coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारी बर्षाले कञ्चनपुरमा डुबान, चुरे क्षेत्रमा तटबन्ध भत्किँदै (फाेटाे फिचर)

महेन्द्रनगर– गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। 

बर्षाकै कारण भीमदत्त नगरपालिका–३ को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ। त्यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरको विष्णु टोलको तटबन्ध पनि भत्किन थालेको छ। बर्षाले विद्यालय परिसरमा पानी भरिएपछि अधिकांश विद्यालयले मंगलबार विद्यार्थीलाई घर फर्काएका छन्।

खनिया खोला नियन्त्रणका लागि निर्माण भएको तटबन्ध मंगलबार बिहानदेखि भत्किन लागेको स्थानीय रनबहादुर नेपालीले बताए। उक्त तटबन्ध भत्किएसंगै बस्ती र झोलुङ्गे पुल जोखिममा परेको छ। भीमदत्त नगरपालिका क्षेत्रका शहरी तथा बजारका बस्ती जलमग्न र डुबानमा परेका छन्। 

चुरे भएर बग्ने नदी खोला तथा खहरे खोलाबाट आउने निकास नहुँदा मुख्य गरेर महेन्द्रनगर बजार क्षेत्रमा पानी अझै थुनिएको छ। अनियन्त्रित रुपमा बनेका संरचनाका कारण पनि जताजतै पानी थुनिएपछि बजार क्षेत्र डुबानमा परेको छ। बजार क्षेत्रसंगै ग्रामिण भेगमा पनि पानी स्थानीयका घरभित्रै पसेको छ।

उत्तरबाट दक्षिणतिर बग्ने नदीनालाका कारण डुवान र जलमग्न भएको स्थानीयको भनाई छ। 

कञ्चनपुरका नागरिक अगुवा प्रभुनिधी पन्तले महेन्द्रनगर बजार क्षेत्रमा भौतिक संरचना र सडक अनुसार पानी निकासको व्यवस्था नभएका कारण सधैं डुबानको समस्या भोग्नु परेको बताए। शहरी क्षेत्र डुबान र ग्रामीण भेग कटानीको उच्च जोखिममा रहेको उनको भनाई छ। 
यसैगरी भीमदत्त नगरपालिकाका वडा नम्बर २, ४, ६, १०, ११, १४, १५, १६, १७, १८ र १९ का अधिकांश भागका बस्ती डुबान परेका छन्। यस्तै वडा नम्बर ५ वनखेतस्थित महिला तथा बृद्ध सेवा केन्द्र समेत डुबानमा परेको छ। भीमदत्त नगरपालिकासंगै कञ्चनपुरका अन्य क्षेत्रमा पनि डुबान परेको छ।

जिल्ला प्रहरी कार्यालयले अबिरल रुपमा बर्षा भएपछि संभावित घटना रोक्नका लागि प्रहरी परिचालन गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता गणेश बमले समान्य डुवान तथा जलमग्न भएको बताए।

यस्तै, वर्षाले पानीको वहाव बढेसँगै नेपाल भारत जोड्ने महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा ठुला सवारी साधन आवत जावतमा रोक लगाएको छ। सय बर्ष भन्दा पुरानो उक्त पुलमा महाकालीको जलस्तर एक लाख क्युसेक भन्दा बढी भए चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइन्छ। ठुला सवारी साधनमा रोक लगाए पनि पैदल, साइकल, मोटरसाइकल भने आवत जावत गर्न दिएको छ। 

गत रातीदेखिको बर्षाले महाकाली, जोगबुढा, चौधरी, सुनबरा, मछेली, झर्नाखोला, खन्याखोला लगायतका साना तथा ठुला नदिखोलाको जलस्तर बढेपछि छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन्। दिउँसोदेखि बर्षा रोकिएपछि डुबानग्रस्त क्षेत्रका बासिन्दाले केहि राहत महसुस गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App