coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘दाङमा सर्पदंशको उपचार छैन’

घोराही– गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो।    

राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना राति सर्पले टोकेपछि उपचारका लागि भारतमा लैजाँदै गर्दा बाटोमा निधन भएको हो। समयमै उपचार नपाएका कारण दुई बहिनीको सर्पदंशका कारण अकालमै ज्यान गुमाउनुपरेको परिवारको गुनासो छ।   

उपचारका लागि भारतकै भर पर्नुपर्ने बाध्यतामा रहेका भौवानाका स्थानीयवासीले सर्पदंशको विगबिगी बढ्दा झनै समस्या भोग्ने गरेका छन्। मृतक बालिकाका बुबा शेरबहादुर भन्छन्,“उपचार समयमै पाउनका लागि नजिकै अस्पताल भएको भए मैले अहिले यो नियती भोग्नुपर्ने थिएन,” उनले भने,“हामीलाई त सामान्य भन्दा सामान्य उपचार गर्न पनि भारतकै भर पर्नुपर्ने अवस्था छ।”

सर्पदंशका कारण दुई छोरीको मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ, तर फेरि यस्तै अवस्था दोहोरिने होकी भन्ने त्रासमा सार्की परिवार मात्र होइन्, सिङ्गो गाउँ पनि छ। गत भदौ ३ गते पनि तुलसीपुर १२ कुइरेपानीकी ३१ वर्षीय वृहस्पति चौधरीलाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोक्यो। जिल्लामा उपचार नभएका कारण उनलाई पनि उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटो मै मृत्यु भयो।    

सर्पदंशको उच्च जोखिममा रहेको दाङमा उपचार केन्द्र नहुँदा सर्पदंशका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ। जिल्लाका ठूला भनिएका राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार हुने गरेपनि प्रभावकारी उपचार हुन सकेको छैन। सर्पले टोकेको सामान्य उपचार हुने गरेपनि जनशक्ति अभाव र आवश्यक पूर्वाधार नहुँदा उपचार हुन नसकेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डट डा. सर्वेश शर्माले बताए।    

‘हाम्रो जनशक्तिले सकेजति उपचार हुने गरेको छ, नसक्ने जिल्ला बाहिर पठाउने गरेको छ’ उनले भने,“सर्पदंशको बिगबिगी बढ्दै छ, बिरामी आउने क्रम बढ्न थालेको छ तर हामीकहाँ आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको छ।” यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सर्पदंशको प्रभावकारी उपचार हुन सकेको छैन्। जसका कारण सर्पदंशका बिरामी जिल्ला बाहिर जान बाध्य छन्।   

दाङमा ठूला भनिएका अस्पतालमा अहिले पनि सर्पदंशको उपचार नहुँदा जिल्लाका नागरिकले सर्पदंशको उपचार लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।    

दाङ सर्पदंशको उच्च जोखिममा देखिएको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दाङका तीन स्थानीय तह सर्पदंशको उच्च जोखिममा देखिएका हुन्। केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालका अनुसार दाङको राजपुर, गढवा र दङ्गिशरण गाउँपालिका सर्पदंशको उच्च जोखिममा छन्।   

सर्पदंशका कारण जिल्लामा तीन वर्षमा १५ जनाको मृत्यु भइसकेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा तीन, ०७४÷७५ मा चार, बितेको वर्षमा पाँच र चालु वर्षमा चार जनाको मृत्यु भइसकेको छ। दाङका दुई स्थानीय तह सर्पदंशको मध्यम जोखिममा छन्। राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको मध्यम जोखिममा रहेको केन्द्रका अधिकृत दाहालले बताए।  

उनका अनुसार खासगरी झाडी क्षेत्र, नदी आसपासका क्षेत्रमा सर्पदंशको जोखिम छ। गर्मिसँगै वर्षायाममा सर्पको बढी बिगबिगी हुने हुँदा जोखिम तथा सबै क्षेत्रका नागरिकलाई विषेश सतर्कता अपनाउन उनले आग्रह गरे। पछिल्लो समय सर्पदंशको बिगबगी बढ्दै गएको भन्दै घर आसपासको झाडी भए उक्त क्षेत्र खुल्ला राख्नुपर्ने, झ्याल ढोका बन्द गरेर सुत्नुपर्ने, सम्भव भए कोठामा मट्टीतेल राख्नुपर्ने, बाहिर रातिमा हिँड्दा उज्यालो बिना हिँड्न नहुने उनले बताए।    

उनले सर्पले केही गरी टोकिसक्यो भने झारफुक भन्दा पनि जतिसक्दो चाँडो अस्पतालमा पु¥याउन आग्रह गरे। “अहिले पनि कतिपय अवस्थामा घरमै झारपुक गर्ने प्रचलन छ”, उनले भने, “घरमै झारफुक गर्ने गरेका कारण पनि उपचारमा ढिलाइ हुने हुँदा बिरामीको मृत्यु हुने गरेको छ।”रासस

प्रकाशित: ९ भाद्र २०७६ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App