१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तिब्बतले खन्न सघाउने

ताप्लेजुङ– नेपाल सरकारले औपचारिक पहल गरे तिब्बतको रिउ प्रशासनले ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक खोल्न सघाउने संकेत गरेको छ। ‘तिब्बतको रिउ प्रशासन नेपाल सरकारको औपचारिक पत्र मात्र पर्खेर बसेको छ’,रिउ पुगेर फर्किएका ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले भने।

उनले नेपाल सरकारले सडकको ट्रयाक खोल्न तथा सडक स्तरोन्नतिका लागि तिब्बत र रिउ प्रशासनलाई औपचारिक आग्रह गरेमा त्यो कार्य अघि बढाउन रिउ प्रशासन आतुर देखिएको आफूले पाएको जानकारी दिए। नेपाल–तिब्बत पूर्वोतर सिमाना टिपतालाबाट ओलाङ्चुङगोलासम्मको सडकको ट्रयाक ओपनमा सहयोग गरेको रिउ प्रशासनसमक्ष ओलाङ्चुङगोलाबाट लेलेपतर्फको सडकको ट्रयाक ओपनमा समेत सहयोगको याचना गरिँदै आएको छ। अहिले सदरमुकाम फुङ्लिङबाट लेलेपको लुङ्थुङसम्म सडकको ट्रयाक ओपन भएको छ। एसडी एलाइट निर्माण कम्पनीले तापेथोकको रानीपुलबाट गोलातर्फ सडकको ट्रयाक ओपनको कार्य गरिरहेको छ।

लुङ्थुङबाट गोलातर्फ जाने र गोलाबाट लुङ्थुङतर्फ आउने गरी दुवैतर्फबाट सडकको ट्रयाक ओपनको कार्य भएमा केही समयमै फुङ्लिङ–गोला सडक सञ्जाल जोडिने छ। यो अवस्थामा नेपाल–तिब्बत सिमानाका टिपतालासम्म सडक पहुँच स्थापित हुने छ। नेपाल सरकारको लघु र स्थानीय समुदायको बृहत् लगानीमा केही समयअघि मात्र रिउ प्रशासनको प्रत्यक्ष संलग्नतामा टिपतालाबाट करिब २५ किलोमिटर लामो दूरीको ओलाङ्चुङगोलासम्मको सडकको ट्रयाक ओपन भएको थियो। टिपतालाबाट ८ किलोमिटर टाढाको रिउ बजारसम्म तिब्बतले यसअघि नै सडकको निर्माण गरिसकेको छ।

रिउ बजारका स्थानीयसँग भएको निर्माण उपकरणको प्रयोग गरी रिउ प्रशासनकै संयोजनमा छोटो अवधिमै उपभोक्ता समितिमार्फत टिपताला–गोला सडकखण्डको ट्रयाक ओपन भएपछि तिनै उपकरणलाई गोलाबाट लुङथुङतर्फ निर्माणमा प्रयोग गर्न अनौपचारिक पहल भइरहेको छ। यद्यपि यो विषयमा नेपाल सरकारबाट कुटनीतिक पहलको आवश्यकताका कारण यो विषयले औपचारिकता पाइसकेको छैन।

निर्माण कम्पनी एसडी एलाइट पनि लुङ्थुङ र गोला दुवैतर्फबाट सडकको ट्रयाक ओपन होस् भन्ने चाहन्छ। कम्पनीका यहाँस्थित प्रतिनिधि राजीव लामिछानेले कम्पनीको उद्देश्य जसरी पनि गोलासम्मको सडक छिटो बनोस् भन्ने रहेको जानकारी दिए। उनले त्यसका लागि गोलातर्फबाट पनि सडकको ट्रयाक ओपन गर्ने कार्य भए सहज होस् भन्ने चाहना कम्पनीको रहेको बताए। उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङ्चुङगोला)योजना कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रामबहादुर गुरुङले पूर्वकै समृद्धिसँग जोडिएको उत्तर–दक्षिण लोकमार्गलाई चाँडोभन्दा चाँडो गोलासम्म जोड्न सबैक्षेत्रबाट पहल भइरहेको खुलाए। ‘रिउ प्रशासनबाट प्राप्त संकेत सही हो भने त्यसलाई अन्यन्त सकारात्मक मान्नु पर्छ’,गुरुङले भने।

हुम्दिमामा नेपालीलाई व्यावसायिक अफर
तिब्बतको रिउ प्रशासन आफ्ना हरेक बस्तीमा व्यावसायिक बजार विस्तारको योजना बुनिरहेको छ। त्यसकै फलस्वरुप अब्बल व्यावसायिक दृष्टिकोण पालेका तिब्बतीयहरू एकपछि अर्को गर्दै व्यावसायिक बस्ती विस्तारको दीर्घकालीन योजनामा छन्। हुम्दिमा यस्तै दृष्टिकोणबाट अघि सारिएको एउटा बजार हो।

ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दावा शेर्पा र कोषाध्यक्ष विकास गौतमसहितको टोलीसँग रिउ पुगेर फर्किएका वाणिज्य संघका उपाध्यक्ष अधिकारीका अनुसार तिब्बतको रिउ प्रशासनले हुम्दिमामा नेपाली व्यापारीका लागि २ सय वटा घरको व्यवस्थापन गरिदिने छन्। निर्माण हुँदै गरेका ती व्यावसायिक भवनमा व्यापार गर्न चाहने नेपालीलाई ३ वर्षका लागि खाने–बस्ने र पसल गर्ने ठाउँको निःशुल्क व्यवस्था गरिएको जानकारी रिउ प्रशासनले गराएको अधिकारीले बताए। हुम्दिमा ताप्लेजुङ–रिउ सीमा–नाका टिपतालाबाट र संखुवासभाको किमाथांका नाकाबाट करिब ४० किलोमिटर टाढाको बस्ती हो।

प्रकाशित: १३ श्रावण २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App