५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बजेट विनियोजनसँगै गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

भूकम्पबाट क्षतिग्रस्त हेलम्बु, मेलम्चीघ्याङस्थित प्राचीन बौद्ध गुम्बा। गुम्बानजिकै स्थानीयले सम्पदा पुनर्निर्माणमा सघाउन सूचना टाँसेर अपिल गरेका छन्। तस्बिर: ध्रुव दङ्गाल/नागरिक

सिन्धुपाल्चोक -  भूकम्प गएको चार वर्षपछि जिल्लाका क्षतिग्रस्त गुम्बा पुनर्निर्माण तथा मर्मत सम्भारको बाटो खुलेको छ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त सम्पदाको सूची तयार गरी आवश्यक बजेटसमेत विनियोजन गरेपछि गुम्बा पुनर्निर्माण तथा मर्मतको बाटो खुलेको हो।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा निजी आवास, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायत सरकारी भवन पुनर्निर्माण भने अन्तिम चरणमा पुगिसकेका छन्।  जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) व्यवस्थापक लक्ष्मणकुमार सेठले चालु आर्थिक वर्षदेखि क्षतिग्रस्त गुम्बाको पुनर्निर्माण तथा मर्मतसम्भार अघि बढ्ने बताए।  ‘गुम्बा पुनर्निर्माणका लागि संख्यासहितको बजेट सिलिङ प्राधिकरणबाट प्राप्त भएको छ,’ उनले नागरिकसँग भने, ‘खर्चको अख्तियार आउनासाथ पुनर्निर्माण प्रक्रिया अगाडि बढाउँछौं। ’ उनका अनुसार प्राधिकरणले चालू आवमा गुम्बा पुुनर्निर्माण आयोजना शीर्षकमा ४२ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याएको छ।  जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने गुम्बाको संख्या १ सय ९० वटा छ।

क्षतिको आधारमा गुम्बा पुनर्निर्माण तथा मर्मतमा न्यूनतम तीन लाखदेखि अधिकतम एक करोड रुपैयाँभन्दा बढी बजेट छुट्टिएको आयोजना व्यवस्थापक सेठले जानकारी दिए।  पाँचपोखरी थाङपाल गाउँपालिका–३ को पुराताŒिवक टासीछ्योलिङ गुम्बा पुनर्निर्माणका लागि सबैभन्दा बढी एक करोड नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।  खर्चको अख्तियारी प्राप्त भएपछि पुनर्निर्माण तथा मर्मतका लागि सम्झौता गर्न सबै उपभोक्ता समिति तथा स्थानीय गुम्बा व्यवस्थापन समितिलाई पत्राचार गर्ने तयारी जिमालीले थालेको छ।

पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा भत्किएका छन्।  बजेट छुट्याइएकाले गुम्बाको पहिचान पुनः ब्युँतिने स्थानीयको विश्वास छ।

प्राधिकरणले पुनर्निर्माण र मर्मत गर्नुपर्ने गुम्बालाई दुई किसिमले वर्गीकरण गरी अनुदान व्यवस्थापन गर्ने नीति लिएको छ।  दुई हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएर सय वर्षदेखि बढीका पुराना गुम्बाको पुनर्निर्माण तथा मर्मत प्राधिकरणले केन्द्रबाटै गर्ने नीति लिएको छ।  त्यस्तै अन्य गुम्बा मर्मतसम्भार स्थानीय व्यवस्थापन समितिमार्फत हुने कार्यविधिमा उल्लेख छ।

लामो समयसम्म क्षतिग्रस्त गुम्बा पुनर्निर्माण नहुँदा निराश स्थानीयले अस्थायी घेराबार गरी सम्पदा थप क्षति हुन दिएका छैनन्।  तामाङ, शेर्पा, गुरुङ, ह्योल्मोलगायत बौद्ध धर्ममार्गी समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक भूकम्पअघि ‘गुम्बाको गाउँ’ ले चिनिन्थ्यो।  पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा भत्किएका छन्।  बजेट छुट्याइएकाले गुम्बाको पहिचान पुनः ब्युँतिने स्थानीयको विश्वास छ।

प्राविधिक उल्झनका कारण सम्पदा पुनर्निर्माण पछाडि धकेलिँदै आएको थियो।  गत आवको अन्तिम साता प्राधिकरणले जिल्लाका दुई दर्जन गुम्बा पुनर्निर्माण तथा मर्मतका लागि सात करोड रुपैयाँ निकासा पठाएको थियो।  सातादश दिनको समयभित्र कार्यान्वयनमा लैजान नसकिने भएपछि उक्त बजेट प्राधिकरणलाई नै फिर्ता पठाउन बाध्य हुनुपरेको आयोजना व्यवस्थापक सेठ सुनाउँछन्।

यसअघि क्षतिको मूल्यांकनका आधारमा प्राधिकरणले आव २०७३/७४ का लागि डेढ सय गुम्बा पुनर्निर्माणमा ६ करोड रुपैयाँ अनुदानको अख्तियारी पठाएको थियो।  सोही आधारमा व्यवस्थापन समितिले सम्झौता गरी केही गुम्बाको पुनर्निर्माणसमेत अघि बढायो।  तर कम क्षति भएका गुम्बाको धेरै र धेरै क्षति भएका गुम्बाको कम मूल्यांकन भएको भन्दै भूकम्पप्रभावित जिल्लाबाटै उठेको गुनासो विवादमा परिणत भएपछि पुनर्निर्माण रोकिन पुगेको थियो।

प्राधिकरणले गत वर्ष क्षतिग्रस्त गुम्बाको पुनः सर्वे र मूल्यांकन गर्दै छुट्टै कार्यविधिसमेत बनाएर विवादको निरूपण गर्दै पुनर्निर्माणको बाटो खुलाएको थियो।  भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माण र प्रबलीकरण गर्नुपर्ने गुम्बाको संख्या झन्डै १ हजार रहेको प्राधिकरणको तथ्यांक छ।

प्रकाशित: १६ श्रावण २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App