८ वैशाख २०८१ शनिबार
समाज

धरानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

काली खोलामा उद्दार गरेको किङ कोब्राको साथमा उद्दारकर्ता प्रेम विष्ट । तस्बिर सौजन्यः भैरव आङ्ला

धरान– विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा(राजगोमन)सर्प धरानमा भेटिएको छ। साविक विष्णुपादुका गाविस(हाल धरान वडा नं २०) स्थित कालीखोलामा शनिबार दुर्लभ किङ कोब्रा भेटिएको हो।

धरानबाट सिस्नो टिप्न गएका युवाहरुले लामो र ठुलो सर्प देखेका थिए। सञ्चारकर्मी भैरव आङ्लामार्फत सर्प उद्दारकर्ता प्रेम विष्टसँग सम्पर्क भएपछि विष्टले उक्त कोब्रालाई कालीखोलाबाट उद्दार गरेका थिए। मोरङको इलाका वन कार्यालय, मंगलबारेमा सशस्त्र वन रक्षक रहेका विष्ट लामो समयदेखि सर्प उद्दार गर्ने कार्यमा संलग्न छन्। उनले शनिबार उद्दार गरेको कोब्रालाई वन कार्यालयमा नै संरक्षण गर्ने गरी आफ्नो साथमा लिएर गए थिए।

उद्दारकर्ता विष्टका अनुसार यो ज्यादै दुर्लभ सर्प हो। धरानमा समुन्द्री सतहदेखि ७ सय मिटर उचाईमा भेटिएको हो। एक हजार मिटर उचाईसम्म यो सर्प पाइने जानकारहरु बताउँछन्। यसअघि नेपालमा केही स्थानमा मात्र किङ कोब्रा भेटिएको बताइन्छ। कोशीपुर्वको क्षेत्रमा भने पहिलो पटक सप्रमाण किङ कोब्रा भेटिएको विष्टले बताए। ‘यो असाध्यै दुर्लभ र बिषालु सर्प हो, कोशी पुर्व अहिलेसम्म किङ कोब्रा भेटिएको प्रमाण थिएन,’सर्प उद्दारकर्ता विष्टले भने,‘पुर्व क्षेत्रमा पनि किङ कोब्रा भेटिएको भन्ने यो नै पहिलो प्रमाण हो।’

धरानमा भेटिएको कोब्राको लम्बाई ९ फिट रहेको छ। यो सर्पले साढे ६ फिट लामो धामन सर्प निलेकोले सिस्नो टिप्न गएका युवाहरुले ठुलो आकारमा देखेका थिए। यसअघि नेपालमा म्याग्दी, चितवन र सिन्धुलीमा किङ कोब्रा भेटिएको थियो। सिन्धुलीमा विष्ट आफैले गएर कोब्राको उद्दार गरेका थिए। नेपालमा भएको ३ प्रजातिको गोमन सर्पमध्ये यो सबैभन्दा बिषालु भएको विष्ट बताउँछन्। उनका अनुसार ३ प्रकारको गोमनमा नाजा नाजा, नाजा कौछिया र किङ कोब्रा(राज गोमन) हो। ‘सबैभन्दा बिषालु र लामो सर्प यही किङ कोब्रा हो,’विष्टले भने। कुल ८० प्रजातिको सर्पमध्ये १८ प्रजाति मात्र बिषालु भएको उनले बताए।

प्रकाशित: २५ श्रावण २०७६ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App