४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एकको दर्ता खारेज, तीनमा तालाबन्दी

लहान १ मा गैरकानुनी रुपमा सञ्चालन भैरहेको लिला मदन पोलिक्लिनिक एण्ड प्रसुती गृहमा तालाबन्दी गर्दै जिल्ला स्थित अनुगमन समिति। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - गैरकानुनी रूपमा सञ्चालित जिल्लाका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। अनुगमनका त्राममा मापदण्ड विपरित सञ्चालित, नविकरण नगरिएका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

लहान स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसूती गृहमा सोमबार अनुगमन समितिले तालाबन्दी गरेको छ।  नविकरणको म्याज गुजारेर स्वतः खारेजीमा परिसकेको पोलिक्लिनिकलाई बन्द गर्न जेठ २१ गत्ते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्र पठाएको थियो। 

जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादव, इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारी, जिल्ला स्थित उपभोतmा मञ्चका पदाधिकारीसहितको अनुगमन टोलीले लहानमा सञ्चालित पोलिक्लिनिक र डेन्डल क्लिनिकको अनुगमन गर्दा अधिकांशले नियम विपरित सेवा सञ्चालन गरेको पाइएको हो।  अनुमतिबिना नै सञ्चालनमा रहेको लहान–३ अस्पताल चोक स्थित हिमाल डेन्डल क्लिनिकमा समेत तालाबन्दी गरिएको छ। 

सेराज पोलिक्लिनिक, त्रिशतिm पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिकमा अनुगमन गर्दा अनुमति लिएकोभन्दा बाहेकको सेवा सञ्चालन गरेको पाइएपछि ती सेवाहरु बन्द गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए।

सेराज पोलिक्लिनिकमा डेन्टल, प्रसुती र भिडियो एक्सरेलगायतका सेवा अनुमति बेगर गैरकानुनी रुपमा सञ्चालन भैरहेको पाइएपछि ती सेवा बन्द गरि सञ्चालकलाई सचेत गराइएको थियो।  त्रिशतिm र एडभान्स पोलिक्लिनिकमा पनि भिडियो एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको डा. यादवले बताए।   लहान– ३ अस्पताल चोक स्थित दिव्या चाइल्ड केयरमा अुनमति बेगर बिरामी भर्न गरि उपचार गरिरहेको पाइएको थियो। 

जिल्लामा सञ्चालित पोलिक्लिनिकहरुलाई प्रसुती सेवा अनुमति छैन्।  तर, अधिकांश पोलिक्लिनिक र मेडिकेयर सेन्टरले गैरकानुनी रुपमा प्रसूती सेवा सञ्चालन गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रशासकिय अधिकृत उमेशलाल कर्णले बताए।  गैरकानुनी रुपमा सञ्चालित निजी स्वास्थ्य संस्था वर्षौदेखि सञ्चालन हुँदै आएपनि कारबाही गर्ने आँट सम्बन्धित निकायले गरेको थिएन।  तर, जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन भएसँगै धमाधम कारबाहीअघि बढेको एक स्वास्थ्यकर्मीले बताए।  वर्षौदेखि स्वास्थ्य क्षेत्रमा ब्याप्त बेथिति अब दूर हुने जनमानसमा भरोसा पलाएको ती स्वास्थ्यकर्मीले बताए।

नियमनकारी निकाय मौन बस्दा जिल्लामा एउटै नामबाट दुई वटासम्म स्वास्थ्य संस्था सञ्चालन भएको थियो।  लीला–मदन पोलिक्लिनिक एन्ड प्रसूति गृह लहान–१, टेम्पो स्टेन्ड र लहान–१कै एलएमसी कलेजनजिक गरी दुई ठाउँमा सञ्चालन गरिएको थियो।  जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख उमेशलाल कर्णले भने यो पोलिक्लिनिक स्वतः खारेजीमा परिसकेको बताएका छन्।

लहान नगरपालिका–५(हालः लहान–३) मा सञ्चालित कामना नर्सिङ होम प्रालि, डिभाइन अस्पताल, फ्रेन्ड्स मोडेल, रेखा नर्सिङ्ग होम मिर्चैया, लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, चोहर्वा, माँ धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैयालगायतले कानुनी हैसियत गुमाइसकेकोले अर्को चरणको अनुगमनबाट कारबाही प्रक्रिया अघि बढाउने जिल्ला स्वास्थ्य  प्रमुख डा. नागेन्द्र यादवले जानकारी दिए। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारी सकेका स्वास्थ्य संस्थाहरूलाई किन दर्ता खारेज नगर्ने भनेर स्पष्टीकरण मागिएको थियो।  तर कसैले स्पष्टीकरण नदिएको प्रशासकिय अधिकृत कर्णले बताए।  तसर्थ त्यस्ता स्वास्थ्य संस्थाहरू स्वतः खारेजीमा परेको उनले बताए। 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा सञ्चालित अवैधानिक स्वास्थ्य संस्थाको अनुगमन गरि कानुन बमोजिम कारबाहीका लागि इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारी र जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादवको नेतृत्वमा समिति गठन गरिदिएको बताए। 

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्शिका २०७० को दफा १२ को (१) अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थाले अनुमति अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणका लागि निवेदन दिनुपर्ने प्रावधान छ।

यही दफाको उपदफा–१ बमोजिम निवेदन प्राप्त भएमा अनुमति प्रदान गर्ने निकायले अनुसूची ६ मा उल्लेख भएको दस्तुर लिई तीन वर्षका लागि प्रत्येक एक वर्षका लागि अनुमति नवीकरण गरिदिनुपर्ने उल्लेख गरिएको छ।  अवधि सकिएको तीन महिनाभित्र निवेदन पेश गर्न नसकेको मानसिव कारण खुलाइ थप ६ महिनाभित्र निवेदन पेश गरेमा दोब्बर दस्तुर लिएर नवीकरण गरिदिने व्यवस्था छ।  तर, यसो नगरेमा दफा १२ (४) बमोजिम स्वास्थ्य सेवा सञ्चालन अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ।

स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाहरूले कानुनी रूपमा सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने डा. यादवले बताए।  तर, कानुन कार्यान्वयन पक्ष कमजोर हुँदा यी स्वास्थ्य संस्थाहरूले आफ्ना सेवा सञ्चालन गरिरहेका थिए, छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App