१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

वडा कार्यालयमा आगजनी

आगजनीबाट क्षतिग्रस्त वडा कार्यालय।

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगो लगाइएको छ। आगालागीबाट कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने भवनमासमेत क्षति पुगेको छ।

वडाको शिखरपुरमा रहेको कार्यालयमा बुधबार बिहानीपख आगजनी भएको हो। आगो कसले लगायो भन्ने पत्ता लागेको छैन। कार्यालय जलेर नष्ट भएपछि बिहान साढे ५ बजेतिर मात्र स्थानीयले थाहा पाएका थिए। वडाध्यक्ष भक्तबहादुर खड्काले आगलागीबाट वडाका सम्पूर्ण सामग्री नष्ट भएको बताए। ‘यतिसम्म कि वडाको छापसमेत बचेको छैन,’ उनले भने।

उनका अनुसार कार्यालयको ढोकामा लगाएको ताल्चा हेक्सो ब्लेटले काटेर भित्र प्रवेश गरी आगजनी गरेको देख्निछ। आगालागीबाट कार्यालयमा रहेका कागजात, कप्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फर्निचर लगायत सबै सामग्री जलेर खरानी बनेका छन्। घटनास्थलमा काटिएको ताल्चा र हेक्सो ब्लेट भने जस्ताको त्यस्तै भेटिएको छ।

बिहान १–२ बजेको बीचमा आगो लगाइएको हुन सक्ने वडाध्यक्ष खड्काले बताए। ‘आगो कसले लगायो भन्ने बारे अनभिज्ञ छौँ। तर सुनियोजित ढंगले घटना गराइएको देखिन्छ,’ उनले भने। उनका अनुसार आगालागीबाट २५ पोका कागजातका अभिलेख, तीन थान कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन दुई/दुई थान, सोलार प्यानल, सोफा, कुर्सी, टेबल, बेन्च लगायत फर्निचर पूर्ण रुपमा नष्ट भएका छन्।

आगालागीबाट कार्यालय भवनको गारो चर्किएको छ भने छानामा समेत क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले आगजनी घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार अनुसन्धान भइरहेकाले अहिल्यै कसले आगो लगायो भनेर अनुमान गर्न सकिने अवस्था छैन। घटनाको प्रकृति हेर्दा कार्यालयका अधिकांश सबै सामग्री एकै ठाउँमा जम्मा गरेर आगो लगाइएको देखिएको उनले जनाए।

भाडामा बस्दै आएको वडा कार्यालय गत वर्षमात्र आफ्नै भवनमा सरेको थियो। आगालागीबाट सबै सामग्री जलेकाले वडा कार्यालयले बुधबार कुनै पनि सेवा दिन नसकेको वडाध्यक्ष खड्काले बताए। स्थानीयले बुधबार बागमती क्षेत्र बन्द आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आगजनी गरेको अनुमान गरे पनि प्रहरीले भने अहिल्यै कुनै पक्ष र व्यक्तिलाई दोष लगाउन नसकिने प्रतिक्रिया दिएको छ।

प्रकाशित: १५ श्रावण २०७६ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App