८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट भित्रिए हजारौं ‘बाेलबम’

सर्लाही - साउन महिनाभर नेपाल तथा भारतका शिवालयमा जल चढाउने तथा पूजा गर्ने भक्तहरूको भिड लाग्ने गर्छ । त्यस्ता भक्त एवं तीर्थयात्री बोलबम, डाकबम, दण्डवत बमलगायत उपनामले पुकारिन्छन् । भारतको सीतामढीनजिक मढिया मन्दिरमा जल चढाउन जिल्लास्थित बाग्मतीको नदीको जल उठाउन आएका तीर्थयात्रीले शनिबार दिनभर सर्लाहीको बाग्मती नदी किनार भरिभराउ बन्यो । हजारौं तीर्थयात्रीको भिडले बाग्मतीसहित पूर्व–पश्चिम राजमार्ग एवं सदरमुकाम मलंगवासम्मको राजमार्ग अस्तव्यस्त बनेको थियो ।

तीर्थयात्राका नाममा भारतबाट आएका कतिपय युवाले बिनाहेल्मेट चारजनासम्म चढेर अत्यधिक गतिमा मोटरसाइकल चलाउँदै ट्राफिक नियमको धज्जीसमेत उडाएका थिए । बाग्मती चोकमा एउटै मोटरसाइकलमा चारजनासम्म चढेर बिनाहेल्मेट आएका भारतीय तीर्थयात्री, पैदल तीर्थयात्री तथा नियमित चल्ने सवारीसाधनको भिड मिलाउन एक दर्जन सुरक्षाकर्मी खटिए पनि हम्मे परेको थियो । राजमार्गको बाग्मती पुलमा घण्टौंसम्म जाम लागेको थियो ।

मढिया मन्दिरमा चढाउने जल उठाउन विशेषगरी भारतको सीतामाढी, भुतही, सोनवर्षा, मेजरगन्ज, सर्लाहीका दक्षिणी क्षेत्रसहित महोत्तरी र रौतहट जिल्लाका तीर्थयात्रीको शुक्रबार र शनिबार बाग्मती नदी किनारमा विशेष भिड लाग्ने गर्छ । अन्य शिवालयमा सोमबार जल चढ्ने भए पनि भारतको मढिया मन्दिरमा भने आइतबार नै जल चढाउने गरिन्छ ।

हजारौं तीर्थयात्रीको भिडले बाग्मतीसहित पूर्व–पश्चिम राजमार्ग एवं सदरमुकाम मलंगवासम्मको राजमार्ग अस्तव्यस्त बनेको थियो ।७लश्र

थरिथरिका बम
तीर्थयात्राको बहानामा बोलबमको भेष धारण गरेर नेपाल आउने अधिकतर भारतीय युवा नेपालतर्फ बियरलगायत मदिराजन्य पदार्थ खुला सेवन गर्न पाइने भएका कारण आउने गरेको पाइएको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रका कोल्डस्टोर तथा होटलमा पसेर बियर सेवन गर्ने त्यस्ता तीर्थयात्रीको घुइँचो लागेको थियो ।

‘एउटै मोटरसाइकलमा चारजनासम्म बिनाहेल्मेट आएका हुन्छन्,’ स्थानीय एक होटल व्यवसायीले भने, ‘कोहीकोही त बोलबमको डे«स लगाएर खानका लागि मात्र आएका हुँदा रहेछन्, कोही भने जल लिएर पनि जाने गरेका गर्छन् । जे होस् हाम्रो व्यापार बढेको छ ।’

बोलबम तीर्थयात्रीलाई भारत र नेपाल दुवैतर्फका प्रहरीले सामान्य जाँचसमेत नगर्ने भएकाले भारतबाट आउने तीर्थयात्रीमध्ये कतिपयले लागूऔषध नेपालतर्फ ओसारपसार गर्ने गरेको स्थानीय बताउँछन् । ‘बोलबम भन्नेबित्तिकै कतै जाँच हुँदैन, अनि जेजे गरे पनि भइहाल्यो,’ एक स्थानीयले भने, ‘अचेल बोलबम रूपमा जल लिन बाग्मती आउने भारतीय युवाले लागूऔषधका रूपमा प्रयोग हुने ट्याब्लेट, कफ सिरफलगायत ल्याएर यताका युवालाई बेच्ने गरेका छन् ।’

अन्य समयमा घरपरिवारबाट कडाइ हुने भएकाले बोलबमकै बहानामा भारतका विभिन्न गाउँका युवायुवतीहरू बाग्मतीसम्म जल लिने बहानामा रमाइलो गर्न आउने गरेको एक जानकारले बताए । जल लिन आउने अधिकतर मोटरसाइकलमा युवायुवतीको जोडी देखिन्छ ।

भारतबाट सार्वजनिक सवारीसाधनमा आउने तीर्थयात्री बाग्मतीबाट जल उठाएपछि झन्डै ५० किलोमिटर पैदल यात्रासहित मढिया मठ पुगेर जल चढाउने गर्छन् । पैदल कुद्दाकुद्दै कतिपय युवती वा महिलाहरू थाकेर लखतरान भएपछि दुईतिर हातमा समातेर दौडाइदिने बहानामा सहायता बमहरू खटिएका हुन्छन् । त्यसरी सहायता गर्ने बहानामा महिला एवं युवतीमाथि दुव्र्यवहार पनि हुने गरेको स्थानीयको गुनासो छ । विशेषगरी शनिबार जल उठाएर जाने तीर्थयात्रीले कतै नबसी मढिया पुगेर जल चढाउनुपर्ने प्रचलन छ । त्यसैले त्यस्ता तीर्थयात्रीलाई डाकबम समेत भन्ने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बोलबम तीर्थयात्रीको अत्यन्त भिड बढेको बताए । अघिल्ला वर्षहरूमा अनियन्त्रित रूपमा बिनाकागजातका मोटरसाइकल नियन्त्रणमा लिने, बिनाहेल्मेट बढी यात्रु चढ्नेलगायतलाई प्रहरीले केही कडाइ गर्न खोजे पनि जिल्लास्थित राजनीतिक दलका नेताहरूको चर्को दबाबका कारण चेकजाँच फितलो बन्दै आएको छ ।

प्रकाशित: १९ श्रावण २०७६ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App