१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘सरकारभन्दा भ्रष्टाचारी बलियो’

खोटाङ – प्रदेश सांसद उषाकला राईले मुलुकमा सरकारभन्दा भ्रष्टाचारी बलियो भएको टिप्पणी गरेकी छन्। आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर उनले भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद भ्रष्टाचारी बलियो बनेको बताएकी हुन्। ‘सरकारले भ्रष्टाचार, विभेदलगायत अन्त्य गर्ने प्रयत्न गरिरहेको छ,’ राईले भनिन्, ‘तर यहाँ किन सरकारभन्दा भ्रष्टाचारी बलियो बनिरहेका छन् ? किन बारम्बार विभेद बल्झिने गर्छ, किन हिंसाले मान्छेलाई डसिरहन्छ ?’

राईले नेपाली जनताद्वारा सहिदको रगतले लेखिएको नेपालको संविधान २०७२ को अक्षरशः पालना नहुँदा भ्रष्टाचार, विभेद र हिंसाले प्रश्रय पाएको बताइन्। उनले संविधानमा स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमानलाई अक्षुण्ण राख्ने, विभेदको अन्त्य गर्ने उल्लेख गरिए पनि सरकार तथा प्रतिपक्षी दलले संविधानको कार्यान्वयनमा उदासीनता देखाएको उल्लेख गरिन्। ‘संविधानमा लेखिएको अक्षर कालो मसीको थोपा मात्र होइन, सहिद, नेपाली जनताको त्याग, तपस्या र रगतले लेखिएका अक्षर हुन्। तर यी विषयबाट हामी कतातिर जाँदै छौं भन्ने प्रश्न उठिरहेको छ। यो सरकारप्रतिको मात्र प्रश्न होइन। प्रतिपक्षी पनि जिम्मेवार हुनुपर्छ।’

सांसद राईले वर्तमान सरकारले सामाजिक विभेद अन्त्य गर्ने कुरा गरिरहे पनि महिलामाथिको हिंसा, बलात्कार तथा दलितमाथिको छुवाछूत दोहोरिरहेको बताइन्। ‘हामी बोल्छौं, प्रतिबद्धता व्यक्त गर्छौं तर कार्यान्वयनमा कहाँ चुकिरहेका छौं,’ राईले भनिन्, ‘आमूल परिवर्तनका लागि यत्रो संघर्ष र क्रान्ति भएको हो तर क्रान्तिका ती विषय तथा दुःखकष्टका आवाजलाई बिर्सिंदै गएकोमा ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २ भाद्र २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App