२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्वसाधारणको विरोध पछि जिपको भाडा घट्यो

डोल्पा– त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाभित्र आन्तरिक सडकमा चल्ने जीपहरुको नयाँ भाडादर कायम गरिएको छ। सदरमुकाम दुनै– जुफाल, रुपगाड– सुँपानी, जुफाल –सुँपानी, दुनै –सुँपानी र छलगाड– खदाङ्ग सडक खण्डमा चल्ने यात्रु जीपहरुको नयाँ भाडादर तोकिएको हो। जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, अस्थायी जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, जीप ब्यवसायी र नागरिक समाजका प्रतिनिधिको उपस्थितीमा नयाँभाडादर कायम गरिएको प्रशासन कार्यालयले जनाएको छ।

सर्बपक्षीय बैठकले दुनै–रुपगाड १००, रुपगाड–जसफाल २५०, रुपगाड–सुँपानी २५०, त्रिपुराकोट–खदाङ्ग ३००, खदाङ्ग–साङले ५०, दुनै–सुँपानी ३५० र सुँपानी–जुफाल २०० हुने गरि नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। यसअघि प्रतियात्रु दुनै–सुँपानी ५००, दुनै–रुपगाड १५०, दुनै–जुफाल ४५०, भेत्ती–सुँपानी १०० र छलगाड–खदाङ्ग ५०० रुपैयाँ जीप ब्यवसायीले असुल गर्दै आएका थिए। 

आन्तरिक सडकमा चल्ने जीपहरुले सर्बसाधारणबाट चर्को भाडा असुल गरिरहँदा पनि सम्बन्धित निकाय बेखवर जस्तै भएर मुखदर्शक बनिरहेपछि सर्बसाधारणले चर्को विरोध गरिरहेका थिए। नयाँ भाडादर कायम गरिए पनि यसको समय समयमा सम्बन्धित नियमनकारी निकायबाट प्रभावकारी अनुगमन हुनु पर्ने स्थानीय सुशीलकुमार बोहराले बताए। उनले भने, ‘विगतमा जीपहरुले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने र बोकेको भेटिएमा कारवाही गरिने निर्णय भयो। तर, अहिले पाँच सिटे जीपले २० देखि २५ जनासम्म यात्रु बोकिरहेका छन्। ट्राफिक प्रहरी आँखामा पट्टी बाँधेर बसेसरह बसिरहेको छ। यस्तै हुने हो भने नयाँ भाडादर घट्नु र नघट्नुको कुनै अर्थ रहने छैन’, उनले गुनासो गरे। 

प्रकाशित: ७ भाद्र २०७६ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App