरुको भागमा त्रिपाल बिछ्याइएको छ। सो त्रिपाल कालिका गाउँपालिका र जाइकाले उपलब्ध गराएका हुन्। प्रभावित क्षेत्रमा शनिबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलगायत सुरक्षा टोली र स्थानीय तहको टोली पुगेको थियो।

पहिरोप्रभावितलाई त्रिपाल तथा प्लास्टिक उपलब्ध गराउने काम भइरहेको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। ‘वर्षाको समयमा अरू केही गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘प्रभावित क्षेत्रमा जाने र त्रिपाल तथा प्लास्टिक दिने काम गरिरहेका छौं।’ वर्षा सकिएपछि अन्य योजना बनाउने उनको भनाइ छ। रसुवाका प्रजिअ भण्डारीले त्यस क्षेत्रमा थप पहिरो जान नदिन पहिरो रोकथामको कार्य भइरहेको बताए। बस्ती तथा विद्यालय भवन जोगाउनु पर्ने र धानखेतमा पहिरोले क्षति गरेकाले यी सबैलाई सम्बोधन गरिने उनको भनाइ छ।

वर्षामा विपद्का घटना बढी हुने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको क्षेत्रभन्दा अन्य क्षेत्रमा पहिरो गएको छ। मनसुन आपत्कालीन कार्ययोजना २०७६ मा उल्लेख भएअनुसार पाँचवटै गाउँपालिकाका विभिन्न स्थान पहिरोको जोखिममा छन्।

जिल्लाको उत्तरगया गाउँपालिकाको तिरु, गोगने, सिरुचेत, मैलुङ, कटुन्जे, लयुङ, पैरेबेसी क्षेत्र, गोसाइँकुण्डको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, खोपाङ भीर क्षेत्र, लाङटाङ, मुन्डुप, सिन्धुम, लामा होटल तथा धुन्चे रसुवागढी सडक क्षेत्र पहिरोको जोखिममा छन्।

प्रकाशित: १० भाद्र २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App