५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लट्याउने औषधिले बढायो समस्या

सोलुखुम्बु – बासाका अर्बिन राई देब्रे खुट्टाको बुढीऔंलामा खिल जमेपछि झिक्नका लागि साउन २४ मा स्वास्थ्यचौकी पुगे। खिल निकाल्न भन्दै स्वास्थ्यकर्मीले मासु लाटो पार्ने सुई लगाए तर रियाक्सन अनौठो देखियो। औषधिकै कारण बुढीऔंला बिस्तारै कालो हुँदै गयो। बिरामीलाई दुखाइ बढ्न थाल्यो। मासु लाटो पार्न ‘लिग्नोकेन’ सिरिन्ज प्रयोगपछि राईको औंलामा समस्या देखिएको हो। त्यसपछि बिरामी आफैं जिल्ला अस्पताल आए।

जिल्ला अस्पतालले पनि काठमाडौंका लागि रेफर ग¥यो। जहाजबाट काठमाडौं पुगेका राईको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनले भने, ‘अहिले उपचार भइरहेको छ, समस्या बढेको छैन तर बूढीऔंलाको बिग्रेको भाग काटेर फाल्नुपर्ने संकेत देखिएको छ।’ बिरामी राईले मासु लठ्याउन प्रयोग गरिएको औषधिमै खराबीको शंका गरेका छन्। ‘गलत रियाक्सन दिने औषधि प्रयोग रोकेर अनुसन्धान गर्नुपर्छ। समस्या समाधानका लागि स्वास्थ्यचौकी गएको म उल्टो समस्या बोकेर फर्कनुप¥यो। यो दुःखदायी कुरा हो’, उनले भने।

राईको औंलामा गलत रियाक्सन देखिइसकेपछि पनि अर्की एक बालिकामा पनि सोही औषधि प्रयोग गरियो। हिमालय माविमा कक्षा ६ मा अध्ययनरत प्रमिला नेपालीको हातको औंलामा सुई लगाउँदा पनि सोही रियाक्सन देखिएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन्। ती बालिकाको सदरमुकाम सल्लेरीको हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। औलामा काँडा बिझेपछि बसेको खिल निकाल्न ‘लिग्नोकेन’ सिरिन्ज प्रयोग गरिएको थियो। औंलाको मासु मर्दै गएपछि उनलाई पनि अन्यत्र पठाइएको बासा स्वास्थ्यचौकीका इन्चार्ज त्रिनाथ राईले बताए।

समस्या आउँदाआउँदै दोस्रोपटक पनि सोही औषधि प्रयोग गरिनुलाई स्वास्थ्यकर्मीको हेलचक्र्याइँका रुपमा हेरिएको छ। स्वास्थ्यचौकीका इन्चार्ज राई भने यो आरोप स्विकार्न तयार छैनन्। ‘दोस्रो बिरामीमा पनि उस्तै समस्या देखिएपछि औषधि प्रयोगमा बन्देज लगाइएको छ। अनुसन्धानका लागि पठाउने तयारी भएको छ’, उनले भने। अघिल्ला वर्षहरुमा पनि सोही औषधि प्रयोग गरेर उपचार गरिरहेको तर यो पटक लगातार दुई बिरामीमा समस्या देखिनुलाई गम्भीर रुपमा लिएको इन्चार्ज राईको भनाइ छ।

प्रकाशित: ४ भाद्र २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App