१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घुससहित शृंखलाबद्ध रूपमा कर्मचारी पक्राउ

इटहरी - केही दिनअघि सशस्त्र प्रहरी बल चार नम्बर गण इनरुवामा कार्यरत प्रहरी जवान बलराम यादव एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परे। व्यापारमा सहजीकरण गराइदिने भन्दै घुस लिएको आरोपमा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको निगरानी टोलीले पक्राउ गरेको हो।

साताअघि अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटानमा कार्यरत प्रहरी जवान भरत कट्वाल पनि पाँच हजार रुपैयाँ घुससहित पक्राउ परे। दुई साताअघि जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरमा कार्यरत सिनियर डिभिजन इन्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार घुससहित पक्राउ परे।

असार अन्तिम साता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार र उनका भतिजा सोही प्रतिष्ठानमा कार्यरत डाक्टर रामहरि रौनियारलाई आठ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ ग¥यो। प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसनबापत घुस बुझ्ने क्रममा अख्तियार केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उपकुलपति राजकुमार र उनका भतिजा रामहरिलाई पक्राउ गरेको हो। अहिले रौनियार द्वय निलम्बनमा परेका छन् भने मुद्दा दायर गरेर अनुसन्धान चलिरहेको छ।

२०७५ वैशाखदेखि २०७६ साउन दोस्रो सातासम्म २० जना कर्मचारी घुससहित पक्राउ गरी मुद्दा चलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक नम्बर क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

प्रदेश एकका सरकारी कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मी घुससहित पक्राउ पर्ने क्रम बढ्दो छ। २०७५ वैशाखदेखि २०७६ साउन दोस्रो सातासम्म २० जना कर्मचारी घुससहित पक्राउ गरी मुद्दा चलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक नम्बर क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

विशेषगरी, आर्थिक वर्षको अन्तिममा हिसाब फरफारक गर्दा कर्मचारीले घुस लिने भएकाले असार महिनामा बढी कर्मचारी पक्राउ परेका छन्। ‘असारमा अरू महिनाभन्दा बढी कर्मचारी पक्राउ परे,’ अख्तियार इटहरी कार्यालयका निम्ति प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘कतिपय हिसाब मिलान गर्ने समय साउन पनि भएकाले गर्दा कर्मचारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं। ’ हुन त अख्तियारले अरू बेला पनि भ्रष्टाचारविरुद्ध उजुरी तथा गुनासाका आधारमा छानबिन गर्दै आए पनि असारमा बढी हुने गरेको पाइएको छ।

मुलुक संघीय संरचनामा गएसँगै पूर्वका १४ जिल्लाका संघीय मामिलामा भ्रष्टाचार बढी मौलाएको छ। मुलुक संघीय संरचनाको नवीन कार्यान्वयनको अभ्यासमा रहेका बेला आर्थिक गतिविधि पनि बढी नै हुने भएकाले भ्रष्टाचार बढेको अख्तियार इटहरीका निम्ति प्रमुख ढकालले जनाए।

प्रदेश एकका १३ जिल्ला र प्रदेश दुईको एउटा गरी १४ जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एक हजार दुई सय २६ वटा उजुरी परेकोमा सबैभन्दा बढी स्थानीय तह अन्तर्गत पाँच सय २८ वटा मुद्दा दर्ता भएका छन्। अख्तियारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ मा शिक्षा, विज्ञान र प्रविधिमा दुई सय ४२ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा एक सय १० वटा मुद्दा दर्ता भएका छन्। इटहरी अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा कम श्रम, रोजगार तथा सामाजिक सुरक्षाअन्तर्गत चारवटा छन्।

इटहरी अख्तियारले प्रदेश एकको उदयपुरबाहेक १३ जिल्ला र प्रदेश दुईको सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ। आर्थिक आर्थिक वर्ष २०७४/०७५ बाट सरी आएका पाँच सय ६० र २०७५/०७६ मा परेका गरी एक हजार सात सय ८६ मध्ये अहिलेसम्म एक हजार ४५ वटा मुद्दा पछ्र्योट भएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा अख्तियार इटहरीमा नौ सय ५६ वटा उजुरी दर्ता भएका थिए, जसमध्ये २० वटामा गरिएको ‘अप्रेसन’अन्तर्गत २४ जना पक्राउ परेका थिए।

प्रकाशित: १६ श्रावण २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App