काठमाडौं– ‘आमाबुवालाई सशक्त बनाउ, स्तनपानलाई प्रवद्र्धन गरौ’, भन्ने मूल नाराका साथ यस वर्ष २७ औं विश्व स्तनपान सप्ताह आजबाट शुरु भएको छ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।
भर्खरै जन्मेको शिशुको लागि आमाको पहिलो दूध नै सबथोक हुन्छ। शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो। आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ। सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ। तर यो बिगौती दूधलाई फोहोर दूध भनेर धेरैले फाल्ने पनि गरेका छन्। ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान शुरु गरिसक्नु पर्ने र छोटो–छोटो अवधिमा आमाको दूध खुवाउनु पर्ने बताउँछन्, काठमाडौं मेडिकल कलेज सिनामँगलका चिकित्सक तथा नवजात शिशु बिशेषज्ञ डा।सुनिल राजा मानन्धर।
नेपाल जस्तो विकासोन्मुख देशमा नवजात शिशुको मृत्युदर धेरै छ। एनडिएचएसले २०१६ मा सार्वजनिक गरेको तथ्याँक अनुसार प्रत्येक एक हजार जिवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको छ। सो तथ्यांक अनुसार नेपालमा नवजात शिशुको जन्म पश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर एकदमै उच्च रहेको छ। यसका अतिरिक्त पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रत्येक १ हजारमा ३९ रहेको छ। नेपालमा नवजात शिशुको मृत्यु हुने चारवटा कारणहरु भएको मानन्धरले बताए। उनका अनुसार, संक्रमण, निसासीएको अवस्था, समय भन्दा अगाडि जन्मेको अवस्था र चिसो हुनु लगाएतका कारणले शिशुको मृत्यु हुने गरेको छ। यी चारवटा कारणलाई कम गर्नको लागि स्तनपानले ठूलो भूमिका निर्वाह गर्दछ।
आमाको दूध खाने बच्चा शारिरीक रुपले मात्र नभई मानसिक रुपले समेत स्वस्थ र बलियो हुने मानन्धरले बताए। स्तनपानले बच्चालाई त राम्रो गर्छ नै आमालाई पनि धेरै फाइदा पुग्ने उनले भने। बच्चालाई स्तनपान गराउदा महिलामा स्तन क्यान्सरको जोखिम कम हुने र शरिरमा भएको बोसो र चिल्लो पदार्थलाई पनि हटाई शारिरीक सुन्दरता समेत बढाउने उनले बताए।
बच्चालाई कम्तीमा पनि २ वर्षसम्म स्तनपान गराउनु पर्दछ। ६ महिना पुगिसके पछि बच्चालाई आमाको दूधसँगै घरेलु आहार पनि खुवाउनु पर्ने हुन्छ। स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउनु हुँदैन। यसो गर्दा दूध कम आउने र स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ। नेपालमा एक सयमध्ये करीव ५५ जना शिशुहरुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ। तर पनि पहिलो एक घण्टा भित्र स्तनपान नगराइने बाँकी शिशुहरुको जीवन भने मृत्यु र रोगको उच्च जोखिममा हुने र उनीहरुले निरन्तर रुपमा स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य संगठनको नयाँ प्रतिवेदनले देखाएको छ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा नियन्त्रण गर्न ऐन, २०४९ तथा नियमावली, २०५१ बनाइएको छ। सो ऐनले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमन गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न दिशानिर्देशन गर्दछ। यस ऐन अनुसार आमाको दूधको विकल्पमा अनाधिकृत रुपमा अन्य दूध बेचविखन गर्न नपाइने उल्लेख गरीएको छ। यसैले अनिवार्य रुपमा आमाको दुध नै खुवाउनु पर्ने सो ऐनमा उल्लेख गरिएको छ।
स्तनपान गर्ने बच्चालाई बोतलबाट बाहिरी दूध खुवाउने प्रचलन प्रशस्त मात्रामा चलिआएको छ। अहिलेका अभिभावकहरु बच्चालाई आमाको दूध भन्दा बजारमा पाईने दूध खुवाउनु नै सहज ठान्दछन्। यसरी बच्चालाई बोतलबाट दूध खुवाउँदा संक्रमण भई हानी गर्छ भने प्राकृतिक रुपले आमाको दूध चुस्न नै विर्सने सम्भावना धेरै हुन्छ। यसकारण बच्चालाई बोतलबाट दूध नखुवाउँन आग्रह गर्छन्, चिकित्सक मानन्धर। सुत्केरी आमाले पनि हरेक दिन शक्ति दिने विभिन्न प्रकारका खानाहरु खानु पर्दछ। अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुराहरु आमालाई अनिवार्य रुपमा खुवाउनु पर्दछ। सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान पनि गर्नु हुँदैन।
एचआईभी संक्रमित आमाले पनि ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनु पर्छ। त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ। तर एचआईभी संक्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान भने गराउनु हुँदैन। साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ। बर्षेनी हुने नवजात शिशु मृत्युदरलाई घटाउनका लागि राज्यले यस क्षेत्रमा अझै बढि लगानी गर्नुपर्ने देखिन्छ। देशको सातवटै प्रदेशमा बाल कान्ति अस्पताल सरह बाल अस्पतालको स्थापना गर्नुपर्नेमा जोड दिन्छन्, चिकित्सक मानन्धर।
प्रकाशित: १६ श्रावण २०७६ ०७:१४ बिहीबार